यूट्युबरहरू पत्रकार हैनन् र ?

साउन १९, २०७६

पछिल्लो समय यूट्युबका सामग्रीहरूसँग केही नाम चलेका पत्रकार असन्तुष्ट देखिएका छन् । उनीहरूको तर्क छ– यूट्युबरहरूले पत्रकारिताको बदनाम गरे । पत्रकारहरू मात्र हैन केही कलाकारहरू, नाट्यकर्मीहरू, रंगकर्मीहरू पनि यूट्युबरहरूसँग त्यति खुशी छैनन् । केही समयअघि मात्रै आफ्नो चलचित्रको रंगभेदी समीक्षा गरेको भन्दै मिलन चाम्स नाम गरेका एकजना निर्देशकले प्रनेश नाम गरेका एकजना यूट्युबरलाई प्रहरी हिरासतको हावा खुवाएका थिए । यस विषयले चर्चा पनि पायो । अन्ततः विवाद साम्य भयो । 

हालसालै चर्चित नायिका स्वस्तिमा खड्काले यूट्युबरलाई पत्रकार नमान्ने बताएकी छन् । आफूले भनेको कुरालाई बंगाएर यूट्युबरहरूले शीर्षक बिगारेर भ्युज बटुल्ने गरेको उनको आरोप थियो । उनले जे जस्तो आरोप लगाएपनि धेरै दर्शकहरू चलचित्र हलसम्म पुग्ने कारण भनेको यूट्युबमै देखिने गरेका प्रमोसन, समीक्षा, गीत र ट्रोलका कारण हो भन्ने एक यूट्युबरको बुझाइ छ । नाम नखुलाउने शर्तमा ती यूट्युबर भन्छन्, ‘स्वस्तिमाको भाउ बढेको हो, त्यसैले यूट्युबरलाई मान्छे गन्न छाडिन् । एक वर्षअघिसम्म चलचित्रको प्रमोसन छ, तपाईं आइदिनुपर्‍यो भनेर दिनमा पाँचचोटि हामीहरूलाई फोन गर्ने उनी नै हुन् ।’ 


ADVERTISEMENT

तपाईंहरू पत्रकार हो कि हैन भन्ने प्रश्नमा एक यूट्युबरको जवाफ छ– ‘हामी पत्रकार हौं कि हैनौं भन्ने प्रश्न खासै ठूलो हैन । हामी के गर्छौं यूट्युबमा भन्ने मुख्य प्रश्न हो । यूट्युब भनेको मल्टीमिडियाको प्ल्याटफर्म हो, यसभित्र हरेक चीज छ ।’ 

उनले थपे, ‘अब मेरो कुरा गर्नुहुन्छ भने म इन्टरटेनर मात्र हो, केवल दर्शकलाई रमाइलो गराउने मान्छे । मैले आफूलाई पत्रकार हुँ भन्दै हिँडेको छैन, हिँड्नु पनि छैन । मेरो रुचि भिडियो ब्लग हो । आफ्नै यूट्युब च्यानलमा अपलोड गर्छु । एचडी टीभीमा भिडियो देखाउनेहरू मात्रै पत्रकार हुन् भने पनि मेरोतर्फबाट ओके छ त ! तर केही मित्रहरूले यूट्युबमा पत्रकारिता गर्नुभएको छ भने त्यो पनि नजायज हो जस्तो लाग्दैन ।’  

उता अनामनगरको बेकरीमा चिया पिउँदै गरेका एक पत्रकार मित्रको दुखेसो थियो– यूट्युबरहरूका कारण हाम्रो बदनामी भयो, पत्रकार भन्न पनि लाज भइसक्यो । उनले आक्रोशित हुँदै भने, ‘एउटा क्यामरा र बूम बोक्दैमा पत्रकार भइन्छ र भन्या ? पत्रकारिताको इथिक्स, नर्म्स, भ्यालु केही छैन ?’  तर पत्रकार हुनकै लागि कुन मिडियामा कस्तो प्ल्याटफर्ममा कस्ता सामग्री राख्नुपर्छ भन्ने चाहिँ उनले खुलाएनन् । उनको यति मात्रै भनाइ थियो– ‘यूट्युबरहरूले देशकै बदनाम गरे ।’ पत्रकारहरूको टिप्पणी मात्रै यूट्युबरहरूका लागि न्यायोचित नहोला । कैयौं दर्शकहरूले पनि नेपाली यूट्युबरहरूको कन्टेन्टमाथि सामाजिक सञ्जालमा टिप्पणी गर्ने गरेका छन् । रबिन खड्का नामका एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्, ‘छवि र शिल्पाको घरयासी झगडाबारे पत्रकारिताको नाममा यूट्युबरहरू नांगै नाचिरहेका छन्, के यसलाई सरकारले नियन्त्रण गर्नुपर्दैन । के निजी कुरालाई बढाई चढाई उछाल्न मिल्छ, जता हेर्‍यो उतै छवि, शिल्पा । अब पागल हुन मात्रै बाँकी ।’ 

भिडियोको साउन्ड क्लीयर सुनाउन बूम नसमातेर के समात्ने त ? कि बुम समात्ने अधिकार कुनै निश्चित टेलिभिजनका मानिसहरूलाई छ । यूट्युबरहरू पत्रकार हैनन् भने यूट्युब चाहिँ हो के त ? हामीले यो बुझ्नुपर्छ ।

हुन पनि केही हदसम्म नेपाली यूट्युबरहरूको फुर्तीफार्ती बढी नै छ । अघोरी बाबाको प्रवचन सुन्न, हेर्न थालिएको महिनौं भयो तर अहँ यूट्युबरहरू थाकेका छैनन् । झन् नयाँ नयाँ किस्सा लिएर ती उपस्थित हुन्छन् । यूट्युबरहरूले हत्यारा एकैदिनमा पत्ता लगाइदिन्छन्, बलात्कारीको पहिचान गरिदिन्छन् । छवि र शिल्पाको विवाद पर्दाफास गरिदिन्छन् । उनीहरू शीर्षक राख्छन्– हेर्नुहोस् अघोरी बाबाको अंग्रेजी गीत, खैरेहरू नै दंग परे । अर्को शीर्षक हेर्नुहोस्– अघोरी बाबाले मार्सल आर्ट देखाएको, ब्रुस ली कट हानेको । अझ अर्को– आखिर किन भाउजुको हत्या गरे देवरले, यस्तो रहेछ भित्री रहस्य । अनि अर्को शीर्षक– प्रियंका कार्कीको बेडरूममा कसको फोटो देखियो, आदि आदि । 

अझ हिजो आज त यो पंक्तिकारको पनि चर्चा छ यूट्युबमा ।  यूट्युबरहरू लेख्छन्– दिल निशानी मगरले कार्यक्रममै हातपात गर्न खोजेपछि, दिल निशानी मगर कार्यक्रममा नै उठेर हिँडेपछि के भयो ? यस्तै यस्तै । 

यूट्युबभन्दा अगाडि सामाजिक सञ्जाल फेसबूक, ट्विटरसँग केही मूलधारका मानिस हांै भन्नेहरू संकीर्ण थिए । कमसल मानिसहरू सामाजिक सञ्जाल खास गरी फेसबूक चलाउँछन् भन्ने उनीहरूको धारणा थियो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसम्मले निर्वाचनमा सामाजिक सञ्जालको कसरी भरपूर प्रयोग गरे भन्नेबारे जगजाहेर छ । अझ ट्रम्पले त ट्विटरमार्फत विश्व हल्लाउने गर्छन् र धेरै मिडियाहरूको समाचार सुनियोजित तथा फेक भएको भन्दै ट्विटरबाटै प्रतिवाद गर्छन्, आरोप लगाउँछन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सामाजिक सञ्जालमार्फत फेक ब्लग तथा समाचार पोर्टलहरू भाइरल भएको गुप्तचरको निष्कर्ष थियो ।

भारतमा पनि मोदीले सामाजिक सञ्जालको अत्यधिक उपयोग गरे । हजारौं पेजहरू निर्माण भए जो निर्वाचनका बेलामा मात्रै अत्यधिक सक्रिय रहे, तिनको बूस्ट गरियो र प्रभाव विस्तार गरियो । नेपालमा पनि रवीन्द्र मिश्रको पार्टीले आफ्ना निर्वाचन कन्टेन्टहरू फेसबूकमा बुस्ट गर्ने गरेको थियो । यसरी सामाजिक सञ्जालहरूको शक्ति नेपालमा पनि कम रहेनछ भन्ने पुष्टि भयो । अहिले आँखाको ज्योति हराउँदै गएका पाका पत्रकारहरू पनि कनिकुथी फेसबूक, ट्विटरमा उपस्थिति जनाउन बाध्य छन् । 

यूट्युबकै कुरा गरौं । आजभोलि धेरै वार्ता तथा बहसहरू यूट्युबमै देखिने गरेका छन् । खासगरी टेलिभिजनमा झुण्डिएर बस्ने समय आजका व्यस्त मानिसहरूलाई नभएका कारण यूट्युब उनीहरूका लागि सूचनाको बलियो माध्यम भएको हुनसक्छ आजभोलि कुनै सामग्री टेलिभिजनमा हेरेको भन्दा पनि यूट्युबमा हेरेको भन्नेहरू धेरै छन् । विदेशमा रहेका नेपालीहरूको लागि त यूट्युब वरदान नै साबित भएको छ । समाचारको लागि मात्रै नभई मनोरञ्जनको साधन पनि यूट्युब भएको छ । घर घरकी कहानी यूट्युबमा आएको छ । टेलिभिजनहरू पनि ती एचडी हुन कि जे सुकै हुन् आफ्नो उत्पादनका कार्यक्रमहरू यूट्युबमा नराखी सुखै छैन । बरू यूट्युबका भ्युजका कारण लोकप्रियताको मापन सजिलोसँग भएको छ । जस्तो कि प्रधानमन्त्रीसँग प्रश्न (हाल बन्द भइसक्यो) कार्यक्रम खासै लोकप्रिय हुन सकेन । यूट्युबमा यो कार्यक्रम भन्दा त्यही अघोरी बाबाको दर्शन धेरैले मन पराए । 

सबै यूट्युबर पत्रकार हैनन्, सबै पत्रकार यूट्युबर हैनन् । पेशा कसले के अंगालेको छ, त्यस अनुसार मानिसहरूले उसलाई चिन्ने हो । कर्म अनुसार उसको पहिचान बन्ने हो ।

अहिले पुराना दिग्गज पत्रकारहरूको टेलिभिजन शो हरू यूट्युबमा खासै मन पराइएको छैन । भ्युजको आधारमा त्यो भन्न सकिन्छ । अब सबै कमसल अनि चेतना नभएका मानिसहरूले मात्रै यूट्युब त हेर्दैनन् होला । हिजो कुनै म्यूजिक भिडियो निर्माण तथा प्रमोसनका लागि कुनै टेलिभिजन गुहार्नुपर्ने बाध्यता थियो । आर्थिक रूपमा त्यो राम्रो पनि थिएन । जस्तो कि नाम नै लिऊँ, ईमेज टेलिभिजनमा लोकगीतहरूको प्रमोसन आएन भने त्यो गीत असफल जस्तै हुन्थ्यो । तर आज परिस्थिति फेरिएको छ । प्रत्येक कलाकारको आफ्नै यूट्युब च्यानल छ । तिनको दर्शकसँग सीधा सम्पर्क छ । गित कस्तो भयो, भिडियो कस्तो भयो भनी एक कलाकार कमेन्टको रूपमा सीधा राय लिन सक्छ । अझ यूट्युब स्ट्रीमिङबाट लाइभ पनि हुनेगर्छ । अब यस्तो अवस्थामा ईमेज टेलिभिजनले आफ्नो बिरासत जोगाउन यूट्युबरहरूसँग प्रतिस्पर्धा गर्नैपर्ने हुन्छ । भ्युज र ट्रेन्डिङको आधारमा कलाकारका सिर्जनाहरूले चर्चा पाइरहकै छन् । 

यूट्युबरहरू पत्रकार हुन् कि हैनन् ?

पहिलो कुरा त यूट्युबलाई ग्लोबल एक्सेस भएको मल्टीमिडिया प्ल्याटफर्मको रूपमा बुझ्नुपर्छ । इन्टरनेटको जमानामा हरेक व्यक्ति आफैंमा पत्रकार जस्तो भएको छ । सूचना, विचार, बहसहरू सामान्य मानिसहरूको हातमा पुगेको छ । आईटी रिभोलुसनले संसार एक गाउँमा परिणत भएको छ । फलतः अब सूचना कसैले दिए मात्रै पाइने अद्भुत रहस्यका रूपमा बाँकी रहेन । सूचना नागरिकको पहुँचमा गयो । यूट्युबका कारण के भयो भन्दा भिडियो ब्लगहरू स्वतःस्फुर्त बन्न थाले । हो, यिनमा कमजोरी छन्, अश्लीलता छन् । तर राष्ट्रिय स्तरमा ख्याति कमाएका भनिएका टेलिभिजन प्रस्तोताहरू भन्दा धेरै सक्षम प्रस्तोताहरू यूट्युबमा देखिएका छन् । तिनमा अध्ययन पनि छ । पंक्तिकारले एउटा लेख नै लेखेको थियो– चलचित्र हलमा भन्दा टिकटकमा राम्रा कलाकार छन् भनेर । अब यो भन्नुपर्ने हुन्छ, टेलिभिजनमा भन्दा यूट्युबमा राम्रा प्रस्तोता छन् । शायद यसै कारण पनि हुनसक्छ, नेपालमा टेलिभिजनको भविष्य समाप्त भइसक्यो भन्ने एकथरी विश्लेषण आउन थालिसक्यो । जस्तो कि अन्लाइन मिडियाका कारण छापा मिडियाको प्रभावकारिता निकै कम देखिन थालिसक्यो । 

यूट्युबरहरू सबै पत्रकार हैनन् । यूट्युबमा ब्लग भिडियो राख्न पत्रकार हुनैपर्छ भन्ने आचारसंहिता पनि छैन होला । उसो त बरू पत्रकारिताको आचारसंहिताले डकुमेन्ट्री बनाउने, स्तम्भ लेख्नेलाई पनि पत्रकारको पगरी गुथाएको छ । यूट्युब त झन् एड्भान्स भइसक्यो । नयाँनयाँ प्रतिभाहरूको जन्म यूट्युबकै कारण भएको छ । सिन्डिकेट चलाएर केहीलाई मात्र कवि, लेखक, कलाकार, रंगकर्मी देख्ने जत्थाहरूको साम्राज्य धुलिसात् छ । यसकारण पनि उनीहरू यूट्युबरसँग जलेका भएका हुन सक्छन् । पछिल्लो समय धेरै प्रतिभाहरू यूट्युबबाटै उदाएका छन् । केही नयाँ चीज आयो भने यूट्युबमा हेरेको भन्ने छ तर के सबै यूट्युबरले पत्रकारिता नै गरिररेका छन् त ?

त्यस्तो हैन । यो प्रश्न नै गलत हो । हामीले बुझ्नुपर्ने के हो भने पत्रकारिता गर्नकै लागि यूट्युब बनाइएको हैन । संसारको ठूलो हिस्सा केवल मनोरञ्जन चाहन्छ । युट्युब भनेको मल्टीमिडिया हो । 

यूट्युबरहरू मनोरञ्जन दिनका लागि काम गर्छन् । कन्टेन्ट मन नपरे नहेरौं । रुचिका विषय फरक हुन्छन् । अब केही यूट्युबमै पत्रकारिता गर्छन् भने पनि त्यो के नौलो कुरा भयो र ? गर्न नहुने भन्ने छ र ? बरु एक्सेसका दृष्टिले, पहुँचका दृष्टिले यूट्युब पत्रकारिता धेरै राम्रो हो । यूट्युबमा बोल्नेहरू सबैलाई पत्रकार देख्नु दोषी चश्माको करामत हो । संकीर्ण सोच हो । अब भिडियोको साउन्ड क्लीयर सुनाउन बूम नसमातेर के समात्ने त ? कि बुम समात्ने अधिकार कुनै निश्चित टेलिभिजनका मानिसहरूलाई छ । यूट्युबरहरू पत्रकार हैनन् भने यूट्युब चाहिँ हो के त ? हामीले यो बुझ्नुपर्छ । यूट्युब भिडियोहरू राख्न मिल्ने बैंक हो । आउनुहोस् खाता खोल्नुहोस्– भिडियो राख्नुहोस् ।

अब यूट्युबको कन्टेन्टमा समस्या छ भने यूट्युबले नै सम्बन्धित च्यानल बन्द गरिदिन्छ । यूट्युब सबैभन्दा प्रभावकारी टर्म्स एन्ड कन्डिसन भएको मल्टीमिडिया हो । चोरेको, साभार गरेको, अश्लील सामग्री राखेको यूट्युबले आफै थाहा पाइहाल्छ । झण्डा देखाइहाल्छ । दुःख गरेर राम्रो भिडियो सामग्री राख्नेहरूलाई यूट्युबले भ्युजका आधारमा पैसा पनि दिने गरेको छ । प्रोत्साहनका लागि यूट्युब लोगो पनि ठेगानामा पठाउने गरेको छ । बरू ठूला सञ्चारगृहका मालिकहरूले पत्रकारलाई उचित पारिश्रामिक दिँदैनन् तर यूट्युबले दिन्छ । यस्तो समाचार पनि आएको थियो– यूट्युबकै कारण ६ वर्षीया बालिका अर्बपति बनिन् किनभने उनको सामग्री अर्बौंले हेरेछन् । नेपालमा पनि मासिक ५ लाख कमाउने यूट्युबरहरू छन् । यस्ता प्रोफेसनल यूट्युबरहरूले आफ्नो च्यानलको अहित हुने गरी सामग्री राख्दैनन् ।
यसकारण सूचनाको क्षेत्रमा दिनरात काम गर्ने यूट्युबरहरूलाई पत्रकारको पहिचान दिन नमिल्ने हैन ।

पंक्तिकारको दृष्टिमा यूट्युब मल्टीमिडिया हो र यूट्युबरहरू धेरै मनोरञ्जनका, ज्ञानका अनि सूचनाका माध्यम हुन् ।

हो, समस्या छन् । विकृतिहरू छन् । समस्या र विकृतिहरू त कहाँ नै छैनन् र ? भारतीय टेलिभिजनहरू हेर्नुहोस् त ! रमिता जस्तो देखिन्छ । नेपालकै कुरा गर्ने हो भने धनीका सूचना लुकाउने प्रचलन छ । कुनै अमुक पार्टीको पत्रकार भएर चिनिन पाउँदा गर्व मान्ने देश हो यो । पत्रकार आफू समाचार लेख्दैन अरूको समाचारको आलोचना गरेर बस्छ । आफू केही गर्दैन, अरू पत्रकार हो कि हैन भन्ने चिन्ता गर्छ । यस्तो देश हो यो । सबै दर्शकहरूले यूट्युबरलाई पत्रकार भनेका पनि छैनन्, सबै यूट्युबरहरूले आफूलाई पत्रकार हौं भनेका पनि छैनन् । केही होलान्, ती साँचो अर्थमा पत्रकार होलान् । यूट्युबमा काम गर्दैमा स्तर घट्ने हो भने चोकचोकमा एचडी टेलिभिजन खोलिनुपर्‍यो । भिडियो ब्लग गर्न चाहनेहरूले काम पाउन पर्‍यो । सिन्डिकेट हुनुभएन । यूट्युब मल्टीमिडिया हैन भने टेलिभिजनका सामग्रीहरू यूट्युबमा राख्न पनि भएन ।

अन्तिममा, सबै यूट्युबर पत्रकार हैनन्, सबै पत्रकार यूट्युबर हैनन् । पेशा कसले के अंगालेको छ, त्यस अनुसार मानिसहरूले उसलाई चिन्ने हो । कर्म अनुसार उसको पहिचान बन्ने हो । पंक्तिकारको दृष्टिमा यूट्युब मल्टीमिडिया हो र यूट्युबरहरू धेरै मनोरञ्जनका, ज्ञानका अनि सूचनाका माध्यम हुन् । नयाँ जमानाका सूचनाका सिपाही हुन् ती । कोही भने पत्रकार पनि हुन् । ती पत्रकारिता नै गर्छन् । बरू स्वतन्त्र पत्रकारिता गर्छन् ती । सिन्डिकेटको जरा गाडेर बसेको मिडियामा पावर र पहुँच नहुनेहरूका लागि यूट्युब आफैंमा पावर र पहुँच हो । आज दुनियाँ यूट्युबमा झुमेको छ । एक घण्टा यूट्युब शटडाउन हुँदा संसार अँध्यारो जस्तो भएको छ । आज रोगीहरू औषधि यूट्युबबाट हेरेर लिने गर्छन्, व्यापारीहरू यूट्युबबाटै नाफा कमाउने उपाय सिक्छन्, कूकहरू यूट्युबबाटै नयाँ परिकार बनाउन सिक्छन् । प्रवचन, योग, मेडिटेसन सबै यूट्युबमै प्राप्त छ । बाबा रामदेवदेखि ओशोसम्मको साधना यूट्युबले सिकाएको छ । सात समुद्रपारिको विदेशी नागरिक यूट्युबकै सामग्री हेरेर नेपाल घुम्न आएको छ । विश्व पर्यटन यूट्युबको हिस्सा भएको छ । 

यसरी यूट्युबमा सारा ब्रह्माण्ड नै अडिएको छ, पत्रकारिताको के कुरा भयो र ?
 

साउन १९, २०७६ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस