हङकङमा चिनियाँ सेनाले हस्तक्षेप गर्ने क्यारी लामको चेतावनी

असोज २२, २०७६

काठमाडौं – हङकङकी प्रमुख कार्यकारी क्यारी लामले स्थितिमा सुधार नआएमा चिनियाँ सेनाले हस्तक्षेप गर्ने चेतावनी मंगलवार दिएकी छन् । तर अहिलेको संकट आफैं समाधान हुने आशा सरकारले गरेको उनले दोहोर्‍याइन् । 

लामले विदेशी आलोचकहरूलाई चार महिनाको विरोध प्रदर्शनमा हिंसा भड्किनु भनेको लोकतन्त्रका लागि शान्तिपूर्ण आन्दोलन नभएको कुरा स्वीकार गर्न भनिन् । 


ADVERTISEMENT

हङकङमा खटिएको बेइजिङको सेनाले आइतवार अभियन्ताहरूलाई चेतावनी दिँदै आफ्नो ब्यारेकमा लेजर आक्रमण गरेमा पक्राउ गरिने बताएको छ । 

अगस्ट महिनामा चीनले हङकङमा थप सैनिक पठाएको र संख्यालाई दोब्बर बनाएको भनी एसियाली र पश्चिमी दूतहरूले टिप्पणी गरेपछि लामको यो भनाइ आएको हो । चीनले नियमित रोटेसन प्रक्रिया भन्दै चुपचाप सेनाको संख्या बढाएको हो । 

भूउपग्रहीय तस्वीरहरूमा चीनले अगस्ट महिनामा सयौं सैन्य वाहन र १० हजारभन्दा बढी अर्धसैनिक प्रहरी अधिकारी हङकङ सीमासँग जोडिएको शेन्झेन शहरमा तैनाथ गरेको देखिएको थियो । 

चिनियाँ सेनाले १० मिनटमा हङकङमाथि प्रहार गर्न सक्ने भनी चेतावनी समेत जारी गरेको छ र विरोधकर्ताहरूलाई चेतावनीस्वरूप दंगानिरोधी अभ्यासका क्रममा गोली प्रहार समेत गरेको छ ।

एजेन्सी

असोज २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस