तृणमूल कांग्रेसका विधायकहरूले घरघरमा गएर जनतासँग माफी माग्ने

असार २७, २०७६

काठमाडौं – नेताहरूले पार्टी छोडेर गएपछि अनि पार्टीले लोकसभा चुनावमा खराब प्रदर्शन गरेपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बिहीवार तृणमूल कांग्रेसका सबै विधायकलाई विनम्र भएर जनतालाई भेट्न र आफ्ना गल्तीका लागि माफी माग्न आदेश दिएकी छन् ।

तृणमूलकी सर्वोच्च नेता बनर्जीले पार्टी विधायकहरू बैठक गरिन् । लोकसभा चुनावमा पार्टीको खराब प्रदर्शनपछिको यो पहिलो बैठक थियो । 


ADVERTISEMENT

सन् २०२१ को विधानसभा चुनावमा पार्टीले राम्रो प्रदर्शन गर्ने अपेक्षा ममताले लिएको तृणमूलका एक वरिष्ठ नेताले बताए । पुराना नेताहरूलाई फेरि पार्टीमा ल्याउन प्रयास गर्नू भनी उनले कार्यकर्ताहरूलाई निर्देशन दिइन् । 

लोकसभा चुनावमा अपेक्षित परिणाम नआएपछि ममता बनर्जी सतर्क भएकी छन् र अहिलेदेखि नै विधानसभा चुनावको तयारीमा जुटेकी छन् । 

यसअघि जुन महिनाको १८ तारिखमा उनले तृणमूल पार्षदहरूको बैठकमा सम्बोधन गर्दै लाभार्थीहरूबाट लिएको कट मनी फिर्ता गर्न भनेकी थिइन् । उनले भनेकी थिइन्, ‘म चोरहरूलाई पार्टीमा राख्न चाहन्नँ । कारवाही गरें भने अर्को पार्टीमा उनीहरू प्रवेश गर्लान् । केही नेताहरू गरीबलाई आवास अनुदान उपलब्ध गराउन २५ प्रतिशत कमिसन मागिरहेका छन् । यस्तो काम रोक्नुपर्छ । तपाईंले पैसा लिनुभएको छ भने तत्कालै फर्काइहाल्नुस् ।’

एजेन्सी
 

असार २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार