९ महिनामा ६ खर्ब ५३ अर्ब विप्रेषण भित्रियो, छ अर्बको ऋणपत्र बिक्री हुँदै

जेठ ७, २०७६


    काठमाडौँ–वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले चालू आर्थिक वर्षको नौ महीनामा रु छ खर्ब ५३ अर्ब १९ करोड बराबरको विप्रेषण पठाएका छन् । विप्रेषण आप्रवाह गत आवको तुलनामा चालू आवको नौ महीनामा २० दशमलव नौ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दशमलव छ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा भएको मूल्य वृद्धिले विप्रेषण आप्रवाह नौ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.६ प्रतिशतले बढेको थियो । नौ महीनाको अवधिमा खुद ट्रान्सफर आय २० दशमलव नौ प्रतिशतले वृद्धि भई रु सात खर्ब ४६ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव तीन प्रतिशतले घटेको थियो ।
 
    अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगतका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३९ दशमलव तीन प्रतिशतले घटेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या छ दशमलव आठ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा चार दशमलव छ प्रतिशतले बढेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या तीन दशमलव एक प्रतिशतले घटेको थियो । 


ADVERTISEMENT


यसैबीच नेपाल राष्ट्र बैंकले रु छ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९ ख’ बिक्री गर्ने जानकारी दिएको हो । बोलकबोलको माध्यमबाट उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो । 

    बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेसमेत सूचनामा उल्लेख छ । 

    घटीमा रु ५० हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको खरीद गर्न पाइने व्यवस्था गरिएको छ । बैंकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेञ्जमा हुनेछ ।
 

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस