पश्चिम तराईको गुरही पर्व : सांस्कृतिक बिस्तारसँगै छचल्किदै भाइबहिनीको माया

साउन २०, २०७६

धनगढी- पश्चिम नेपालको थारु समुदायमा मंगलबार गुरही (गुरिया) पर्व को उल्लास छाएको छ । 

नाग पञ्चमीको दिन मनाइने सो पर्वको उल्लास पश्चिम नेपालका जिल्लासँगै राजधानी काठमाडौंमा समेत निकै उल्लास बढेको हो । विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै पछिल्लो समय काठमाडौंमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको छ ।


ADVERTISEMENT

थारु विद्यार्थी सभा काठमाडौकी सहसयोजक प्रेमा चौधरीले मुलुकको संघीय राजधानीमा बसोबास गर्दै आएका थारुहरु आपसमा खुसयाली सटासाट गरी पर्व पनाउँदै आएको बताइन् । उनले झाँकीसहित पर्यटनबोर्ड भृकृटी मण्डपमा गुरही मनाइरहेको जानकारी दिइन् ।

गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन थारु समुदायमा रहदै आएको छ । पर्वमा भाई बहिनीको उपस्थिथि विना अपूरो हुने हुँदा यस पर्वले दाजुभाईबीचको माया प्रेम थप प्रगाढ बनाउँदै आएको थारु बुद्धिजीवीहरुको भनाइ छ ।

पछिल्लो समय गुरही पर्वमा गैरथारु समुदायले पनि थारु पहिरनमै सजिएर सहभागिता हुनथालेपछि त झनै उक्त पर्वमा सुनमा सुगन्ध नै थपिएको हो ।

गुरही भनेको के हो?

गुरही भनेको एक किसिमको गाइने किरा हो । यो पर्वमा कसैले गुरही–गुरहा, कसैले केटी–केटा वा दुलहा–दुलहीको प्रतीकको रुपमा कपडाको पुतला, खेलौना बनाउँछन् । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ । त्यही गुडिया शब्द थारु भाषाको उच्चारणमा गुरिया हुन पुगेको थारु नागरिक समाज कैलालीका संंयोजक दिलबहादुर चौधरी बताउँछन् ।

हुन त थारु भाषामा गुरिया भन्नाले मोतीमालालाई जनाउने गर्दछ । तर यो पर्वमा कपडाको पुतला, खेलौना प्रयोगको कारणले गुडियाबाट नै गुरिया हुन पुगेको स्पष्ट हुन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व भन्ने गरिन्छ ।

पर्वमा के–के गरिन्छ ?

नागपञ्चमीको दिनमा मनाइने यस पर्वमा थारु समुदायका घरहरुमा खुर्मा, बरिया (पुरीजस्तो) जस्ता परिकार तेलमा पकाइने गरिन्छ । घर–घरमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियतअनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटी र महिलाहरुले कपडाका रंगीचंगी टुक्रा चिरकुटबाट पुतला बनाउने गर्दछन् ।

कसैले ती पुतलालाई गुरही (गाइने कीरा) मानी पिट्ने गर्दछन् भने कसैले बहिनीका अवगुण मानी पिट्ने गर्दछन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामग्री)को प्रयोगले सुन्दर, रंगीचंगी बनाइएको हुन्छ ।

ठूला केटा वा पुरुषले सोंटासँग खासै सरोकार राख्दैन्, उनीहरु गुरही (गुरिया) पिट्दा सामान्य केराका हरियो डाँठले पनि पिट्ने गर्दछन् । सूर्यास्त हुने बेलातिर केटी र महिलाहरु गुडिया (गुरिया) र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो र चौराहामा पुग्छन् ।

केटा र पुरुषहरु पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा लिई चौराहा (चौबाटो) पुग्छन् । गुरुवाले कुश राखी, मकैको भुजा, दारु, घुघरी चढाई पुजा गरिसकेपछि जम्मा भएका केटी र महिलाहरु गुरिया (गुरही) चौराहामा फाल्छन् र केटा र पुरुषहरु सोंटा, कोर्राले पिट्छन् ।

केटीहरु गुरिया (गुरही) फाल्ने बेला र केटाहरु पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।

कतिपय गाउँमा पिटिएका यी गुरिया (गुरही) सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।

यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । त्यसैले यसमा उनीहरुलाई सहभागी गराउनु अभिभावकहरु आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावक उनीहरुलाई बोकेरै सहभागी पनि गराउने गर्दछन् ।

गुरियारगुरही पिटिसकेपछि पिटेको सोंटा, कोर्रालाई ल्याएर मानिसहरु गोठमा वा घरमा राख्ने गर्दछन् । यसो गर्दा दुःख, कष्ट, रोग, ब्याध लाग्दैन, भूत, प्रेत, पिसाचको प्रभाव पर्दैन र घरपरिवारमा सुख, शान्ति हुन्छ भन्ने जनविश्वास छ ।

साउन २०, २०७६ मा प्रकाशित

लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस