गणतन्त्रका ११ वर्ष : निरन्तर बर्बादी कि सही दिशा अवलम्बन ?

जेठ १५, २०७६

देशमा गणतन्त्र आएको एक दशकभन्दा बढी समय बित्न लागेको छ । तर गणतान्त्रिक ढंगले देशलाई सम्हाल्ने र सही बाटोमा हिँडाउने अपेक्षा पटक्कै पूरा हुन सकेको छैन । संविधान बनाउने क्रममा यो गम्भीर छलफलको विषय हुनु अस्वाभाविक थिएन । तर समयको लामो अन्तरालपछि पनि यसलाई सार्थक छलफलद्वारा अपेक्षित परिणतिमा पुर्‍याउन नसकेको कुरा प्रस्ट भइरहेको मुलुकको स्थितिले औंल्याइरहेको छ । 

जसैतसै एक थान संविधानको ठेलीको घोषणा गरिदिएर काम फत्ते हुने थिएन र भइरहेको पनि छैन । फलतः घोषणा गरेदेखि नै यसले संशोधन र कार्यान्वयनको चुनौती झेलिरहेको छ । यसलाई सही किसिमले सही बाटो दिइएन भने संविधानलाई अफाप सिद्ध गर्ने र नेपाललाई सधैं अस्थिर तथा अनिश्चित तुल्याएर फाइदा उठाउन चाहने पहिलेदेखि नै हालीमुहाली चलाउँदै आएका अस्वीकार्य आन्तरिक र बाह्य वर्गशक्ति र प्रत्यक्ष परोक्ष तिनलाई आडधाप दिने विभिन्न रूपरंगका देशी विदेशी आसेपासेहरूलाई नै फाइदा पुग्नेभन्दा अरू केही हुँदैन । यो जहाँसुकै र जहिलेसुकै इतिहासले सत्य साबित गर्दै आएको तथ्य कुरा हो ।


ADVERTISEMENT

तर मुलुकमा बितेको  १५ वर्ष यतादेखि सत्तामा रहे बसेका दलहरूले यो कुरालाई हिजोको अर्थहीन इतिहासका दुर्घटनाका रूपमा मात्र  लिएको देखिन्छ । उनीहरूले सत्तामा पुग्नका लागि जस्तोसुकै प्रतिक्रियावादी वर्ग, तह र तप्कासँग पनि गला मिलाउन उद्यत हुने चिन्तन र चरित्रले अन्ततः यही कुरा साबित गर्दछ । अनि यसले शोषण, अन्याय, थिचोमिचोको कुरा केवल भागबण्डा नमिलुञ्जेलसम्म जनताको आँखामा छारो हाल्नका लागि मात्र हो र अनि आन्दोलनको अर्थ र सीमा पनि त्यसभन्दा पर छैन भन्ने मात्र औंल्याउँछ । समग्रमा  विकास र समृद्धि खोज्ने कुरा पनि विद्यमान  यथास्थितिवादी ढाँचाभित्रैबाट मात्र हो भन्ने कुरा पनि प्रस्ट छ । यो आजको तीतो र कटु यथार्थ वास्तवमा परिवर्तनको सही दिशाबाट विमुख भएकै लक्षण हो  ।  

सन्दर्भहीन भइसकेको असामयिक उत्पादन सम्बन्धलाई यथावत् कायम राखेर र त्यसलाई उपरी तहमा मात्र सामान्य सुधार गरेर राष्ट्रको चौतर्फी समृद्धिको खोजी गर्ने कुरा जनतालाई फेरि पनि ‘मृगमरीचिका’ देखाउने छली  कुरा मात्र हो । अहिलेसम्मको विकास किन ‘बालुवामा पानी हालेसरह’ मात्र भयो, किन हामी गए गुज्रेको अवस्थामा रह्यौं र अब के कसरी अगाडि बढ्न सकिन्छ  भन्ने कुराको यथार्थ वस्तुगत लेखाजोखा र प्रस्ट विश्लेषण नगरी सही दिशामा बिल्कुलै अगाडि बढ्न सकिँदैन । अनि जनतालाई जगाउन, उठाउन, सही दिशामा अघि बढाउन र सक्रिय तुल्याउन पनि सकिँदैन । यो अहिलेसम्मको अनुभवले एकदमै सुस्पष्ट पारिसकेको र पारिरहेको कुरा हो ।

निश्चय नै देशमा आधारभूत प्राकृतिक स्रोतसाधन भएर पनि तिनको सदुपयोग हुने उपयुक्त र उचित वातावरण बनाइँदैन बरू कमिसन खाएर गुन्द्रुकको झोलमा बेचिन्छ या बेच्ने तारतम्य मिलाइन्छ । अनि देशको चौतर्फी विकासका  ४० प्रतिशतभन्दा बढी युवा जनसंख्या  भएको  उपयुक्त स्थितिमा पनि देशमा काम नपाएर युवाशक्ति पलायन हुन बाध्य पारिन्छ र प्रायः गाउँघरहरू  बूढाबूढी, अशक्त र केटाकेटी मात्र बाँकी रहेर युवा–शून्य बन्छन् भने त्यहाँ गणतन्त्र सुदृढ र संस्थागत कसरी हुन सक्छ र ! केवल तीन तहको चुनाव सम्पन्न भएको ढोल पिटेर मात्र त हुँदैन ! वस्तुतः यो आजको एउटा अत्यन्तै सोचनीय र ज्वलन्त राष्ट्रिय समस्या बनेको यक्ष प्रश्न हो । यस प्रश्नको  सही उत्तर नखोजी मुलुक एक कदम पनि पटक्कै सही दिशामा अगाडि बढ्न सक्तैन । 

कुनै पनि मुलुकका स्रोतसाधनहरू चाहे ती प्राकृतिक, मानवीय, सामाजिक तथा सांस्कृतिक जेसुकै किन नहुन् तिनको उपयोग कसको निमित्त कसरी गरिन्छ भन्ने कुराले पहिलो र ठूलो महत्त्व राख्छ । ती बहुसंख्यक जनसमुदायका निमित्त प्रयुक्त हुन्छन् कि मुठ्ठीभर सम्भ्रान्त वर्गका निमित्त त्यसले विकास कस्तो र कसको लागि हो र रहेछ भन्ने कुरा प्रस्ट हुन्छ । यस परिप्रेक्ष्यमा अहिलेसम्मको हाम्रो विकासको दिशा, गति र परिणामलाई हेरियो भने प्रस्ट हुन्छ, यो सर्वसाधारण जनताको अधिकार, सक्रियता र समृद्धिको निमित्त नभएर सानो अभिजात वर्गको हित र समृद्धिका निमित्त केन्द्रित हुँदै आएको छ । यसले गर्दा एकातिर विकासप्रति जनताको उदासीनता, निष्क्रियता निरन्तर कायम रहेको हुन्छ भने अर्कोतिर आम जनता गरीबीको दुष्चक्रमा निरन्तर परिरहने बाहेक अरू केही हुँदैन ।

यस्तो चक्रव्यूहबाट आम जनतालाई बाहिर निकाल्ने र उनीहरूको विकासप्रतिको सचेतता, समर्पण र सक्रियता निरन्तर कायम राख्ने अनुकूल स्थिति सिर्जना गर्नु राष्ट्रिय स्वाधीनता, समृद्धि र शान्तिको पहिलो आधारभूत शर्त बन्दछ र बन्नुपर्दछ । यसो नगरिकन केवल विकासको कोरा बकबकले मात्र कुनै ठोस र उल्लेख्य परिणाम निस्कन सक्तैन । हेर्दा स्रोतसाधन खर्च भइरहेको हुन्छ तर परिणाम भने प्रायः सधैं हात लाग्यो शून्य मात्र भइरहने यस्तो बर्बादी र विनाशबाट मुक्त हुने बाटो लिनु मात्रै आजको राष्ट्रिय विकासको विकल्प र ठोस गन्तव्यको सही दिशा हो । 

देश र जनता गरीबी, अभाव, असुरक्षा, अशिक्षा र बेरोजगारीको भयावह र नाजुक स्थितिबाट गुज्रिरहेको आजको गम्भीर स्थितिलाई फेर्न र विगतका नकारात्मक अनुभव, गलत नीति र कार्यक्रमलाई दोहोरिन नदिन टालेटुले, तदर्थवादी र हचुवा कुरा गरेर बिल्कुलै हुँदैन । अनि सही नीति बनाए पनि त्यसलाई कार्यान्वयन नगर्ने हाम्रो परम्परा बनेको छ भन्ने हलुका निष्कर्ष निकालेर छुट्टी लिने कुरा पनि अब पटक्कै दोहोर्‍याइरहनुको पनि कुनै तुक र अर्थ छैन । 

बरू हामीले कृषि, उद्योग, बन्द–व्यापारका नीतिहरूमा कहाँ कहाँ त्रुटि गर्‍यौं ? तिनलाई  शिक्षा र स्वास्थ्यसँग सही किसिमले किन जोड्न सकेनौं, प्राकृतिक र मानवीय स्रोतसाधनलाई सही किमिसले देश र जनताको हितमा प्रयुक्त गर्न किन सकेनौं ? परराष्ट्र सम्बन्धलाई देशको राष्ट्रिय हितको संवर्द्धन र राष्ट्रिय क्षमता अभिवृद्धि गर्नका लागि सन्तुलित र कूटनीतिक कौशलका हिसाबले परिचालन किन गर्न सकेनौं ? आज यी विषयमा गम्भीर छलफल, चिन्तन, मनन गरेर महत्त्वपूर्ण र दूरगामी निष्कर्ष निकाल्नु अनिवार्य र अपरिहार्य छ । यी कुराहरूमा सही निष्कर्षमा नपुगी अगाडि बढ्न फेरि पनि सकिने छैन । 

यो  एकदमै प्रस्ट भइसकेको र भइरहेको कुरा हो । यी कटु वस्तुगत यथार्थबाट हामीले फेरि पनि सिकेनौं र पुरानै गलत बाटोमै भड्किरह्यौं भने निश्चित रूपमा हामी ‘फेरि पनि ‘घुम्दै फिर्दै रुम्जाटार’ भन्ने कथनकै वरिपरी घुमिरहेका हुनेछौ । यस्तो यथास्थितिमा हाम्रो श्रम, स्रोतसाधन र समय मात्रै बर्बाद बनिरहनेछ, जुन आजसम्म हुँदै आएको कुरा छ । विकासको सट्टा हामी निरन्तर विनाशको गलत बाटोमै धकेलिइरहेका हुन्छौं ।

अहिलेसम्म हामी जसरी हिँड्यौं र जे जस्तो दुष्परिणाम भोग्यौं र भोगिरहेका छौं त्यो बाटो नछाड्ने हो भने फेरि पनि थप दुष्परिणामकै लागि हामी अभिशप्त बनिरहन विवश हुने मात्र छैनौं, झन् झन् कमजोर बनेर हाम्रो देश र जनताको अस्तित्व नै अकल्पनीय संकटमा धकेलिने र उठ्नै नसक्ने बन्न जाने अवश्यम्भावी छ । यस्तो स्थितिबाट जोगिन र सुन्दर भविष्य निर्माण गर्न हामीले आफू सच्चिन र भावी पुस्तालाई सही दिशाबोध गराउन बाहेक अरू कुनै विकल्प छैन । विनाश रोज्ने कि विकास – हाम्रै हातमा छ । विकासले गणतन्त्रात्मक लोकतन्त्रलाई सबल, सुदृढ र सशक्त तुल्याउँदै  स्वाधीनता, समृद्धि र शान्तिलाई सार्थक रूपमा मलजल प्रदान गर्दछ । विश्व समुदायका अगाडि ठाडो शिर गरेर खडा हुन र आफ्ना बहुमूल्य साधनस्रोतको सदुपयोग गरेर समानतामा आधारित समुन्नत नेपाल निर्माणको बाटोमा लाग्न सकिन्छ । समय छँदै सोचौं, गम्भीर  बनौं र अघि बढौं ! देशका परिवर्तनकामी शक्ति, समूह र सर्वसाधारण  नागरिक समेत सबैको राष्ट्रिय कर्तव्य, दायित्व अनि आजको आवश्यकता यही नै हो ।

जेठ १५, २०७६ मा प्रकाशित

लोकनारायण सुवेदी

सुवेदी नेपाल कम्यूनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस