सिभिल इन्जिनीयरिङमा डिप्लोमा गरेका 'दाह्री भाइ' : चिया बेचेरै मासिक ६० हजार !

साउन ४, २०७६

काठमाडौँ - नयाँ पुस्ताका एक युवक मिठो वास्नादार चिया उमालिरहेका थिए । चिया वास्नादार नै थियो भन्ने प्रमाण वरिपरी छाइरहेको मगमग वास्ना नै काफी थियो । प्लास्टिकका साधारण कुर्ची र स्कुटरका पुराना टायरमा सेवाग्राहीहरू चियाको स्वाद लिइरहेका थिए ।

स्थान - राजधानीको शान्तिनगर । पसल वा होटल भनेर छुट्टै सटर/कोठा छैन । एउटा डिपार्टमेन्टल स्टोरको  बाहिरी भाग साधारण छानाको मुनिपट्टि, ब्यानर र होर्डिङ बोर्डले बारबेर गरिएको छ । एउटा ग्याँस चुल्हो, चिया पसलको लागि चाहिने केहि गिलास र भाँडाकुँडा छन् ।


ADVERTISEMENT

एउटा कर्नरमा चिया पसलको होर्डिङ बोर्ड राखिएको छ । उक्त होर्डिङ बोर्डमा ‘दाह्री भाइको चिया पसल’ कालो मोटा अक्षरमा लेखिएको छ भने ‘परिश्रम गर्ने भनकै देशमा हो, ‘विदेश त हेर्न घुम्न पो जाने हो !' भनेर तल मसिनो अक्षरमा लेखिएको छ । पसलको आफ्नै भित्तो त छैन, तर डिपार्टमेन्टसँग जोडिएको भित्ता ‘म उद्यमशिलताको विकास गरी देशलाई सघाउँछु, खालि छैन यहाँ, विहान उठी चिया खुवाई देशका युवा जगाउँछु’ जस्ता मन आर्कषित गर्ने नाराहरु लेखिएका छन् ।

‘भाइ मलाई पनि एक कप दुध चिया बनाउनुस न !' यो आवाज सुन्नेबित्तिकै उनी भटाभट चिया उमाल्न लागे । चिया अन्यत्र जस्तो थिएन । नितान्त फरकपनाको मिठास र वास्नाले भरिएको थियो ।

चियापसलेसँग भलाकुसारी गर्ने समय छैन, उनी चिया पकाउन र बाँड्नमै व्यस्त छन् । ग्राहकहरू अलि कम भएको मौका कुरेर गरिएको छोटो भलाकुसारीपश्चात थाहा लाग्यो, उनी बाजुराका रहेछन् । उनको वास्तविक नाम राजेश रेग्मी हो तर उनलाई सबैले दाह्री भाइ भनेर चिन्ने रहेछन् ।

उमेरले भर्खर २५ वर्ष टेकेका दाह्री भाइ नयाँ पुस्ताको शील­स्वभाव र बोलीचाली शैलीका । चियाको प्रशंसा गर्न केही शब्द खर्चिएपछि उनले भने, 'यही स्वादले सबैले माया गरेका छन् । आमाले चिया बनाएको देखेको थिएँ, कहिलेकाहीं आमाले चिया पकाउन लगाउनुहुन्थ्यो, त्यतिबेलै सिकेको चिया बनाउन, छुट्टै तालिम चाहिँ लिएर जानेको होईन,' उनले भने ।

८ कक्षासम्म काठमाडौँमै होस्टलमा बसेर पढेका रेग्मी १० कक्षासम्म फेरी बाजुरा गाउँमा नै गएर पढेका रहेछन् । माध्यमिक तहको पढाइ सकिएपछि सिभिल ईन्जिनियरमा डिप्लोमा उत्तिर्ण गरेका रहेछन् । ‘त्यसपछि मलाई पढिरहन त्यति रुचि भएन,' उनले भने, 'पढ्न छोडेर कन्सल्टेन्सिमा एक-डेढ बर्ष जागिर गरें । जागिरमा पनि त्यति मन बुझेन अनि त्यो पनि छोडेर बसें ।’

जागिर छोडेपछि दाह्री भाइले काठमाडौमा नै एक वर्षसम्म बेरोजगार भएर बिताए । उनलाई पढ्न र जागिर दुवैमा त्यति मन लागेन । ‘यस्तै हो जीवनमा कहिलेकाहीं यसरी पनि बित्छ, सबैको जिन्दगीमा यस्तो हुन्छ जस्तो लाग्छ । अलिअलि पैसा आमाले पठाउनुहुन्थ्यो, एक बर्ष सम्म त खाने र सुत्ने गरेरै बिताएँ,' रेग्मीले आफ्नो अनुभव सुनाए ।

आफ्नो चिया पसलमा ‘परिश्रम गर्ने भनकै देशमा हो, विदेश त हेर्न घुम्न पो जाने हो’ नारा लेखेका राजेशलाई काम गर्न विदेश जाने विषय कत्ति मन पर्दैन । त्यसैले वर्षौसम्म बेरोजगार भएर बस्दा पनि उनले कामका लागि विदेश जाने सोचेनन् । उनी भन्छन्, ‘मलाई सधैं नै यहीं केही गर्नुपर्छ भन्ने लाग्थ्यो ।’

‘बेरोजगार भएर बस्दा नजिकै बस्ने चीर परिचित भाउजुले रेस्टुरेन्ट चलाउनका लागि मेरो सहयोग माग्नुभयो,' दाह्री भाइले भने, 'मैले हुन्छ भनें । रेस्टुरेन्ट त शुरू भो, म फुर्सदमा बसेको मान्छे उहाँलाई सहयोग गर्ने हिसाबले दिनहुँ काम गर्न थालें । तर उहाँको पारिवारिक समस्या भयो र १५ दिनमा नै रेस्टुरेन्ट छोड्नुपर्ने भयो । अनि मैले शुरू गरें यहीं ‘दाह्री भाइको चिया पसल’ ।’

दाह्री भाइले चिया पसल शुरू गरेको ६ महिना जति भो । अहिले उनको चियाको स्वाद र नाम छुट्टै पहिचानसहित ब्राण्डिङ हुँदै गएको छ । उनका अनुसार उनले अब यो चिया पसललाई धेरै ठाउँमा बिस्तार गर्ने योजना बनाएका छन् ।

‘यो ठाउँ मानिसको त्यति धेरै चाप हुने ठाउँ पनि होईन,' उनले भने, 'तैपनि दिनमा चानचुन २ सय कप जति चिया बेच्छु ।' एक कप चिया बेच्दा औसतमा १० रुपैयाँ जति फाइदा हुँदा दैनिक २ हजार जति कमाइ हुने दाह्री भाइले बताए । उनले भने, ‘मम/चाउमिन पनि बनाउन आउँछ तर अहिले चिया मात्रै बेच्छु ।’ उनले ठाउँको भाडा महिनामा ५ हजार तिर्छन् ।

दाह्री भाइ भन्छन्, ‘विदेश जाने भनेपछि आफन्तले जति पनि पैसा दिन्छन् तर यहीं केहि गरौं भन्ने हो भने कसैले सहयोग गर्दैनन् । अहिले यहाँ मेरो खासै लगानी छैन । लगानीको तुलनामा राम्रो कमाइ राम्रो छ ।'

एउटा सिभिल ईन्जिनियर पढेको मान्छेले चियापसल गर्ने ? यो पेशा त पढाइ अनुसार त मिलेन नि भन्ने प्रश्नमा उनी शालीन भएर उत्तर दिए, ‘हो तर मेरो इच्छा नै यसमा भो, भोलिको कुरा कसलाई के थाहा ? मैले नै अहिले दाह्री भाई बन्ने कुरा पहिला सोचेको थिईन ।'

पढाइमा खासै जान्ने नभएको दाह्री भाइले आफैं स्वीकार्छन् । ‘पढाइमा म साह्रै जान्ने पनि होइन र नजान्ने पनि होइन, मध्यम खालकै थिएँ, तर खै किन पढाइ यहीं सकिएजस्तो लाग्यो । अब यहीं  रमाएको छु । चिया पसललाई नै बिस्तार गर्ने योजना छ ।'

बेरोजगार भएको भन्दै विदेश जाने नयाँ पुस्ताका युवाहरूका लागि ‘उही काम नयाँ तरिकाले प्रस्तुत गर्ने’ दाह्री भाईको कामको तरिका र उनको पसलभरि लेखिएका नाराहरु प्रेरणा बन्न सक्छन् ।

साउन ४, २०७६ मा प्रकाशित

नारायण अर्याल

पत्रकार अर्याल लोकान्तर संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार