अन्तर्राष्ट्रिय प्रचलनअनुसार नाकामा विषादी चेकजाँच हुँदैन : कृषिमन्त्री खनाल

फाइल फोटो
असार २६, २०७६

काठमाडौं- कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिले पनि जारी नै रहेको स्पष्ट पारेका छन् । 

बिहीवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिले पनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भइरहेको सुनाए । नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरूको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नति गर्ने पनि उनले विश्वास दिलाए ।


ADVERTISEMENT

मन्त्री खनालले अहिलेपनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्रामा रहेको सुनाए । उनले भने, ‘हामीले २०७१ साल असारदेखि विषादी परीक्षणको शुरू गरेका हौं, त्यतिबेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो ।’

काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६–७ वटा ल्याबहरू रहेका मन्त्री खनालले सुनाए । उनले भने, ‘तर ती सबै ल्याबहरू अहिले सञ्चालनमा छन् भनेर म भन्दिनँ । भएका ल्याबहरू सञ्चालन गर्न म्यानपावरको समस्या छ ।’

उनले विषादी चेकजाँच गर्ने निर्णयबाट सरकार किन ब्याक भयो ? भनेर चौतर्फी कुरा उठेको सुनाउँदै निर्णयमा नाकामा चेकजाँच भन्ने शब्द राख्दा समस्या भएको सुनाए । उनले थपे, ‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार पनि नाकामा चेकजाँच हुँदैन र अहिले हामीसँग भएका ल्याबहरूलाई हामी छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउँछौं ।’

अहिलेपनि अर्गानो फोस्फेट र कार्वोनोमेट दुई वटा विषादी परीक्षण हुने गरेको मन्त्री खनालले सुनाए । परीक्षण हुन नसक्नेलाई काठमाडौंमा ल्याउन सकिने उनको भनाइ छ । उनले हरेक कुरामा विषादीमात्रै छ भनेर देख्ने तरिका पनि वैज्ञानिक नभएको गुनासो पोखे ।

 

असार २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस