यी हुन् लिम्पियाधुरा नेपालपट्टि देखाउने भारतका ५ नक्सा

तस्बिरमा भारतले जारी गरेका सन् १८१९ को कुमाउ प्रदेशको नक्सा (१), सन् १८२७ को कुमाउ र गढवालको नक्सा (२), सन् १८३० को हिन्दुस्तानको पश्चिम प्रदेशको नक्सा (३), सन् १८५९ को कुमाउ र गढवालको नक्सा (४) र सन् १८९४ को कुमाउ राज्यको नक्सा (५) । यी सबैले लिम्पियाधुरा नेपालकै भएको पुष्टि गर्छन् । तस्वीर सौजन्य : कान्तिपुर दैनिक

नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराए पनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिम्पियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ ।

भारतले लिम्पियाधुराको ३ सय ३५ वर्ग किमि र कालापानी क्षेत्रको ६० वर्ग किमि नेपाली भूमि हडपेपछि कालापानीवारिको सानो खोल्सोबाट निस्केको पानी जम्मा गरेर त्यसैलाई काली नदीको मुहान भनिरहेका बेला भारतका पुराना नक्साहरूले नै लिम्पियाधुरा कालीको मुहान हो भन्ने पुष्टि गर्ने सरकारले जनाएको छ ।


Advertisement

नेपाली भूमि तिल्सीमा सैनिक क्याम्प राखेपछि भारतले सानो खोल्सोबाट निस्केको पानी जम्मा गरेर तलाउ बनाएको थियो । कृत्रिम तलाउभित्र कालो ढुंगा बिछ्याएर उसले त्यसलाई कालीको मुहान भन्दै आएको छ । त्यही आधारमा नेपालको भूमि नहडपेको दाबी भारतले गरिरहेको छ । सुगौली सन्धिलाई आधारबिन्दु मानेर विभिन्न चरणमा प्रकाशित भारतीय नक्साले भने भारतको अहिलेको दाबीलाई खण्डन गर्छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ ५ मा मन्त्रिपरिषद्मा लिम्पियाधुरासमेत समेटेर तयार पारेको प्रशासनिक तथा राजनीतिक नक्सा सार्वजनिक गर्नुपर्ने भनी प्रस्ताव राख्ने क्रममा भारतका पाँच नक्सालाई प्रमाणका रूपमा पेस गरेको थियो ।


Advertisement

कुमाउ प्रदेशको नक्सा
लिम्पियाधुरा नेपालकै हो भनेर पुष्टि गर्ने गरी फेला परेको सबैभन्दा पुरानो भारतीय नक्सा
सन् १८१९ को हो जुन कुमाउ प्रदेशले जारी गरेको थियो । सन् १८१६ मा सुगौली सन्धि भएयता नेपालले फेला पारेको यो पहिलो नक्सा हो । सर्भे अफ इन्डियाले जारी गरेको उक्त नक्सामा लिम्पियाधुरालाई काली नदीको मुहानका रूपमा स्पष्ट देखाइएको छ ।

कुमाउ र गढवालको नक्सा
सर्भे अफ इन्डियाले नै सन् १८२७ मा कुमाउ र गढवालसहितको नक्सा जारी गर्‍यो । उक्त
नक्सा अहिले गुमेको नेपाली भूमि फिर्ताका
लागि वार्ता गर्दा नेपालले पेस गर्ने अर्को बलियो प्रमाण बन्न सक्छ ।

हिन्दुस्तानको पश्चिम प्रदेशको नक्सा
सन् १८१६ मार्च ४ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिको दोस्रो पानामा काली नदी र त्योभन्दा पूर्वको भूभाग नेपालको हुने उल्लेख छ । त्यसयता लगातार प्रकाशित भारतीय र नेपाली नक्सामा पनि लिम्पियाधुरालाई नेपालकै भूभाग उल्लेख गरिएको छ । यहीअनुसार नै सन् १८३० मा जारी हिस्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा स्पष्टै लिम्पियाधुराबाट बग्ने काली नदीको मुहानलाई नेपालको सिमानाका रूपमा उल्लेख गरिएको छ । नक्साले कालीलाई नेपाल–भारत सीमा नदी र यसको मुहान लिम्पियाधुरा नै रहेको चित्रित गर्छ ।

कुमाउ र गढवालको नक्सा १८५९
सन् १८५६ अघिसम्म प्रकाशित सबै नक्सामा लिम्पियाधुरालाई नै कालीको मुहान मानिएका तथ्य प्रमाण भेटिन्छन् । तर सन् १८५९ मा भारतीय पक्षबाट बदमासी भएको देखिन्छ । त्यतिखेर सर्भे अफ इन्डियाले नै निकालेको एउटा नक्सामा लिपुलेक भन्ज्याङबाट आउने एउटा खोलालाई नेपाल–भारत सीमा मानेर लिम्पियाधुरालाई भारतपट्टि पारिएको छ ।

भारतले किन यस्तो गर्‍यो भन्ने कारण फेला परेको छैन । तर आफैंले सार्वजनिक गरेको उक्त नक्सालाई खण्डन गर्ने गरी सर्भे अफ इन्डियाले नै कुमाउ र गढवालको नक्सा जारी गर्‍यो । जुन नक्सामा १८२७ मा निकालिएको नक्साजस्तै काली नदीलाई नै नेपाल–भारत सीमा किटान गरिएको छ ।

कुमाउ राज्यको नक्सा १८९४
सर्भे अफ इन्डियाले १८९४ मा फेरि कुमाउ राज्यको नक्सा अद्यावधिक गर्‍यो । त्यो नक्साले पनि लिम्पियाधुरायताको भूमि नेपालकै हो भनेर पुष्टि गरेको छ ।

नेपाल र भारतको सिमाना लिम्पियाधुरा नै हो भनेर पुष्टि गर्ने गरी विभिन्न प्रकारका नक्सा सार्वजनिक भइरहेका छन् ।

तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न चरणमा सीमाविद्सँग गरेको छलफल, उधिनेका ऐतिहासिक दस्ताबेज र खोजबाट प्राप्त भारतका यी ५ नक्साले नेपालको भूमि भारतबाट अतिक्रमण भएको देखाउँछन् । यी प्रमाणसहित मन्त्रालयबाट प्रस्तावित नक्सालाई अनुमोदन गरेर सरकारले प्रशासनिक र राजनीतिक नक्सा जारी गरेको छ । नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसद् लगिएको छ ।
भारतले गत कात्तिकमा सार्वजनिक गरेको पछिल्लो राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरादेखि कालापानीसम्मको भूमि आफ्नोतिर पारेको थियो । त्यसपछि नेपालमा भारतीय अतिक्रमणविरुद्धको माहोल बनेको हो । भूमि अतिक्रमणको समस्या भने पुरानै हो ।

नापी विभागको टोली देशको नापनक्सा गर्न २०४५ सालमा कालापानी क्षेत्रमा गएका बेला त्यहाँको सेनाले अघि बढ्न नदिएर लखेटेपछि भारत–नेपालको भूमि समस्या तत्कालै वार्ताद्वारा सल्टाउने निर्णय दुवै देशका अधिकारीले गरेका थिए । तर सल्टाउने गरी बैठक बस्न नसक्दा कालापानी र सुस्तालगायत क्षेत्रको भूमि समस्या बल्झिँदै आयो । जसबाट सीमा क्षेत्रका नागरिकले दुःख पाइरहे । भारत नै सिमाना मिचेर सुगौली सन्धि र त्यसपछि भएको पूरक सन्धिको बर्खिलापमा अघि बढेकाले उसैका तर्फबाट विभिन्न कालखण्डमा जारी नक्सा देखाएर वार्तामा बस्ने तयारी नेपालको छ । उसो त २०३२ सालअघिसम्म नेपालको नक्सा भारतले नै प्रकाशन गर्दै आएको थियो ।

सुगौली सन्धि, त्यसको पूरक सन्धि, १८५७ मा सर्भे अफ इन्डियाले नै जारी गरिदिएको नेपालको नक्सा, १८६० नोभेम्बर १ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई फिर्ता गर्न भएको सम्झौता, १८७५ जनवरी ७ मा दाङको डुडुवा क्षेत्र सीमांकन गर्दाको नेपाली नक्सामा समेत लिम्पियाधुरालाई नेपालको भूभाग भनिएको छ । नक्साबाहेक पनि नेपालसँग लिम्पियाधुरा यताकै हो भन्ने थुप्रै प्रमाण छन् । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालका अनुसार त्यस क्षेत्रका नागरिकले बाली तिरेको रसिद, २०१५ को मतदाता नामावली, २०१८ को जनगणना र विभिन्न समयमा दुई देशबीच आदानप्रदान भएको कूटनीतिक नोटलगायतले सीमा समस्याबारे हुने नेपाल–भारत वार्तामा नेपाल पक्ष बलियो तथ्यसहित प्रस्तुत हुन सक्ने आधार मिलेको छ ।

पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि तथ्य र प्रमाणका आधारमा नेपाल भारतसँग वार्ता गर्न तयार भएर बसेको बताइसकेका छन् । तर उच्च सरकारी स्रोतअनुसार नेपालले नयाँ नक्सा जारी गरेपछि भारत र नेपाल दुवैले सार्वजनिक रूपमा प्रतिक्रियात्मक टिप्पणी गरिरहे पनि कूटनीतिक हिसाबले वार्ता गर्ने गरी संवाद अघि बढेको छैन । भारतबाट गत कात्तिकमा राजनीतिक नक्सा जारी भएपछि नेपालले बारम्बार वार्ताको प्रस्ताव गर्दै पठाएको पत्रमा भारतले टालेटुले जवाफ दिँदै आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्