मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
काठमाडौं – १३ औं महाधिवेशनमा पौडेल गुटबाट निर्वाचित महामन्त्री भएका डाक्टर शशांक कोइराला पार्टीमा कम बोल्ने नेताका रूपमा चिनिन्छन् ।
तर, उनी कतिपय विषयमा यसरी बोल्छन्, जुन उनको पदीय मर्यादाले दिँदैन । महामन्त्री भएपछि नै शशांकले 'नेतृत्व फेर्नुपर्छ' भन्न शुरू गरेका थिए । जबकि उनी आफैं पार्टीको महामन्त्रीजस्तो शक्तिशाली पदमा आसीन छन् ।
शशांकलाई महामन्त्री भइकनपनि आफ्नो अधिकार प्रयोग नगरेर कमजोर बनेको, पार्टीलाई माथि उठाउन कुनै प्रयास नगरेको आरोप लाग्ने गर्छ ।
डाक्टर शशांक कोइराला पार्टीभित्र चौंथो वरियतामा छन् । कांग्रेसभित्र दोस्रो वरियतामा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने त्यसपछिका उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदारपछिका नेता हुन् उनी ।
कांग्रेसभित्र निर्वाचित महामन्त्री अधिकारका हिसाबले सभापतिपछि दोस्रोमा हुन्छन् ।
कांग्रेसको संशोधित विधानले पार्टीको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने व्यवस्था गरेको छ । पार्टीको केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने गराउने जिम्मेवारी महामन्त्रीको हुने विधानमा उल्लेख छ ।
दैनिक कार्यसञ्चालनका लागि सभापतिलाई सहयोग पुर्याउने तथा महत्त्वपूर्ण विषयमा सभापतिलाई जानकारी र सुझाव दिने जिम्मेवारी पनि महामन्त्रीकै हो ।
नेतृत्वका दाबेदार शशांक !
अघिल्लोपटक महामन्त्रीमा निर्वाचित भएका शशांकले अहिले सभापतिको नेतृत्व दाबी गर्नु स्वाभाविक हो । तर उनी निकट कतिपय नेताहरूले बोल्न र आफ्नो कुरा राख्न नसक्नु उनको ठूलो कमजोरी भएको बताउँछन् ।
शशांक पछिल्लो समय लगातार ३ पटक निर्वाचित सांसद भए ।
संसद्मा उनको उपस्थिति कमजोर छ । ४८ पटक बसेको संसद्को अर्थसमितिको बैठकमा शशांक जम्मा ३ पटक उपस्थित भए ।
शशांक वैचारिक पक्षमा पनि कमजोर देखिन्छन् । नेपाली राजनीतिका शिखर पुरुष बीपी कोइरालाका छोरा भएपनि शशांकमा कांग्रेसलाई दिने खालको नयाँ विचार केही छैन ।
उनी कहिले हिन्दू राज्यतिर बहकिन्छन् भने कहिले नेपाली कांग्रेसले नै नेतृत्व गरेको २०६२/६३ सालको आन्दोलनको 'स्प्रिट' विपरीत बोल्छन् । विचार निर्माण र अभिव्यक्तिका हिसाबले शशांक पार्टीभित्र बलिया छैनन् ।
'मेरो इच्छा कांग्रेसको आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने हो,' गत साउन १५ गते राजधानीको अनामनगरमा खीर खुवाउने कार्यक्रममा उनले भनेका थिए, 'तपाईं युवा साथीहरूले साथ दिनुहुन्छ भन्ने अपेक्षा राखेको छु ।'
१३औं महाधिवेशनताका शशांकले आफूलाई कुनै पक्षमा ढालेनन् । 'तपाईं कसको गुटमा ?' भन्ने प्रश्नमा उनले भन्ने गर्थे, 'म गुट निर्माणमा लागें भने कांग्रेस कसले बनाउने ?'
सम्भवतः यही उत्तरले पार्टीभित्र लोकप्रिय नेताका रूपमा चिनिने अर्जुननरसिंह केसी र गगन थापा विरुद्ध उनले भारी मतका साथ महामन्त्रीमा विजय प्राप्त गरे ।
कुनै गुट–उपगुट निर्माण नगर्ने शशांकको त्यतिबेलाको दाबी अहिले फितलो भएको छ ।
१४औं महाधिवेशनको संघारमा उनीमाथि आफ्नो छुट्टै गुट निर्माण गर्न लागेको आरोप उनलाई लाग्ने गरेको छ । अहिले सभापति देउवा र वरिष्ठ नेता पौडेल दुवैको विपक्षमा रहेका शशांक 'कोइराला विरासत'माथि बढी भर पर्नुपरेको छ, नेतृत्वका लागि ।
यद्यपि विचार, बोली र संगठनमा कमजोर रहेका शशांकलाई कोइराला विरासतले मात्र 'वैतरणी तार्न' कठीन छ ।
कांग्रेस नेता दीपकुमार उपाध्याय शशांकको अहिल्यै नेतृत्वमा दाबी गर्ने समय नभएको टिप्पणी गर्छन् । ' उहाँ निर्वाचित महामन्त्री हो, विधानले दिएको अधिकारको प्रयोग नगर्ने, पार्टी अफिस नजाने जस्ता समस्या उहाँमा देखिन्छन्,' उपाध्याय भन्छन्, 'उहाँ शालीन र भद्र हुनुहुन्छ, विज्ञ पनि हुनुहुन्छ, बीपीको छोरा पनि हो तर उहाँमा पार्टीले छुट्याएको काम, कर्तव्य र अधिकार पालना नगर्ने समस्या देखिन्छ ।'
शशांकले पदीय दायित्व ग्रहण नगरेकै कारण सभापति देउवाले एकलौटी गर्ने गरेको आरोप उपाध्यायले लगाए । कांग्रेसको संशोधित विधान अनुसार महामन्त्री शशांकले दैनिक कार्य सञ्चालनका लागि सभापतिलाई सहयोग पुर्याउने तथा महत्त्वपूर्ण विषयमा सभापतिलाई जानकारी र सुझाव दिने जिम्मेवारी राम्रोसँग निभाउन नसकेको उपाध्यायको तर्क छ ।
न त शशांकले केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने–गराउने पहल नै गरिरहेका छन् ।
पार्टीभित्रका 'मुस्कान पासा'
शशांक पार्टीभित्र क्रिया र प्रतिक्रियाको राजनीति गर्नमा एकदम कमजोर मानिन्छन् ।
नेतृत्वका लागि बारम्बार आफ्नो दाबी पेश गर्ने गरेका भएपनि आफ्ना विपक्षीहरूले उठाएको प्रश्नको जवाफ दिन जरुरी ठान्दैनन् । पार्टीभित्रबाट आउने आलोचनाहरू उनले हाँसेर टार्छन् ।
यद्यपि उनको बोलीले कांग्रेसभित्र बेलाबखत तरंग सिर्जना भने गर्ने गरेको छ ।
गत सालको भदौमा उनले आफू र शेखर कोइरालामध्ये एकजना सभापति हुने ठोकुवा गरे ।
सभापति देउवाइतर मानिने शशांकले वरिष्ठ नेता पौडेलसँग सल्लाह नगरी आफूहरूलाई सभापतिको दाबेदारी प्रस्तुत गर्नुले पौडेल गुटमा हलचल नै पैदा भयो ।
त्यसपछि फागुनमा विराटनगरस्थित कोइराला निवासमा सुजाता कोइराला, शेखर कोइराला र शशांक कोइराला एउटै मालामा देखिए । आगामी महाधिवेशनमा कोइराला परिवारबाट कुनै एकजना सभापतिको दाबेदार हुन चाहेको स्पष्ट सन्देश उनीहरूले दिएका थिए ।
तर पार्टीभित्रकै आलोचकहरू भने शशांकलाई 'मुस्कान पासा'को संज्ञा दिन थालेका छन् ।
जे भनेपनि हाँसेर टार्ने शशांकको बानी भएकाले उनलाई मुस्कान पासा भन्न थालिएको एक नेताले लोकान्तरसँग बताए ।
नाम उल्लेख नगर्ने शर्तमा उनले भने, 'जेमा पनि हुन्छ, हुन्छ भन्दै हिँड्ने, कतिपय गम्भीर कुराहरू हाँसेर टार्ने बानीले गर्दा उहाँलाई पार्टीभित्रै मुस्कान पासा भन्न थालिएको छ । महामन्त्री भएको ४ वर्ष हुन लाग्यो, कुनै पनि ठाउँमा गएर कांग्रेसलाई यसरी अघि बढाउनुपर्छ भनेर प्रपोजल पेश गर्नुभएको छैन । अहिलेका पार्टी सभापति पनि सफल हुनुभएको छैन, न त महामन्त्री नै सफल हुनुभएको छ । दुवैको नेतृत्व कांग्रेसका लागि घातक छ अब ।'
काठमाडौं हुँदा कार्यालय आउनुहुन्छ– कांग्रेस कार्यालय सचिव
शशांक पार्टी कार्यालय नै नजाने गरेको आरोप लागेपनि कांग्रेस केन्द्रीय कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजाल भने त्यो मान्न तयार छैनन् ।
शशांक काठमाडौं हुँदा कार्यालय आइराख्ने गरेको जिकिर उनले गरे ।
'उहाँ काठमाडौं हुँदा प्रायः कार्यालय आइरहनुहुन्छ,' लोकान्तरसँग कुरा गर्दै रिजालले भने, 'उहाँले विधानले दिएको अधिकार प्रयोग नगरेजस्तो मलाई लाग्दैन, अर्को कुरा उहाँ पार्टीको कार्यक्रमका लागि पटक–पटक जिल्ला गइरहनुहुन्छ । त्यसकारणले पनि उहाँको उपस्थिति केही कमजोर देखिएको हो ।'
पार्टीभित्र दुईजना महामन्त्री भएको र दुईमध्ये जसले पनि बैठकहरूमा छलफलका लागि प्रस्ताव लैजान सक्ने रिजालले बताए ।
'उहाँ (शशांक) र अर्का महामन्त्री पूर्णबहादुर खड्का दुवै मिलेर बैठकका एजेण्डा र प्रस्तावहरू तयार गर्ने काम गर्नुहुन्छ,' रिजालले भने, 'तर बैठकमा कसले ती एजेण्डाहरू प्रस्तुत गर्यो भन्ने महत्त्वपूर्ण विषय होइन ।'
टिप्पणी-प्रतिटिप्पणीले मात्र नेतृत्वमा पुर्याउँदैन – शशांक
डाक्टर शशांक कोइराला भने अहिले पार्टीभित्रैबाट सल्लाह सुझाव लिने काम भइरहेकाले आलोचना या समर्थनप्रति त्यति ठूलो टिकाटिप्पणी नगरेको बताउँछन् ।
नेतृत्वका लागि कुनै न कुनै स्ट्याण्ड त चाहिन्छ होला नि भन्ने लोकान्तरको प्रश्नमा शशांकले भने, 'अलिअलि टिकाटिप्पणी त भइहाल्छ नि ! म त्यस्तो सबै कुरा हाँसी–हाँसी पचाउने पनि होइन ।'
आफ्ना बारेमा आएका कतिपय कुराहरूका सन्दर्भमा आफ्नो टिप्पणी रहने गरेको शशांकले दाबी गरे ।
'मेरो बारेमा आएका अलि–अलि कुराहरूमा मैले टिप्पणी गरेकै छु नि,' उनले भने, 'मेरो आफ्नै स्ट्याण्ड छ जुन तपाईहरूले देखिरहनुभएको छ । आलोचना-प्रतिआलोचना, टिप्पणी-प्रतिटिप्पणीले मात्र नेतृत्वमा पुर्याउने होइन ।'
शशांकले आफू अहिले सुझाव र सल्लाह लिने काममा जुटेको बताउँदै भने, 'अहिले म सबैसँग सल्लाह सुझाव लिएर मात्र अघि बढ्न खोजिरहेको छु । आन्तरिक छलफलमै छु । अहिलेको नेतृत्वले कांग्रेसलाई आगामी निर्वाचन जिताउने स्थिति नभएको कुरामा म कन्भिन्स्ड छु र कांग्रेसको आगामी नेतृत्वका लागि मैले छलफल, सरसल्लाह र सुझाव मागिरहेको छु ।'
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...