मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
बिहीवार भएका गतिविधिले फूटको संघार नजिक पुगेको विश्लेषण गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोगाउन भन्दै बिहीवार रातिदेखि नै धेरै नेताहरूले दौडधुप गरे ।
नेकपाको यो सकस बुधवारबाटै शुरू भएको थियो । शुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूसँग छलफल गरे भने साँझ उनीइतर पक्षका नेताहरू ललितपुरको एक रेस्टुरेन्टमा भेला भए ।
त्यसअघि पनि अवस्था सामान्य भने थिएन । प्रधानमन्त्रीले आफूलाई हटाउन भारतसँगै नेपालका केही नेताहरू लागेको बताएपछि मंगलवार नै पार्टीका अधिकांश नेताले उनको राजीनामा मागेका थिए ।
त्यतिबेलाबाटै शुरू भएको तनाव बुधवार आइपुग्दा झनै शकसपूर्ण बनेको थियो । नेकपाका लागि पछिल्लो ४८ घण्टा निकै सकसपूर्ण बन्यो ।
यी तमाम तनावका बीच संवादहीनताको अवस्थाको अन्त्य गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शुक्रवार करीब ३ घण्टा वार्ता भएपछि निकाश निस्किने आधार तयार भएको निष्कर्षमा दोस्रो पुस्ताका नेताहरू पुगेका छन् ।
ओलीसँग निर्णायक वार्ताका लागि भन्दै अध्यक्ष प्रचण्ड शुक्रवार अपराह्न १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । शुक्रवारको वार्ता सौहार्दपूर्ण भएको दुवै अध्यक्ष निकटस्थ स्रोतले जानकारी दियो ।
नेकपामा अध्यक्षद्वयबीच संवादहीनताकै स्थिति पैदा भइसकेको थियो । जारी पाचौं स्थायी कमिटी बैठकको छैठौं दिन बिहीवार प्रधानमन्त्री ओलीले अर्को हलमा मन्त्रिपरिषद् बैठक राखेर चालू संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गराएपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका नेताहरू रनभुल्लमा परेका थिए ।
संवादहीनताबाट सौहार्दतासम्म
ओली र प्रचण्डबीच केही दिनयता संवादहीनता जस्तै देखिएको थियो । संक्षिप्त रुपमा भएका वार्ता पनि सौहार्द भएका थिएनन् । बुधवार साँझ ललितपुरको एक रेस्टुरेन्टमा अध्यक्ष प्रचण्ड र नेता नेपाल दुवैले ३० जना स्थायी कमिटी सदस्यहरूलाई भेला गरेर ओलीको राजीनामा नै अन्तिम विकल्प रहेको निष्कर्ष निकालेका थिए ।
प्रचण्ड-नेपाल समूह शक्ति प्रदर्शनमा उत्रिएको बुझेका ओलीले भोलिपल्ट स्थायी कमिटी बैठक जारी रहँदारहँदै मन्त्रिपरिषद् बैठक डाकेर संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए । कतिपय स्थायी कमिटी सदस्यहरूले मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सञ्चारमाध्यमहरूबाट थाहा पाए ।
ओलीले पुनः दलविभाजन खुकुलो बनाउने अध्यादेश ल्याउने र नेकपा विभाजन गर्न सक्ने अनुमान नेताहरूले गरेका छन् । स्थायी कमिटी सदस्य बेदुराम भुसालले ओलीले दल विभाजन खुकुलो गर्ने अध्यादेश ल्याएर नेकपा फुटाउन सक्ने चिन्ता लागेको भन्दै लोकान्तरसँग संक्षिप्त कुराकानी गरेका थिए ।
शुक्रवारको भेटघाटले अध्यक्षद्वयबीच देखिएको संवादहीनता तोडिएको छ । बैठकमा दुवै अध्यक्षले पार्टी एकता जोगाउने प्रतिबद्धताका साथ हार्दिकतापूर्वक कुराकानी गरेका थिए ।
शनिवारका लागि बोलाइएको स्थायी कमिटी बैठकअघि पुनः बस्ने गरेर उनीहरू छुट्टिएका छन् । अध्यक्षद्वयबीच कुनै ठोस सहमति भने नभएको स्रोतको दाबी छ ।
पाँच बुँदे सम्झौताका साक्षीहरूलाई दायाँ-बायाँ राखेर वार्ता गर्नु अर्थपूर्ण !
तर शुक्रवार भएको अध्यक्षद्वयको भेटघाटपछि तत्कालको समस्या टर्ने देखिएको छ ।
बैठकमा ओली-प्रचण्डसहित २०७५ साल जेठ २ गते दुई अध्यक्षबीच भएको ५ बुँदे सम्झौताका साक्षी महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा 'प्रभाकर' पनि सहभागी थिए ।
छलफलमा पार्टी एकता गर्दा गरेको सम्झौताको स्पिरिट कायम राख्दै थप छलफल गरेर पार्टीलाई विभाजनउन्मुख हुनबाट बचाउने विषय उठेको थियो । जेठ २ गते भएको ५ बुँदे सम्झौताका हस्ताक्षरकर्तालाई लिएर ओली र प्रचण्ड वार्तामा बस्नु अर्थपूर्ण पनि थियो ।
दोस्रो पुस्ताका नेताको निर्णायक हस्तक्षेप !
ओली-प्रचण्डबीचको भेटघाटबाहेक शुक्रवार दिनभर अन्य नेताहरूको पनि दौडधूप उल्लेख्य रह्यो ।
बिहान १० बजेतिर मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुसालको ललितपुरस्थित क्वार्टरमा ओली, प्रचण्ड र नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरू जुटे ।
छलफलमा टोपबहादुर रायमाझी, विष्णु रिमाल, सुरेन्द्र पाण्डे, मणि थापा, शंकर पोखरेल, घनश्याम भुषाल, वर्षमान पुन, योगेश भट्टराई, शक्ति बस्नेत र जनार्दन शर्मा सहभागी थिए ।
छलफलमा सहभागीमध्ये सुरेन्द्र पाण्डेले पार्टी कुनै हालतमा विभाजन हुन नहुने र त्यसका लागि आफूहरूले गर्ने प्रयासस्वरूप छलफल गरेको लोकान्तरलाई बताए ।
एकता हुँदा जसरी कुरा मिलेको थियो अहिले पनि त्यसै गरेर कुरा मिलाउनुपर्ने विषयमा सहमति भएको छलफलमा सहभागी मणि थापाको भनाइ थियो ।
'एकताको मुख्य प्रिन्सिपलमा टेकेर अहिलेको जारी विवाद हल गर्नुपर्ने विषयमा हामी दोस्रो पुस्ताका नेताहरू सहमत छौं,' थापाले लोकान्तरसँग भने, 'आजै अध्यक्षद्वयबीच भेटघाट पनि भइरहेको छ भन्ने कुरा सुनिएको छ, पार्टी मिल्ने दिशातर्फ उन्मुख भएको मैले अनुभव गरेको छु ।'
त्यस्तै शुक्रवार अपराह्न महिला बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरुङको पहलमा सिंहदरबारमा केही सांसद तथा केन्द्रीय सदस्यहरू भेला भएर नेतृत्वलाई नफुट्न दबाब दिए ।
भेलामा मन्त्री गुरुङ, यज्ञराज सनुवार,गणेश पहाडी, लीलानाथ श्रेष्ठ, सुरेशकुमार राई, कमला रोक्कालगायतका युवानेताहरू सहभागी थिए । उनीहरूले पार्टीलाई एकढिक्का राख्ने शर्तमा शक्ति बाँडफाँड गरेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए ।
धुम्बाराहीमा युवानेताहरूको धर्ना !
बालुवाटारमा अध्यक्षद्वयबीच भेटघाट चलिरहँदा यता पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भने ओलीइतरका केन्द्रीय समिति सदस्यहरू भेला भएका थिए ।
उनीहरूले प्लेकार्ड लिएरपार्टी कार्यालयमा धर्ना दिए ।
शुक्रवार अपराह्न १ बजेदेखि शुरू भएको केन्द्रीय नेताहरूको धर्ना करीब ४ बजेसम्म चलेको थियो ।
धर्नामा सांसदसमेत रहेकी रामकुमारी झाँक्री, रामप्रसाद सापकोटा, विजय पौडेल, ठाकुर गैरे, जगन्नाथ खतिवडा, रविन कोराल, दिलु पन्त, हिमाल शर्मा, कृष्ण केसीलगायतका युवा नेताहरू विभिन्न प्लेकार्डसहित सहभागी भएका थिए ।
धर्नामा सहभागी झाँक्रीले आफूहरू ५० भन्दा बढी संख्यामा उपस्थित भएको दाबी गरिन् ।
'पार्टीलाई विधिसम्मत चलाउनुपर्छ, एकलौटी र स्वेच्छाचारिता हुनु हुँदैन,' झाँक्रीले लोकान्तरसँग भनिन्, 'व्यक्ति प्रधान भएर पार्टी चल्दैन, नीतिप्रधान हुनुपर्छ । नेकपाभित्र जारी विवादलाई नीतिमा केन्द्रित रहेर मिलाउनुपर्छ भन्दै हामी ५० जना भन्दा बढी युवानेताहरू भेला भएका हौँ ।'
ओलीका पक्षमा फाट्टफुट्ट प्रदर्शन
प्रधानमन्त्री ओलीले बिहीवार राति अबेर आफ्ना पक्षमा रहेका युवानेतालाई बालुवाटार बोलाएर आफ्नो पक्षमा देशव्यापी प्रदर्शन गर्न निर्देशन दिएका थिए ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूले जारी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग गर्न थालेपछि ओलीले सडकमा आउन आफूनिकटका युवाहरूलाई निर्देशन दिएका हुन् ।
'उहाँले राष्ट्रका पक्षमा सडकमा आउन हामीलाई आग्रह गर्नुभयो,' मध्यरातमा बालुवाटार पुगेका पूर्वएमालेनिकट युवा संगठनका एक पदाधिकारीले बताएका थिए ।
ओलीको निर्देशनबमोजिम शुक्रवार केही प्रमुख शहरहरूमा फाट्टफुट्ट प्रदर्शन गरिए ।
पोखरामा पानी परिरहेको अवस्थामा पनि रेनकोट ओढेर केही युवाले ओलीले राजीनामा दिन हुन्न भन्ने आशयका नाराहरू लगाए । । त्यस्तै चितवन र भक्तपुरमा पनि यस्ता खालका साना प्रदर्शनहरू भए । काठमाडौंको माइतीघर मण्डलामा बिहीवार नै प्रदर्शन गरिएको थियो ।
माहोल सकारात्मक बनेको छ - देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य
पार्टीलाई एकढिक्का राख्नुपर्छ भन्दै भएका पहलहरूले सकारात्मक वातावरण निर्माण गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले लोकान्तरलाई बताए ।
'अध्यक्षद्वयबीच भएको छलफलपछि वातावरण सकारात्मक बनेको छ,' पौडेलले भने, 'ठोस सहमति हुनु ठूलो कुरा होइन, हार्दिकता र सौहार्दपूर्ण वातावरण बन्नु ठूलो कुरा हो । हामी खुशी छौं, पार्टी फुट्दैन ।'
नेता पौडेलले आफूहरू पनि निरन्तर छलफलमै रहेको बताए । 'हामी अहिले पनि छलफलमै छौं,' उनले भने, 'भोलि स्थायी कमिटी बैठक बस्नुअघि केही न केही सकारात्मक संकेतहरू फेला पर्नेछन् ।'
खै केही थाहा छैन - रघुजी पन्त, स्थायी कमिटी सदस्य
स्थायी कमिटी सदस्य रघुजी पन्तले अध्यक्षद्वय बीच भएको छलफलका बारेमा आफूलाई केही थाहा नभएको बताए । उनले आफूहरू पनि छलफलमै रहेको र सकारात्मक वातावरण बनाउन पहल गरिरहेको दाबीसमेत गरे ।
'अध्यक्षद्वयबीच भएको छलफलका बारेमा मलाई अहिले केही जानकारी आएको छैन,' पन्तले लोकान्तरसँग भने, 'छलफलमा भएका सहमतिका बारेमा भोलि स्थायी कमिटी बैठकमै केही कुरा आउला । अहिलेसम्म मिलिसक्यो भन्ने पनि छैन, फुटिसक्यो भन्ने पनि छैन,' उनले भने ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...