पशु क्वारेन्टाइनको बेहाल : भारतीय व्यापारीले ल्याउने प्रयोगशालाको पत्रलाई (अन्ध)विश्वास !

असार २६, २०७६

जनकपुरधाम – भारतीय कुखुरा, चल्ला, अण्डा (फूल) र कुखुराको मासु आयातमा नेपाल सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ तर धनुषा, महोत्तरी सर्लाही सहितका जिल्लामा प्रतिबन्धित भारतीय कुखुराकै बोलबाला छ । 

अवैध आयात नियन्त्रण गर्न सरकारी संयन्त्रको रुपमा विभिन्न नाकामा पशु क्वारेन्टाइन कार्यालयका चेकपोस्ट पनि छन् तर प्रतिबन्धित कुखुरा तथा त्यसका अण्डाले नेपालको बजारमा अधिपत्य नै जमाएको छ ।


ADVERTISEMENT

कुखुरा व्यवसायी संघ धनुषाका अध्यक्ष रुपेश ठाकुरका अनुसार नेपालको बजारमा नेपाली कुखुरा उत्पादनमा कमी भएको हुनाले बजारमा माग भएपछि प्रतिबन्धित भारतीय कुखुरा आयात हुने गरेको छ । नेपालमा कुखुरा व्यवसायका लागि आवश्यक पर्ने दानाको कच्चा पदार्थ तथा औषधि सबै भारतबाट नै आयात गर्नुपर्छ ।

‘पहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेलामा कच्चा पदार्थ ल्याउँदा नेपालको भन्सारमा कुनै पनि राजस्व तिर्नुपर्दैनथ्यो, निःशुल्क नै थियो । तर अहिले नेपाल सरकारले त्यही दानामा ८ प्रतिशत भन्सार कर निर्धारण गरिदिएकाले नेपालमा उत्पादन हुने कुखुराको मूल्य महंगो हुन गएको छ भने भारतबाट आयात हुने कुखुराको मुल्य नेपालको बजारमा कम पर्छ,’ कुखुरापालक व्यवसायी ठाकुरले भने, ‘त्यसैले भारतीय किसानले उत्पादन गर्ने कुखुरासँग नेपाली किसानले प्रतिस्पर्धा नै गर्न सक्दैन ।’

ठाकुरका अनुसार धनुषामा प्रतिदिन ८० देखि ९० क्विन्टल कुखुराको मासु खपत हुने गरेको छ । जनकपुरमा मात्रै ३० देखि ४० क्विन्टल कुखुराको मासुको आपूर्ति हुन्छ । ‘जनकपुरको बजारमा मात्र होइन, धनुषासहित तराईका विभिन्न जिल्लामा  प्रतिबन्धित भारतीय कुखुराको एकछत्र राज छ,’ ठाकुरले भने, ‘त्यसमा पनि प्रहरीको आँखा अगाडिबाटै प्रतिबन्धित कुखुरा नेपाल भित्रिने गर्छन् ।’

भारतको माछा पनि नेपाली भान्सामा 

भारतबाट माछा पनि अत्यधिक परिणाममा अवैध रुपले नेपालमा भित्रिने गरेको छ । माछा खान योग्य छ कि छैन भन्ने कुराको परीक्षण गर्नका लागि सर्लाहीको मलंगवास्थित पशु क्वारेन्टाइन जाँचबिन्दुलाई मात्र अधिकार दिइएको छ ।

धनुषा र महोत्तरीको क्वारेन्टाइनको जाँचबिन्दुमा माछाको परीक्षण नै हुँदैन । त्यसैले धनुषा, महोत्तरी र सर्लाहीकै अन्य नाकामार्फत अवैधानिक रुपले विना परीक्षणकै माछा काठमाडौंसम्म पुग्ने गरेको छ । अवैध रुपमा भित्रिने गरिएका भारतीय माछा जनकपुरको माछा भनेर काठमाडौंसम्म बिक्री हुने गरेको छ ।

विदेशबाट आयात गरिएका पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीमा रोग छ/छैन भनेर यकिन गर्न निश्चित स्थलमा राखी जाँच्ने प्रक्रियालाई पशु क्वारेन्टाइन भनिन्छ । बाह्य मुलुकबाट भित्रिन सक्ने नयाँ रोग तथा संक्रामक रोगलाई भित्रिन नदिने, पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको आयात निर्यातलाई व्यवस्थित गर्ने, रोग फैलिएको अवस्थामा रोगको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले पशु क्वारेन्टाइन स्थापना गरिएको हो ।

२०६१ सालमा जनकपुरमा स्थापना भएको पशु क्वारेन्टाइन कार्यालय मातहत धनुषाको जटही, महोत्तरीको भिठामोड र सर्लाहीको मलंगवामा क्वारेन्टाइनको चेकपोस्ट स्थापना गरिएको छ । ३ जिल्लामा ३ वटा स्थानमा मात्र क्वारेन्टाइनको जाँचबिन्दु रहेकाले अन्य नाकामार्फत प्रतिबन्धित पशु तथा पशुजन्य सामग्री नेपाल भित्रिने गरेको छ ।

पशु क्वारेन्टाइन कार्यालयको ३ वटै जाँचबिन्दुमा भने नेपाल सरकारको आफ्नै प्रयोगशाला पनि छैन, न त जाँच गर्ने कुनै उपकरण । भारतबाट आयात हुने भैंसीराँगा, पाडापाडी, गाईगोरु, खसीबोका, बाख्रालाई क्वारेन्टाइनमा भारतीय क्वारेन्टाइनको प्रमाणपत्रकै आधारमा भित्रिन दिने गरिन्छ ।

महोत्तरीको भिठामोड जाँचबिन्दुका इन्चार्ज समेत रहेका पशु स्वास्थ्य प्राविधिक रामकिशुन महतोले भने, ‘नेपालमा आयात हुने पशुहरूको हामीले भारतीय क्वारेन्टाइनको प्रमाणपत्रकै आधारमा नेपाली क्वारेन्टाइनको प्रमाणपत्र पनि दिने गरेका छौं ।’ उत्पतिको प्रमाणपत्र, पशुको स्वास्थ्य परीक्षण प्रतिवेदन र भारतीय क्वारेन्टाइनको आधारमा नेपाली क्वारेन्टाइनको प्रमाणपत्र दिने गरिएको छ ।

‘भारतबाट आयात हुने पशुका नेपालमा न त स्वास्थ्य परीक्षण हुन्छ, न त क्वारेन्टाइन परीक्षण गर्ने प्रयोगशाला छ,’ पशु क्वारेन्टाइन कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रभाकर लाल कर्णले भने, ‘हामी त्यसका लागि भारतीय क्वारेन्टाइनकै भर पर्नुपर्छ ।’ भारतमा पनि दिल्ली, कलकत्ता, चेन्नई, बेङ्लुरु र हैदराबादमा मात्र पशु क्वारेन्टाइनको कार्यालय छ । भारतीय व्यापारीले त्यहीँबाट ल्याउने क्वारेन्टाइनको प्रमाणपत्रको आधारमा नेपालले क्वारेन्टाइनको प्रमाणपत्र दिने गरिएको छ । नेपालले क्वारेन्टाइनको प्रमाणपत्र भने भारतीय व्यापारीलाई निःशुल्क नै प्रदान गर्छ । भारतीय व्यापारीले बोकेर ल्याउने प्रमाणपत्र सक्कली हो कि नक्कली त्यसको स्वतन्त्र पुष्टि समेत हुने गरेको छैन ।

नेपालमा आयात हुने पशु वा पशुजन्य पदार्थमा रोग लागेको छ, संक्रमण छ वा छैन भन्ने कुराको नेपालमा पुनः परीक्षण नै गरिँदैन । कम्तिमा नेपालले क्वारेन्टाइनको प्रमाणपत्र वितरण गरेपछि भारतीय व्यापारीले नेपालको भन्सारमा राजस्व भने तिर्ने गरेको छ ।

प्रहरी प्रशासनको सहयोग नभएका कारण अन्य नाकामार्फत लुकिछिपी पशु तथा पशुजन्य सामग्री भित्रिने गरेको कर्णको आरोप छ । ‘हामीले सीडीओ, एसपी लगायतलाई पटक–पटक पत्र लेखेर नै त्यस्ता पशु तथा पशुजन्य सामग्रीको आयातमा रोक लगाउन आग्रह गरेका छौं,’ कर्णले भने, ‘तर उताबाट कुनै सहयोग नै हुँदैन ।’

विभिन्न नाकामा पुगेर नाकाको अनुगमन गर्नका लागि सवारीसाधन पनि नरहेको उनले बताए । बा१झ ८६६० नम्बरको गाडी प्रतिनिधि सभाको निर्वाचनमा  जिल्ला प्रशासन कार्यालयले झिकेको थियो, त्यो गाडी फिर्ता भएन । गाडी हाल मुख्यमन्त्री लाल बाबु राउतको पछुवामा प्रयोग भइरहेको कर्णले बताए । मोटरसाइकलको भरमा कहिलेकाहीँ अनुगमन गरेर नियन्त्रण गर्न खोज्दा व्यापारी नै हाबी हुने गरेका कारण पनि नियन्त्रण गर्न नसकिएको कर्णले बताए ।

कुन नाकाबाट वैध रुपमा कति आयात ?

आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि माघसम्ममा धनुषाको जटही नाकाबाट १ सय १८ जना भारतीय व्यापारीले ११ हजार ७ सय ७५ पाडापाडी, राँगाभैंसी नेपालमा आयात गरेका छन् । 

सर्लाहीको मलंगवा नाकाबाट २ हजार ९ सय ५४ जना भारतीय व्यापारीलाई क्वारेन्टाईनको प्रमाणपत्र जारी गरिएको छ । चालू आर्थिक वर्षको साउनदेखि असार २४ गतेसम्म ७ सय ४१ मेट्रिक टन माछा नेपालमा भारतबाट आयात गरिएको छ । २० मेट्रिक टन बफमिट आयात गरिएको छ । १६० मेट्रिक टन माछाको दाना आयात गरिएको छ ।

महोत्तरीको भिठामोड नाकाबाट १७ जना भारतीय व्यापारीलाई क्वारेन्टाइनको प्रमाणपत्र जारी गरिएको छ । १ सय ६ भैंसीराँगा, पाडापाडी जाँचबिन्दुमार्फत भित्रिएको छ । १ सय १६ खसीबोका बाख्रा, ४ गाई भित्रिएका छन् । विना भन्सार बुझाएर अवैध रुपमा पनि ट्रकका ट्रक भारतबाट पशुहरू नेपाल आयात हुने गरेको आरोप छ ।

असार २६, २०७६ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस