चिनियाँ राष्ट्रपतिको भ्रमणबारे बालुवाटारमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल

असोज २३, २०७६

काठमाडौं– चिनियाँ राष्ट्रपति शी चिनफिङको शनिवारदेखि हुने दुईदिने राजकीय भ्रमणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल 'प्रचण्ड', शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायत सहभागी छन् ।


ADVERTISEMENT

यस्तै पूर्व परराष्टमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, सुजाता कोइराला, प्रकाशशरण महत, रमेशनाथ पाण्डे लगायतको पनि सहभागिता छ ।

बैठकमा चिनियाँ राष्ट्रपति शीको भ्रमणका क्रममा हुने सम्झौताका बारेमा समेत छलफल भइरहेको छ ।

छलफलमा चीनका लागि नेपाली पूर्व राजदूतहरू पनि सहभागी छन् ।

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिले गर्न लागेको भ्रमणलाई फलदायी बनाउन छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति शीको भ्रमणका क्रममा नेपाल–चीन रेल्वे लगायत केही सम्झौता हुँदैछन् । सम्झौताका लागि परराष्ट्र मन्त्रालयले समेत गृहकार्य शुरू  गरेको छ ।

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस