पर्यटक तान्दै थारू सांस्कृतिक सङ्ग्रहालय

प्रतिकात्मक तस्वीर
असोज २३, २०७६

लमही – थारू जातिको कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारू जातिको जीवनशैली अध्ययन गर्नका  लागि यहाँ थारू सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । दंगीशरण गाउँपालिका–३ चखौरामा स्थापना भएको सङ्ग्रहालय पछिल्लो समय आन्तरिक पर्यटकीय केन्द्रका रुपमा समेत विकास हुन थालेको छ ।

सङ्ग्रहालयमा एक हजारभन्दा बढी थारू संस्कृतिसँग जोडिएका कलाकृति यहाँ राखिएका छन् । थारू जातिको संस्कृतिलाई जीवन्त राख्नका लागि करीब रु तीन करोडभन्दा बढी आर्थिक लगानी भइसकेको बताइएको छ । 


ADVERTISEMENT

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सङ्ग्रहालयको सवलीकरणका लागि रु ६५ लाख सहयोग गरेपछि सांस्कृतिक सङ्ग्रहालयलाई थप व्यवस्थित गर्ने काम गरिएको प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बताए ।

थारू सङ्ग्रहालयमा थारू जातिको कला, संस्कृति, रीतिरिवाजसँगै थारू जातिका प्रथम राजा दंगीशरणको प्रतिमा समेत स्थापना गरिएको छ । थारू जातिको उद्गमस्थलका रुपमा रहेको दाङलाई थारू जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले थारू सङ्ग्रहालय स्थापना गरिएको हो ।  

सांस्कृतिक सङ्गहालयमा दाङका थारू समुदालयले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, थारू जातिले प्रयोग गर्ने पैसा, काठका चप्पल, माटाका भाडा, ढकिया, गुन्दी, जोत्न र खन्नलाई प्रयोग गरिने हलो, जुवा, फरुवा, हसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्वीर राखिएको छ ।

चार बिघा क्षेत्रफलमा फैलिएको सांस्कृतिक सङ्ग्रहाललाई दाङका थारू जातिको मात्र नभएर नेपालकै थारू जातिको नमूना केन्द्रका रुपमा विकास गरिने बताइएको छ । 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस