राम्रोे ‘म’ भन्ने कि बन्ने ?

जेठ ११, २०७६

नेपाली वर्णमालामा एउटा अक्षर छ ‘म’ । यसको अर्थ हो, आफू, अहम्, स्वत्व यस्तै यस्तै । अन्य भाषामा पनि यस्ता अक्षर होलान् सायद, जसले स्वत्व बुझाउँछन् ।  यसले मैले राम्रो बन्नुपर्छ, राम्रो बन्ने प्रयास गर्नुपर्छ भन्ने सन्देश दिएको छ तर राम्रो भन्नुपर्छ भन्ने अर्थमा रुढ हुन पुगेको छ हिजोआज यो । वर्णमालाकारले पनि राम्रो ‘म’ भन्ने उच्चारण गर्न लगाएर यतैतिर धकेल्ने प्रयास गरेका छन् यसलाई ।   

राम्रो भन्नु एउटा कुरा हो, राम्रो बन्नु अर्को कुरा । राम्रो ‘म’ भन्नु भनेको आफैतर्फ सङ्केत गर्ने कुरा हो । राम्रो ‘म’ बन्नु भनेको अरुले भनिदिने कुरा हो । आफूले आफैलाई राम्रो सबैले भन्छन्, भनेकै छन्, भनिरहेकै छन्, भनिरहने नै छन् तर अरुले चाहिं त्यत्तिकै राम्रो भनिदिंदैनन् । यसका लागि पहिले राम्रो बन्नुपर्छ, बनिदिनुपर्छ । जब हामी राम्रो भन्न छाडेर बन्नतिर लाग्छौं त्यसपछि केही गर्नैपदैन स्वतः राम्रो भनिदिन्छन् । अन्यथा राम्रो ‘म’ को जति नै रटान लगाए पनि राम्रो बन्न सकिन्न । उल्टै  नराम्रो बन्न थालिन्छ, जस्तो अहिले भइरहेको छ । 


ADVERTISEMENT

हुनसक्छ वर्णमालाकारले पनि राम्रो बन्नुपर्छ भन्ने अर्थमै यसको उच्चारण सिकाएका होलान् त्यसो हो भने भन्नैपर्छ भयङ्कर दुरुपयोग गरिरहेका छौं हामी यसको । अक्षरको गरिरहेका छौं, वर्णको गरिरहेका छौं, सबैभन्दा बढी वर्णमालाकारको आशयको गरिरहेका छौं, जसको फल हाल हामी आफै भोगिरहेका छौं । संसार राम्रो छ, तपाईं राम्रो, म राम्रो, सबै राम्रो । सबै राम्रा छन्, राम्रै गर्न आएका हुन् तर हामीमा जुन राम्रो ‘म’ बन्ने होइन भन्ने अभ्यास छ त्यसैले चौपट पारेको छ, नराम्रो बनाएको छ । 

हामी छौं, अरुछन्, हामी भएकैले अरु भएका हुन् । संसारको आधार भनेकै हामी हौं, हामीले नै बनाएका हौं उसलाई । अरुलाई नराम्रो भन्ने अधिकार कसैलाई छैन, न तपाईंलाई छ, न मलाई । हामी राम्रो भए अरु स्वतः राम्रो बनिदिन्छन्, बन्न कर लाग्छ । जेजति नराम्रा भएका छन् हाम्रै कारण भएका छन् । हामीले नै त्यस्तो बनाएका छौं, बनाएका हौं । 

वेदान्तमा एउटा प्रसङ्ग छ । सायद बृहदारण्यक उपनिषद्मा हो क्यारे । एक पटक देव, दानव र मानव तपस्या गर्न गएछन् ब्रह्माजीको । तपस्याबाट खुशी भएका ब्रह्माजीले वरदानमा ‘द’ अक्षर दिएर पठाए छन् ।

यसको आशय थियो भोगप्रधान देवताहरूले इन्द्रिय दमन गर्नुपर्छ, क्रोध प्रधान दानवले दया र सङ्ग्रहप्रधान मानवले दान गर्नुपर्छ भन्ने तर उनीहरूले उल्टो बुझे, उल्टो अर्थ लगाए । फलतः इष्ट प्राप्ति त भएन नै । तपस्याको श्रम र फल खेर गयो । यहाँ पनि त्यस्तै भएको छ । 

हामीले आत्मकल्याणका लागि ‘म’ अक्षर पाएका थियौं प्रकृतिको गर्भबाट तर अर्थ बुझ्न सकेनौं, उल्टो अर्थ लगायौं । राम्रो ‘म’ भनेको राम्रो बन्ने होइन भन्ने हो भन्नतिर लाग्यौं । त्यसैको फल भोग्दैछौ । भोगिरहनेछौं यस्तै अवस्था रहे पछिसम्म पनि ।  

अस्ति कुनै सहकर्मी मित्र एक सञ्चारमाध्यममा गुनासो गर्दै थिए । विषय थियो ट्राफिक अनुशासन सम्बन्धी, पात्र थिए तीनजना शिक्षार्थी, शिक्षित र ट्राफिक प्रहरी । उनका अनुसार गल्ती थियो उल्लिखित पात्रका, गल्ती गरेका थिए उनीहरूले तर दोष अर्कोलाई लगाएर तथानाम गाली गरेका थिए । यही नैै राम्रो ‘म’ गलत बुझाइको उदाहरण हो, जसले वर्तमान दूरावस्थाको समेत प्रतिनिधित्व गरेका छन् । उनीहरूले राम्रो म पढे त्यही बुझे । राम्रो म बन्नुपर्छ होइन भन्नुपर्छ भन्ने ठाने त्यही अर्थमा लिए । फलतः अरुलाई नराम्रो देख्न पुगे, अन्ततः आफै नराम्रो भएको बलियो प्रमाण दिए ।    

दोष कुनै व्यक्ति वा पात्र विशेषको मात्र होइन । संस्थाको हो, समूहको हो, समाजको हो, सबैभन्दा बढी सरकारको हो । पाठ्यक्रमले यही सिकाएको छ, पाठ्यपुस्तकले यही सिकाएको छ, समाजले यही सिकाएको छ, संस्कार र संस्कृतिले यही सिकाएको छ, धार्मिक ग्रन्थहरू त्यही भनिरहेका छन्, धर्मगुरुहरू त्यही भनिरहेका छन्, कहाँ व्यक्तिविशेषलाई दोष दिएर उम्कन पाइन्छ र ?

सबै विजयभव भन्छन्, तर विजयी भवको सार के हो त्यो भने उनीहरूलाई नै थाहा छैन । उनीहरूको बुझाइमा विजयी मात्र हुनुपर्छ जसरी भए पनि हुन्छ । अरुलाई लछारे पनि हुन्छ पछारे पनि हुन्छ, धसारे पनि हुन्छ, पसारे पनि हुन्छ, लत्याए पनि हुन्छ, हुत्याए पनि हुन्छ, जसरी पनि विजयी हुनुपर्छ । जहाँ जे गरे पनि हुन्छ । घचेट्नुस् अचेट्नुस्, काट्नुस्, मार्नुस् आवश्यकता अनुसार जहाँ जे गर्नुपर्छ गर्नुस् तर विजयी भएरै छाड्नुस् राज्यसत्ता तपार्ईंको सेवामा हाजिर छ ।  सर्वत्र तपाईंको जयजयकार हुनेछ । पुष्पकमलहरू पुष्पमाला लिएर स्वागतमा खडा हुनेछन्, शालिक ठड्याउने छन्, वर्षको एकपटक नै सही जयन्ति मनाउनेछन्, सम्झना गर्नेछन्, सम्मान गर्नेछन् । 

उनीहरूले जानेकै यही हो । यही पाठशालाबाट आएका हुन् उनीहरू । त्यस्तै गरेका थिए, त्यस्तै गरेर आएका थिए, त्यस्तै गर्नेछन् । उनीहरूले सिकेको त्यही हो, सिकाएको त्यही हो । त्यसैले न राम्रो बन्न सकियो, न राम्रो बनाउन सकियो । राम्रो बन्छु, भन्दाभन्दै नराम्रो बन्न पुगियो, नराम्रो बनाउन पुगियो । 

अझै समय छ, घर्किसकेको छैन । छाड्नुस् अरुका कुरा । उनीहरूले के गरे, के भने उनीहरूकै जिम्मामा छाडिदिऊँ । जे बुझेका थिए त्यही भने, जे जानेका थिए त्यही गरे । त्यसैमा खेले, खेले खेलाए, फसे, फसाए । उनीहरूलाई विर्सेर आफूले के भन्ने र के गर्ने भन्ने सोच्नुस् सबै तपाईका पछि लाग्नेछन्, लाग्न कर लाग्नेछ । तत्कालै नहुन सक्छ, हुनसक्छ, केही समय एक्लै पर्न सक्नुहुन्छ तर सधै त्यस्तै हुँदैन । शुरुमा बुद्ध एक्लै थिए, गान्धी एक्लै थिए, मण्डेला एक्लै थिए, मार्टिन लुथरहरू एक्लै थिए । बुद्धलाई सिध्याउने खेल भएकै हुन्, मण्डेलाहरूलाई सक्ने प्रयास भएकै हुन्, गान्धीलाई त सिध्याएकै हुन् तर के भयो त खोइ सबै एकदिन उनीहरूकै अनुयायी नबनिसुखै पाएनन् । 

विजयी हुनु भनेको धन जित्नु मात्र होइन, तन जित्नु मात्र पनि होइन, मन जित्नु हो । मन जिते सबै जितिन्छ, धन पनि जितिन्छ, तन पनि जितिन्छ  । अन्यथा केही पनि जितिंदैन । न धन न तन । यही नै राम्रो ‘म’ बन्ने पहिलो सूत्र हो । त्यसैले आउनुस् यस महाअभियानमा लागौं, जसको शुरू नै भएको छैन, पहिलो यात्री तपाईं बन्न सक्नुहुन्छ, म बन्न सक्छु, हामी बन्न सक्छौं । यही नै सच्चा विजयी हुनु हो, विजयीभवको सही सन्देश हो, सँगसँगै राम्रो ‘म’ को सही बुझाइ पनि हो । 

जेठ ११, २०७६ मा प्रकाशित

कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस