माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
जेठ १९, २०७७
अमेरिका र चीनबीच शीतयुद्धको स्थिति आइरहँदा ट्रम्प प्रशासनले चीनविरुद्ध कडा कदम चाल्ने घोषणा गरेका छन् ।
हङकङको स्वतन्त्रता खोसेको, प्रशान्त महासागरमा गैरकानूनी रूपमा भू–भागहरूमा कब्जा जमाएको, अमेरिकाको औद्योगिक रहस्यहरू चोरेको, कोरोनाभाइरस महाव्याधिका विषयमा विश्व स्वास्थ्य संगठनलाई भ्रामक जानकारी दिन दबाब दिएको लगायतका आरोप लगाउँदै चिनियाँहरूमाथि कारवाही गर्न सकिने चेतावनी उनले दिएका छन् ।
त्यसो त राष्ट्रपति निर्वाचित हुनुअघिदेखि नै चीनप्रति कडा रवैया राख्दै आएका ट्रम्पले चीनसँग व्यापारयुद्ध शुरू गरेर शक्तिसंघर्षको झलक दिइसकेका थिए । तर अहिले आएर चीनप्रति थप आक्रामक बन्नुमा घरेलु कारण महत्त्वपूर्ण देखिन्छ ।
कोरोनाभाइरसका कारण अन्य कुनै पनि देशमा भन्दा बढी मानिस अमेरिकामा मरेपछि ट्रम्प महाव्याधि व्यवस्थापनमा पूरै चुकेको देखियो । अनि महाव्याधि आउनु अघिसम्म द्रुत गतिमा वृद्धि भइरहेको अर्थतन्त्रलाई देखाएर उनले मतदाताहरूलाई प्रभावित पार्न खोजेका थिए । तर महाव्याधि रोक्न लगाइएको बन्दाबन्दीका कारण अर्थतन्त्रमा पुगेको ठूलो धक्काले उनलाई पुनर्निर्वाचित हुन अप्ठ्यारो बनाइदिएको छ ।
अर्थतन्त्रको सकारात्मक पक्षबाट निर्वाचित हुने बाटो बन्द भएपछि उनले अब चीनसँगको भूराजनीतिक द्वन्द्व चर्काएमा फाइदा पुग्न सक्ने आकलन ट्रम्प र उनको रिपब्लिकन पार्टीले गरिरहेको देखिन्छ ।
चीनले आफूलाई पुनर्निर्वाचित हुन दिन नचाहेको र उसले जानीजानी भाइरस फैलाएको हो रहेछ भने त्यसको दुष्परिणाम उसैले भोग्नुपर्ने बयान ट्रम्पले दिनुमा निर्वाचनकै छटपटी रहेको स्पष्ट हुन्छ । अनि चीनप्रति कठोर हुने रिपब्लिकन पार्टीको नीति नै बनेको देखिएको छ किनकि चीनविरुद्ध तिब्बत, सिनजियाङ लगायतका विषयमा रिपब्लिकन सांसद तथा सिनेटरहरूले एकपछि अर्को दण्डात्मक विधेयकहरू ल्याइरहेका छन् ।
त्यसो त अमेरिकाका बहुसंख्यक जनतामा चीनप्रतिको आक्रोश चरममा रहेको प्रतिष्ठित सर्वेक्षण संस्था पिउरिसर्चको आँकडामा देखिएको छ । लगभग दुईतिहाइ अमेरिकीले कोरोनाभाइरसका लागि चीन सरकारलाई दोषी ठहर गरेको उक्त सर्वेक्षणमा देखिन्छ । अनि रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका समर्थक यस विषयमा एकमत देखिन्छन् ।
जनताको आक्रोशलाई भजाउन ट्रम्प र उनका प्रतिद्वन्द्वी (उम्मेदवारी निश्चित नभइसकेका) जो बाइडन उद्यत देखिन्छन् । अर्को शब्दमा भन्नुपर्दा चीनप्रति को कडा देखिने हो भनी प्रतिस्पर्धा चलिरहेको छ ।
ट्रम्पको निर्वाचन अभियन्ताहरूले बाइडनलाई 'बेइजिङ बाइडन' नाम दिँदै उनले प्रतिनिधित्व गर्ने राजनीतिक सम्भ्रान्तहरू चीनप्रति नरम रहेको भनी विज्ञापनहरू बजाउन थालेका छन् । अनि बाइडनले चाहिँ त्यसको प्रत्युत्तरमा विज्ञापन दिँदै ट्रम्प महाव्याधि व्यवस्थापनमा सुस्त रहेका कारण धेरै मानिसको ज्यान गएको र उनले आरम्भिक चरणमा चीनको कुरा सोलोडोलो पत्याएको अनि अहिले आफ्नो अकर्मण्यताको दोष अरूमा लगाइरहेको तर्क गरेका छन् । यी दुवैले आफू निर्वाचित भएमा बेइजिङविरुद्ध कठोर अडान लिन समर्थ रहेको सन्देश दिन खोजिरहेका छन् ।
अर्थतन्त्र मजबूत भएको बेलामा ट्रम्पमा जति आत्मविश्वास देखिन्थ्यो अहिले कोरोनाका कारण आर्थिक मन्दी छाएपछि त्यो निकै घटेको छ र त्यसले गर्दा उनमा आक्रोश पनि दिनदिनै बढ्दैछ । त्यसै पनि उनी बेलगाम बोलीका लागि कुख्यात नै छन् तर हालैका दिनमा उनका ट्वीट हेर्दा उनको विक्षिप्तता स्पष्ट देखिन थालेको छ । काला जातिका पुरुष जर्ज फ्लोयडलाई प्रहरीले घाँटी थिचेर मारेपछि अमेरिकामा भड्किएको हिंस्रक दंगाका विषयमा उनले गोली चलाउने भनी गरेको ट्वीटलाई ट्विटरले हिंसा फैलाउने काम भन्दै लुकाइदिएको छ ।
ट्रम्प विक्षिप्त भएर सन् २०१६ को निर्वाचनमा प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई सम्झिन थालेका छन् । त्यतिखेर ट्रम्प हिलारी क्लिन्टनभन्दा निकै पछि रहेको अवस्था थियो र ब्याननले उनलाई उद्धार गरेका थिए । अहिले पनि विभिन्न सर्वेक्षणमा उनी जो बाइडनभन्दा पछि छन् ।
त्यतिखेर महिलाका विषयमा गरेको अभद्र टिप्पणीको अडियो टेप लीक भएपछि लगभग अन्त्य भएको ट्रम्पको निर्वाचन अभियानलाई ब्याननले उग्रवादी नाराहरू दिएर उद्धार गरेको भनी अमेरिकाका वरिष्ठ पत्रकार जोशुआ ग्रीनले 'डेभिल्स बार्गेन : स्टिभ ब्यानन, डोनल्ड ट्रम्प, यान्ड द नेसनलिस्ट अपराइजिङ' नामक पुस्तकमा लेखेका थिए । अहिले ट्रम्पका लागि तिनै ब्यानन उद्धारकका रूपमा बोलाइएका छन् ।
ब्याननले पहिलेदेखि नै चीनविरोधी धारणा राख्ने गरेका थिए । उनी कमिटी अन द प्रेजेन्ट डेन्जर : चाइना नामक संस्थाका सदस्य र सह–संस्थापक हुन् जसले चीनविरुद्ध युद्ध गर्न पैरवी गर्छ । उनले 'वार रूम' नामक दैनिक रेडियो शो चलाउने गरिरहेका छन् र कोरोना महाव्याधिका लागि चीनको भूमिकाका विषयमा चर्चा गर्ने गरेका छन् ।
ब्याननलाई सहयोग पुग्ने गरी बहुसंख्यक अमेरिकीहरू चीनसँगको सम्बन्धमा परिवर्तन आउनुपर्ने अनि चिनियाँ सामानप्रति अमेरिकी निर्भरता घट्नुपर्ने धारणा राख्न थालेका छन् भनी विभिन्न सर्वेक्षणले देखाएका छन् । यस्तो चीनविरोधी भावलाई चर्काउन ब्याननले कुनै कसर बाँकी राख्ने छैनन् ।
चीनको उदयलाई उनले पश्चिमी सभ्यतामाथिकै खतराका रूपमा प्रस्तुत गर्ने गरेका छन् किनकि शीतयुद्धकालमा रुससँगको प्रतिद्वन्द्विता भए पनि रुस ककेसियन नै थियो तर चीन नितान्त भिन्न जातिको राष्ट्र हो भन्ने जातिवादी धारणा ब्याननको छ । यही जातिवादी धारणालाई उनले अमेरिकीहरूसामु अनेक बहानामा पस्किने र फाइदा उठाउने प्रयास गरेको देखिन्छ किनकि निर्वाचनहरू तार्किकताका कारण भन्दा पनि भावुकताका कारण जितिन्छन् भन्ने ब्याननलाई थाहा छ ।
त्यसबाहेक ट्रम्पले लाखौं गल्ती गरे पनि उनको अन्धसमर्थन गर्ने एक तप्का अमेरिकामा विद्यमान छ र ब्याननले तिनै बफादार मतदाताहरूलाई एकजुट गराउन खोजिरहेको देखिन्छ । अनि रिपब्लिकन वा डेमोक्रेटिक दुवै दलमा नरहेका स्वतन्त्र मतदाताहरूसँग निर्वाचनमा तात्त्विक अन्तर ल्याउने क्षमता छ र ब्यानन तिनीहरूलाई पनि लक्षित कार्यक्रमहरू बनाइरहेका छन् ।
त्यसमाथि बर्नी स्यान्डर्सलाई राष्ट्रपतिको उम्मेदवार फेरि पनि बन्न नदिइएको भनी डेमोक्रेटिक पार्टीको एक ठूलो खेमा असन्तुष्ट रहेकोमा तिनलाई जो बाइडनका लागि मत नहाल्न अपील गर्ने किसिमका अभियान पनि ब्याननले चलाइरहेका छन् ।
ट्रम्पलाई काउन्टर दिनका लागि डेमोक्रेटिक पार्टीले चीनप्रति ट्रम्प शुरूआती चरणमा नरम रहेको कुरालाई कोट्ट्याएको छ । चीनमा फैलिएको संक्रमणका विषयमा बुझ्नका लागि ट्रम्पले अमेरिकीहरूलाई नपठाएको, यात्रा प्रतिबन्धपछि पनि ४० हजार मानिसलाई चीनबाट अमेरिका आउन दिएको, अमेरिकामा संकट हुँदाहुँदै चीनलाई स्वास्थ्य सामग्री पठाएको र यी सबै कुराले गर्दा उनी चीनसामु लाजै लाग्ने गरी झुकेको भन्ने निष्कर्ष निकाल्दै बाइडनले ट्रम्पलाई घेर्ने कोशिश गरेका छन् । तर अहिलेसम्मको बहस हेर्दा आरोपको राजनीतिमा रमाउने ट्रम्पलाई बाइडनले यस विषयमा पछार्न सकेको देखिँदैन ।
यसरी ट्रम्प र बाइडन दुवैले चीनका विषयमा को बढी कडा देखिने भन्ने भाष्य यस निर्वाचनमा स्थापित गर्न खोजेका छन् । चीनप्रति कडा देखिँदा हुने राजनीतिक फाइदाका विषयमा दुवैजना एकमत देखिन्छन् । तर यसरी अर्को मुलुकमाथिको दोषारोपणलाई निर्वाचनको केन्द्रीय संकथन बनाउँदा यसबाट उत्पन्न हुने जातिविद्वेषको खतरालाई दुवै उम्मेदवारले बुझेर पनि बुझ पचाएको देखिन्छ । र यीमध्ये जो निर्वाचित भए पनि चीनप्रतिको कडा दृष्टिकोण कायम राख्दै अमेरिकालाई दोस्रो शीतयुद्धमा प्रवेश गराउने नै ध्याउन्न देखिन्छ ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...