काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि ती क्षेत्रको स्वरूप क्रमशः परिवर्तन हुन थालेको छ ।
वर्षायाममा डुबानको उच्च जोखिम रहेको भन्दै सरकारले नदी किनारका बस्ती खाली गराएर संरचना हटाउने अभियान सञ्चालन गरेको थियो । अहिले ती स्थानहरूमा खुला क्षेत्र व्यवस्थापन, नदी संरक्षण तथा हरियाली पार्क निर्माणका योजना अघि बढिरहेका छन् ।
बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरी भत्काइएका घरहरूको भग्नावशेष व्यवस्थापन तथा भूमि सम्याउने काम सम्पन्न भएको छ । केही समयअघिसम्म अव्यवस्थित संरचनाले भरिएको उक्त क्षेत्र अहिले खुला र व्यवस्थित देखिन थालेको छ ।

कालिमाटी मन्दिरको दायाँपट्टि रहेको सुकुम्बासी बस्ती हटाइएपछि खाली भएको स्थानमा नयाँ सडक निर्माण गरिएको छ । सडक कालोपत्रे समेत भइसकेको छ । पहिले अव्यवस्थित बस्तीले ढाकिएको यो क्षेत्र अहिले फराकिलो, सफा र व्यवस्थित देखिएको छ ।
मनोहरा नदी किनारको सुकुम्बासी बस्ती हटाइएपछि त्यहाँ बसोबास गर्दै आएका स्थानीयवासीहरू भत्किएका घरका इँटा, फलामलगायत सामग्री संकलन गरी अन्यत्र सारिरहेका छन् ।
यसैबीच, पेप्सीकोला क्षेत्रबाट मनोहरा जग्गा एकीकरण आयोजनाले खोलालाई पुरानो बहावमार्गतर्फ फर्काउने काम अघि बढाएको छ । २०२१ सालको नापी मापदण्डअनुसार मध्यपुर ठिमीतर्फ बगिरहेको खोलालाई पुनः काठमाडौंतर्फ फर्काउने कार्य भइरहेको छ । उक्त क्षेत्र काठमाडौं र भक्तपुर जिल्लाको सीमाना पनि हो ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार, जहाँ पहिले सुकुम्बासी बस्ती रहेको थियो, अब त्यही क्षेत्रबाट मनोहरा खोला बग्नेछ ।
शङ्खमूलमा हटाइएको सुकुम्बासी बस्ती क्षेत्रमा पनि भग्नावशेष व्यवस्थापन तथा भूमि सम्याउने काम सम्पन्न भएको छ ।

अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले उक्त क्षेत्रमा बाग्मती नदी किनारको माटो ल्याएर जमिन सम्याउने काम गरिरहेको छ । वर्षायाम नजिकिएकाले माटो सम्याएर दुबो रोप्ने तथा सबैले उपयोग गर्न सक्ने हरियालीयुक्त ‘ग्रीन पार्क’ निर्माण गर्ने योजना रहेको जनाइएको छ ।
थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा पनि भत्काइएका संरचनाका भग्नावशेष व्यवस्थापन गरी भूमि सम्याउने काम सम्पन्न भइसकेको छ ।
काठमाडौं महानगरपालिकाका अनुसार उक्त क्षेत्रलाई यूएन पार्ककै अवधारणामा हरियालीयुक्त सार्वजनिक पार्कका रूपमा विकास गरिनेछ । थापाथली क्षेत्रबाटै सरकारले नदी किनारका सुकुम्बासी बस्ती हटाउने अभियानको शुरूआत गरेको थियो ।
नदी किनार अतिक्रमणमुक्त भएपछि काठमाडौंका विभिन्न क्षेत्रमा नदी संरक्षण, हरियाली विस्तार तथा सार्वजनिक उपयोगका खुला स्थान निर्माणको प्रक्रिया तीव्र बनेको छ । यसले नदीको प्राकृतिक बहाव पुनर्स्थापना, वातावरण संरक्षण, शहरी सौन्दर्य अभिवृद्धि तथा नागरिकका लागि खुला मनोरञ्जनस्थल विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
हेर्नुहोस्, ड्रोनसहितको भिडियो :