गुठी विधेयक बहस : दुईचार कमजोरी देखाएर सिङ्गो परम्परामाथि दखल !

जेठ ३०, २०७६

काठमाडौंका नेवारहरूले प्रविधिको महत्व नबुझेर एक्काइसौं शताब्दीको उत्तरार्द्धमा पनि मान्छेले नै रथ तानिरहेका होइनन् । राजधानीमा पृथ्वीनारायण शाहको कालखण्ड भन्दा अघिदेखि निरन्तर चल्दै आएका जात्रा, पूजा-अर्चना, मेला पर्व फगत तमासा होइनन् । ती रीतिथितसँग नेपाली पहिचान जोडिएको छ । नेपालको गौरव जोडिएको छ । हाम्रो आफ्नोपन त्यतै कतै छ ।

मेचीदेखि महाकालीसम्म फैलिएका विभिन्न जाति, जनजाति समुदायमा प्रचलित लोक नृत्यको निरन्तरता लहडबाजी होइन । साकेला, झर्रा, कौरा, टप्पा, लाखे, हुड्केली, देउडा, सोरठी, ख्याली, चण्डी, भैरव नाच आदि अनेक नामले चिनिने नृत्य र तीसँग जोडिएका गीत वास्तवमा नेपालीपनका परिचायक हुन् ।


ADVERTISEMENT

हरेकजसो जनजाति समुदायका बस्तीमा पुग्दा पाइने अलग अलग लोकसंस्कृति हाम्रो गौरवका विषय हुन् । नेपाली भूगोलभित्रका विभिन्न जाति, जनजाति समुदायको रहन सहन, जीवनशैली र लवाई खवाई नै असली नेपालीपन हो । तीसँगै जोडिएका संस्था, परम्परा र संस्कार हाम्रा अमुल्य निधि हुन् ।

बुढ्यौली उमेरमा पहिलोपल्ट दौरा-सुरुवाल पहिरिएर 'ए ! यो त सजिलो पो हुँदो रहेछ' भन्ने बालसुलभ प्रतिक्रिया दिने नेतृत्व पाउनु हाम्रो नियतिको खेल हो । आफ्नै भूगोलभित्रका रीतिरिवाज र संस्कृतिका अवयवहरूलाई चिन्न नसक्नु हाम्रो कमजोरी हो ।

आफ्नोपन छाडेर पराइपनलाई पछ्याउनु लघुताभाष सिवाय केही होइन । बुझ्न नसक्नु, बुझाउन नसक्नु, अपनाउन नसक्नु फरक विषय हो । तर, नेपालीपन र नेपाली संस्कृतिको सम्पन्‍नता विश्वमा विरलै पाइनेमध्येको एक हो । यसको प्रवर्द्धनको विषयमा अनेक झमेला र किचलो हुनुमा हामी आफैं र हाम्रा अगुवाहरूको दोष छ ।

नेपाली संस्कार, परम्परा, रीतिथितिका अन्तर-कुन्तर बुझ्ने, त्यसको जगेर्ना र प्रवर्द्धन गर्ने विषयमा पटक-पटक विवाद हुने गरेको छ । समुदायकै अगुवाहरूको बद्नियत र कानूनी तथा प्रशासनिक झन्झटका कारण कतिपय परम्परा लोप भइसकेका छन् । कतिपय लोप हुने अवस्थामा छन् त कतिलाई टिक्नै मुस्किल हुने अवस्थामा पुर्‍याइएको छ ।

सदियौंदेखि चल्दै आएका हाम्रा परम्परालाई निरन्तरता दिनका लागि देशभरि छरिएका, समुदायपिच्छे फरक नामले चिनिने गुठीहरूले सञ्जिवनी जस्तै बनेर सघाइरहेका छन् । तर, यतिखेर तिनै गुठीको विषयमा उब्जेको विवादले देश तरङ्गित भएको छ । नियम, कानून, व्यवस्थामा आउने परिवर्तनले असल परम्पराको संरक्षण गर्नुपर्छ ।

तर हाल चर्चामा रहेको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले परम्पराको जगेर्ना गर्नुको साटो निरन्तरतामै प्रश्न खडा गर्छ भन्ने चिन्ताले गुठीयारहरू आन्दोलित छन् । आन्दोलनका क्रममा बल प्रयोग गरिएको विषय संसद्‍सम्म पुगेको छ । यही पृष्ठभूमिमा गुठीको विषयलाई खास भूगोल र समुदायसँग मात्रै जोडेर गरिएका टिप्पणीसमेत आइरहेका छन् ।

नाम र कार्यशैलीमा भिन्नता भएपनि देशभरफैलिएर रहेका गुठीहरू सम्बन्धित समुदायको सांस्कृतिक निरन्तरताको लागि सबैभन्दा महत्वपूर्ण संस्था हुन् । सम्पदा र संस्कृतिको संरक्षण तिनको मूल ध्येय हो । त्यसैले दुईचार कमजोरीका उदाहरण देखाएर नेपालीपनसँग जोडिएको सिङ्गो परम्परालाई 'डिस्टर्ब' गरिनु हुँदैन । नेपाली समाजमा यत्रतत्र समस्या छन् । खास समस्याको निदान गरी समाधान हुनुपर्छ । तर सिङ्गो परम्परालाई दखल पुर्‍याउनु किमार्थ ठीक होइन ।

पहिचान मास्ने कि जोगाउने ?

पहिचान के हो ? भन्ने प्रश्नको जवाफ व्यक्तिपिच्छे फरक हुनसक्छ । त्यसलाई व्यक्तिको तहमै छाडिदिनु ठीक होला । तर त्योभन्दा माथि पनि समुदाय र राष्ट्रको पहिचान हुन्छ । सिङ्गो समाज र राष्ट्रको पहिचानको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व हो । वर्तमान नेपालमा खण्ड-खण्डमा बाँडिएर पहिचान खोज्ने धुनमा समग्र नेपालको पहिचान कमजोर बन्दै छ । आलोचकहरूका शब्दमा गुठीसम्बन्धी विधेयकसमेत त्यसैको एक कडी हो ।

मन्दिर, मस्जिद, चैत्य, गुम्बा सबैमा आफ्नोपन देख्नु, सबै जात-जाति र धर्मको सम्मान गर्नु र  तिनको संरक्षण गर्नु/गर्न सघाउनु नेपाली संस्कार हो । यदि त्यस्तो नहुँदो हो त आज विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरू र तिनका अजङ्गका संरचना प्रविधिको विकास नै नभएको युगमा निर्माण हुने थिएनन् । हालसम्म तिनको अस्तित्व हुने थिएन ।

सम्पदाको प्रत्यक्ष साइनो संस्कृतिसँग छ । संस्कृति र सम्पदा एकअर्काका परिपूरक हुन् । सम्पदा जोगाउने र संस्कृतिको निरन्तरतामा गुठीको भूमिका छ । गुठीजस्तै अरु पनि औपचारिक, अनौपचारिक संस्था र प्रचलन छन् । संस्कृति र सम्पदालाई 'डिट्याच' गरियो भने पहिचान जोगिएला ? संस्कृति जोगिएला ? आज हामीले हतारमा वा अज्ञानमा पहिचानको मर्ममा प्रहार गर्‍यौं भने भोलि पहिचान भेटिएला ? यी प्रश्न अहिलेका संगीन प्रश्नहरू हुन् ।

सञ्चार माध्यममार्फत सार्वजनिक भएका गुठीसम्बन्धी विधेयकका प्रावधानले सदियौंदेखि कुनै पारिश्रमिक, आर्थिक लाभ वा प्रतिफलको आशा नगरीकन सम्पदा संरक्षणमा लाग्नेहरूको चित्त दुखाएको छ ।

विधेयकमा गुठीसँग संरक्षकको अपनत्व टुटाउने भाषाको प्रयोग भएको देखिन्छ । वास्तवमै संरक्षणको लागि दिलोज्यान दिनेहरूलाई पछि धकेलेर अवसरवादीहरू खेल्ने 'स्पेस' प्रस्तावित कानूनको भाषामा पाइन्छ । त्यसैले यसलाई राजनीतिक खिचातानीको विषय नबनाई सच्चाउनेतिर लाग्नु उचित हुन्छ ।

अन्त्यमा,

नेपालका विभिन्न जातजातिका परम्परा निकै सम्पन्न छन् । खासगरी जनजाति समुदायमा मौलिकता छ । नेपालीपन छ । कतिपय अवस्थामा त्यसमाथि विग्रह ल्याउने र धावा बोल्ने प्रयास पनि नभएका होइनन् ।

यति हुँदाहुँदै पनि जनजाति समुदायको संस्कृति विकृत भइसकेको छैन । खासगरी काठमाडौं उपत्यकाभित्र नेवार समुदायको संस्कृति सिङ्गो नेपालले गौरव गर्नलायक छ । यसलाई संरक्षण गर्नुपर्छ, प्रवर्द्धन गर्नुपर्छ ।

आधुनिक विश्वमा पूँजीवादको लहरले संस्कृतिलाई छिन्नभिन्न बनाउने प्रयास नगरेको होइन । यस्तो लहरले प्रायः सबै परम्परा र संस्कारमाथि धावा बोलेको छ । तथापि विश्व परिवेशमा आफ्नोपन नहुनेहरू कमजोर मानिसहरू हुन् भन्ने तथ्य स्वयंसिद्ध छ ।

जोसँग आफ्नोपन छ, आफ्नै भाषा र संस्कृति छ ती जाति, जनजाति वास्तवमै सम्पन्नछन् । उनीहरूलाई आफ्ना असल परम्पराको संवर्द्धनमा सघाउनुमै सबैको कल्याण छ ।

गुठी विधेयकको सम्बन्ध र प्रभाव केवल गुठीयारको तहमा छैन । यसले सिङ्गो नेपाली संस्कृतिको निरन्तरता र नेपालीपनको प्रवर्द्धनमा प्रत्यक्ष असर पार्दछ । नेपालका सम्पदाहरूको संरक्षण र संवर्द्धनसँग सम्बन्धित प्रचलनमा प्रहार गर्दछ । तसर्थ यस्तो कानून निर्माण र परिमार्जन गर्दानिकै सचेत, संयमित र दुरदर्शी हुनु जरुरी छ ।

जेठ ३०, २०७६ मा प्रकाशित

टीएन रेग्मी

निजामती सेवामा कार्यरत रेग्मी समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस