बेस्वादको स्वादमा केको जन्मदिन ?

जेठ ३२, २०७६

मन पनि कति उदात्त र हौसिएर आएको । आज मेरो जन्म दिन रे !

जन्मदिन भन्ने बित्तिकै के–के न हुन्छ, के–के न पाइन्छ, कति न ठूलो भइन्छ भन्ने भावना मनभरि औरिएका ।


ADVERTISEMENT

आमाले जन्मदिनको सूर्योदयपछि भन्नु भएथ्यो, ‘तिमी जन्मँदा पूर्वको नीर फाटेको समय थियो । आकाशको पूर्वी किनारा बुट्टेदार थियो ।’ 

‘तिमी जन्मने व्यथा लाग्नुअघि कति राम्रो स्वर्गीय सपना देखेको थिएँ । सपनामा इन्द्रसभा भइरहेको थियो । वरिपरि जताततै पूजापाठ, फूल अविर र धूप नैवद थिए । झल्यास्स ब्यूझें, व्यथा लागेको रहेछ । केही क्षणमा तिमी जन्मिहाल्यौ ।’

जन्मनुअघिको सपना, जन्मँदाको परिवेश र नीर फाटेको पूर्वी क्षितिज सबैले एउटा बिम्ब, अवचेत रुपमा एउटा बिम्बको अभिव्यक्ति थियो आमामा । त्यो बिम्ब भविष्य, ज्ञान, कर्म र परिश्रमको द्योतन गरिरहेको थियो । त्यस बिम्बमा आमाको म र मेरो भविष्यप्रतिको एक खालको आशक्ति पनि भएको हुनुपर्छ । त्यो बिम्ब मैले मेरै अर्थमा बुझें, आमाले कुन्नि के बताउन खोजेकी थिइन् । त्यो कथनले दिएको बिम्बले मलाई भने जन्मदिन सम्झँदा पनि ऊर्जा दिन्थ्यो, अदृश्य उर्जा । यात्रामा साहस, कर्ममा उत्साह, कति ठूलो शक्ति । सूर्यले विरुवालाई आफूतिर बढ्न प्रेरणा दिएजस्तै प्रेरणा । 

त्यो बिम्ब आमाको मप्रतिको कल्पनाको पुञ्ज पनि थियो शायद । त्यो बिम्बको कल्पनामा म अहिले पनि दौडिरहेको छु । 

म जन्मेपछि आमा कति दुःखी भइन् होला, मैले जान्ने कुरा भएन तर अहिले म बुझ्ने भएपछि बताउँदा पनि चाउरी परेको अनुहारमा कति चहक देखिएको, श्रमले थाकेको शरीरमा पनि कति फूर्ति आएको । 

आमाहरू सन्तान जन्मँदा पनि खुशी हुन्छन् । सन्तान जन्मँदाको प्रशव पीडा पनि भुल्छन् र सुखको अनुभूति गर्छन् । ‘दुःख–सुखको अनुभुति ।’ हो कतिपय पीडाको अनुभूति खुशीमा बदलिन्छ । सन्तान सिर्जना हो, सन्तान आफ्नै मासु र अंग हो । त्यसैले सन्तानका चेहरामा आमाको सपना हुन्छ र पो आमा दुःखमा पनि खुशी भएकी । 

आमाहरूलाई सन्तान धेरै हुँदैनन् । आमाहरू मायाको खानी हुन्, धेरै माया दिन्छन् तर माया सकिँदैन । आमा मायाको अनन्त भण्डारको नाम हो । आमा सृष्टिको शक्ति हो, आमा भएर न संसार बन्ने हो । म अवोध बालकलाई जन्मनुको अर्थ के थाहा ? जन्म दिनको अर्थ के थाहा ?

भाइबहिनीलाई वरिपरि राखेर आमा म जन्मेको कथा सुनाउँदै गइन् । हामी पनि ठाडा कान लाएर कथा सुन्दै गयौं । आमा कति खुशी, हामी कति हौसिएका । कति रमाएका ।

हो यसअघि नै, पूर्वी क्षितिजमा नीर फट्नुअघि नै आमाले नित्य स्नानपछि रोशी खोलाबाट पानी ल्याई सूर्यलाई अघ्र्य चढाइसकेकी थिइन् । हामी उठ्दा खीर बनाइसकेकी थिइन् । पहिला ईश्वरलाई र (उहाँका शब्दमा) ईश्वरका बरदान हामी छोराछोरीलाई प्रशन्न तुल्याउन ।

आमाहरू आफ्ना सन्तानलाई ईश्वरीय अंश मान्दछन् र ईश्वरकै प्रार्थना गर्दछन् – ‘सन्तानहरू ईश्वरजस्तै यशस्वी हुन्’ । जन्मदिन त्यसो भन्ने अवसर पनि हो आमाका लागि ।

जन्मदिनको छुट्टै अर्थ हुन्छ, छुट्टै रमाइलो । पुगिसरी आएकालाई मैनबत्ती र केक उत्सव पनि हो । उपहार र आशिर्वाद पाउने दिन पनि हो । ‘ह्याप्पी बर्थ डे टू यू’को दिन, राम्रो लुगा र जमघटको भोजको दिन ।

श्रम, पसिना र कर्ममा घस्रनेका लागि मेरी आमाको जस्तो, खुशी, दुःख र जिम्मेवारीको त्रिवेणी । बच्चाको जन्मदिन आयो कि अतिरिक्त काम गर्नुपर्ने तर पनि खुशीको दिन । गाईवस्तुलाई घाँस, घरधन्दा साथै ईश्वरलाई नैवेद र बच्चालाई मिठो बनाउने दिन । त्यसैले दुःखसुखको त्रिवेणी तर आमा कहिल्यै भुल्दिनन् हाम्रो जन्मदिन । 

कति मीठा सम्झना । अलि ठूलो भएपछि रोशी खोलामा पौडेको, साथीहरूलाई पिपलगेडी  बाँडेको, धेरै पढ्न आओस् भनेर सरस्वती मातालाई दर्शन गरेको ।

हो जन्मदिन फेरि आयो, पटक–पटक आयो । आमा भाइबहिनीहरू गाउँमै छन्, बालसखाहरू यतैतिर छन् । दाजुहरू, काकालाई मेरो जन्मदिन थाहा छैन । स्कूले साथी पनि शहरीया । शहरका साथी भिन्नै हुने रहेछन्, मन साट्ने साथीहरू निकै थोरै । साथीहरू ह्यापी बर्थ डे टू यू पनि भन्दैनन् ।

‘रमेश, बटु, गिर्वाण, चरण, विजय त माया गर्छन् नि ! हो उनीहरूलाई मात्र टफी दिऊ । सबै साथी, सर मिस सबैलाई दिनुपर्छ । ५ रुपैयाँले नि पुग्दैन । आफूसँग जाउलाखेलको चिडियाखाना हेर्न आमाले दिएको ५ रुपैयाँको रातो नोट छ । कति जतनले साँचेर राखेको ।’

गाउँमा बसेको भए फेरि खीर पाक्थ्यो । आमाले सूर्यलाई अघ्र्य चढाउँथिन् । जन्मेको दिनको बिम्बको क्यान्भास फेरि कोर्थिन् । ब्रत र पूजाआजा गर्थिन् । 

त्यो गाउँको पवित्रता, यो शहरको कोलाहल र स्वार्थ । कोलाहलबीचको सन्नाटा र एकलोपन । जन्मदिनमा उफ्रिन पनि नपाइने । निजत्वले स्वतन्त्रता पनि नपाउने । मन न हो, यस्तै द्वैलन, उद्वैलनमा रहने । 

वर्षहरू बित्दै गए, जाँदा जन्मदिनको अर्थ र महत्त्व पनि फेरिँदै गए । अब जन्मदिनको अर्थ आफ्नै विगतलाई फर्केर हेर्ने, आफैंलाई विवेचना गर्ने दिन भएर आउन थाल्यो । 

बीसको जन्मदिनपछि जन्मदिनको अर्थ अझै फेरियो । किन आउँछ जन्मदिन भन्ने रिस पनि उठ्न थाल्यो । जन्मदिनले थिच्न थाल्यो । जिम्मेवारी थिच्न थाल्यो । विगतका भन्दा भविष्यका चित्र कोरिन थाले । सपना देख्न होइन, सपना बनाउन नसकिएको, सपना भत्किएको चित्रहरूले जन्मदिनलाई चिथार्ने थाले । एउटा अन्तलाई र अत्यास भएर आफ्ना सामू तुरिइसकेको लामो यात्रा पसारिन थाल्यो ।

क्यालेन्डर फेरिनु मात्र जन्मदिन होइन । हेप्पी बर्थ डे भन्नु मात्र पनि जन्म दिनको अर्थ होइन । मन ग्रहुंगो भएर जन्मदिन मनाउन सकिन्छ र ?

मेरा सपनाहरू एकपछि अर्को चक्नाचूर भएर भत्किँदा, रहरहरू भाच्चिँदा जन्मदिन कसरी उत्सव हुनसक्छ ? जन्मदिन त उत्सव हुनुपर्छ, आमाले कथा भनेर खीर पकाएको दिनजस्तो ।

बाबुहरू मेरा जन्मदिन उनीहरूको ‘हेप्पी बर्थ डे’को प्रतीकमा मनाउँथे । उनीहरूको बालहठ र हुटहुटीले निकै सताउँथ्यो । कहिले गोकर्ण, कहिले धुलिखेल, कहिले बेकरी क्याफे नगइ सुखै पाइन्नथ्यो । उनीहरू पढ्न विदेशिएपछि फेरि के को जन्मदिन ? जन्मदिन आएको पनि थाहा हुँदैन । अफिसले थिचेपछि, औपचारिकताले थिचेपछि केको जन्मदिन ? कमलाले सरप्राइज स्वरुप कहिले टाई, कहिले शर्ट ल्याएपछि मात्र जन्मदिनले झल्यास्स पार्छ ।

अब त जन्मदिनको अर्थ आफ्नै अतित, छाडेका सपना, भग्नाशा र आशक्तिका कच्याकमच्याक बेअर्थी बिम्ब हो । उत्सव होइन । उत्साहको क्षितिज छैन, जिजीविषाहरू पनि छैनन् । अग्लो पहाड जत्रो अजङ्गको जिन्दगी अघिल्तिर ठडिएपछि केको जन्मदिन ? केको उत्सव ? फर्किएर पछिल्तिर हेर्दा पनि अत्यास लाग्ने तर लडेर बाल्यकालमा फर्कने सम्भावना छैन ।

जन्मदिन होइन, जिम्मेवारी बाँकी छ । औपचारिक जिम्मेवारी, वृत्तिको जिम्मेवारी । हो वृत्तिको जिम्मेवारी वैयक्तिक जीवनको जिम्मेवारीभन्दा धेरै अर्थशील हुन्छन्, बोझिलो हुन्छ । निजत्व र स्वतन्त्रता रहँदैन, औपचारिकता र वृत्ति सेवामा रहन्छ ।

विशुद्ध राष्ट्र सेवा गर्ने कर्मचारीको कुन जन्मदिन ? जागिरे जिम्मेवारी रसिलो हुँदैन, निश्चल पनि हुँदैन । बेस्वादको स्वादमा केको जन्मदिन ? 

कतै अफिसको काम बिग्रिएला कि ? कर्मचारीले काम बिगारिदिएर कार्यालयको इज्जत जाला कि ? सेवाग्राहीले कामबाट चित्त नबुझाउलान् कि ? भए नभएको आरोप लाग्ला कि ? हाकिम खुशी नहोला कि ? सन्देह, सन्त्रासबीच सधैको हतारो, अनि केको जन्मदिन ?

स्वतन्त्रताको धेरै अर्थ खोज्न बाँकी छ । ८–१० वर्षमा फर्कन पाउ पनि हुने । जीवनका अर्थ खोजी गर्न बाँकी छ । ख्यालख्यालमा जीवनले तिमाल डाँडो काटिसक्दा पनि जीवनको खोजी गर्न पाएको छैन । आमाबुबाको दायित्व पूरा गर्न नसकिएपछि, जीवन साथीको रहर पूरा गर्न नसकिएपछि, बाबुहरूको बालइच्छा पूरा गर्न नसकिएपछि केको जिन्दगी ? केको सफलता र केको जन्मदिन ? उमेरको धरहरा ठडिएर जीवन पूरा हुन्छ र ? 

आकांक्षाहरू एकाएक गर्लम्म लडेका छन्, वृत्तिको बाटो माकुराको जालोजस्तै जेलिएको छ । धारिला बाटाहरूमा सिसिफसको कथा जारी गरेर के पाउनु ? प्राप्तिमा पनि पीडा छ, आकांक्षामा पनि अपसोच छ । निश्चल, पवित्र र कञ्चन मनहरू स्वागतका दियो बाल्दैनन् । यी स्वाद, बेस्वादमा यात्रा काट्नु नै जीवनको नियति हो ।

आमाले भनेको कथाको बिम्ब मनभरि छ । पूर्वी सागर फाट्ने बेलामा जन्मनुको अर्थ यही हो ? यी प्रश्नको उत्तर खोज्न पनि मेरो उमेर सच्चिनुपर्छ, बाल्य अवस्थामा पुग्ने गरी । अनि मन लागेजति पढ्ने थिए, मन लागेको विषय पढ्ने थिए, मन लागेको वृत्ति अपनाउने थिए, आमाबुवाको आवश्यकता, श्रीमतीको रहर र बाबुहरूको सपना पूरा गर्ने थिए । अनि पूरा हुने थियो मेरो जन्म कथाको बिम्बको अर्थ । अनि हुने थियो प्रत्येक दिन जन्मदिन । उत्सवै उत्सवको जन्मदिन । 

के सक्छ कसैले त्यो आवृत्ति फर्काउन ? 

आफ्नै जन्मदिनको सम्झनामा (क्षितिज मार्ग, शंखमूल) 

जेठ ३२, २०७६ मा प्रकाशित

गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस