दलका ‘झोले’ले राख्दैनन् प्राध्यापक पदको गरिमा

साउन २३, २०७६

‘ह्वाट द बेस्ट कलेज टिचर्स क्यान डु’ नामक पुस्तकका लेखक केन वायन भन्छन्– प्राध्यापक पद विद्वत्ता र ज्ञान वितरण गर्ने प्राज्ञिक व्यक्तित्वहरूलाई विश्वविद्यालयले प्रदान गर्ने उपल्लो र असमानान्तर आभूषण हो । सोही भावनाको समकक्षता स्वरूप नेपालमा प्राध्यापकहरूलाई विशिष्ट श्रेणीको निजामती कर्मचारीसरह संवैधानिक मर्यदाक्रम दिइएको छ । विशिष्ट श्रेणीेको पद आफैंमा गौरवको विषय  हो । 

तर प्राज्ञिक हिसाबले ज्ञान तथा अध्ययनको अपार सागर मानेर दिइने प्राध्यापक पदको महानताको शाब्दिक व्याख्या गर्न त्यति सहज छैन । कुनै काम विशेषको अनुभव मात्र नभई ज्ञानको वितरण तथा अध्ययनको क्षेत्रमा अनन्त दख्खल प्रमाणित गरेबापत प्राप्त पदवी हुनाले प्राध्यापकहरूले अवकाशपछि भुतपुर्व लेख्नु वा भन्नुपर्ने बाध्यता छैन । एकपटक पद प्राप्त गरेपछि जोकोही पनि जीवनपर्यन्त प्राध्यापक कहलिन्छ र सोही हिसाबले सम्बोधित हुने गर्दछ । 
ज्ञान सदा उत्तिकै मूल्यवान रहन्छ र कहिल्यै अवकाश वा भुतपूर्व हुँदैन । ज्ञान, निष्ठा र सत्यका धरोहर प्राध्यापकहरू पनि भूतपूर्व हुँदैनन् । तसर्थ समाजले यसलाई दीर्घकालीन उपाधिको रूपमा अंगीकार गरेको छ । त्यही भएर प्राध्यापकहरूको गरिमा अन्तर्राष्ट्रिय हिसाबमा समेत उच्च छ ।


ADVERTISEMENT

विदेशका नियोग र दूतावासमा नियुक्त भई आएका अधिकांश उच्च पदाधिकारीहरू प्राध्यापनबाट आएका हुन्छन् । त्यहाँका प्राध्यापकहरू ज्ञान, सोच र विद्वत्ताका अपार स्रोत तथा सदाकाल प्रज्वलित दीप झैं प्रमाणित छन् ।

विदेशबाट कुनै प्राध्यापक नेपाल भ्रमणमा आउँदा सम्बन्धित देशका राजदूतावासका कर्मचारीहरू उनको सम्मानको सहजीकरण गर्न दिनरात खट्छन् । प्राध्यापकले कुनै व्यक्तिको बारेमा गरेको सिफारिश वा कुनै प्रकारका टिप्पणीहरूको महत्त्व बाँकी समाजका लागि निकै ठूलो हुन्छ । 

लेखक विला कार्थरको पुस्तक ‘द प्रोफेसर्स हाउस’मा प्राध्यापकलाई अति सम्मानित व्यक्तित्व देखाइएको छ । कुनै कुरामाथि बौद्घिक र तार्किक सत्यताको अन्तिम बुझाइ निर्माणमा प्राध्यापकहरूलाई आधार मानिन्छ । तर हामी भने विपरीत यात्रामा छौं ।

हाम्रो अवस्था

हाम्रो देशमा पनि प्राध्यापकको संख्या निकै विशाल छ । अहिले लगभग दुई हजारको हाराहारीमा प्राध्यापकहरू भएको अनुमान गरिन्छ । तर खारिएको ज्ञान र गहिरो अनुसन्धानबाट मिश्रित भएर आभूषित प्राध्यापक पदको सही मर्यादा र मानक थाम्न नसक्ने प्राध्यापकहरूको संख्या बढ्दो छ । 

प्राध्यापकको आदर र इज्जत राख्न सहयोग गर्ने विभिन्न आधारहरूमा स्वयं प्राध्यापकबाटै खिल्ली उडाउने काम हुने गर्छ । केही विश्वविद्यालयमा आफू विद्यावारिधि नै नगरी विद्यावारिधि गर्नेहरूलाई शोध निरीक्षण गर्ने/गराउने प्राध्यापकहरूको संख्या पनि देखिन्छ । आफैंले प्राप्त नगरेको उपाधिमा अरूलाई सुझाउनु र निर्देशन गर्नु प्राज्ञिकताको अनावश्यक र अतिरञ्जित बढोत्तरी हो कि घोर अवमूल्यन हो ? यसमा बहस हुनुपर्छ । 

राजनीतिक हस्तक्षेपका कारण अब अधिकांश प्राध्यापकहरू पनि समस्त देश र नागरिकका सिंगो प्राज्ञिक नेतृत्व तथा उचाइका पर्यायवाची नभई कांग्रेका प्राध्यापक, नेकपाका प्राध्यापक अनि फोरमका प्राध्यापक भएर समाजको अगाडि आउँछन् ।

अहिले अधिकांश प्राध्यापकहरू विषयको विज्ञता, सम्बन्धित क्षेत्रको ज्ञान, अनुसन्धानको अपारता अनि देशको विकासमा उनीहरूले पुर्‍याउन सक्ने योगदानको आधारमा भन्दा विभिन्न पार्टीका कार्यकताको रूपमा राजनीतिक नियुक्तिमा लालायित  छन् । आम विद्यार्थीलाई वैज्ञानिक र प्रायोगिक शिक्षा प्रदान गर्दै गुणस्तरीय मानव स्रोतसाधन तयार पारी देशको भविष्य समुज्ज्वल बनाउन लाग्नुपर्ने उनीहरूको दायित्व हो । आफूहरूले नेतृत्व गरेका निकायहरू र तिनमा आबद्घ मानिसको बौद्घिकता अनि न्यायसंगत व्यवहार निर्माण गर्दै  देशभर प्रशंसाको पात्र बन्नुपर्ने हो । 

तर हामीकहाँ विश्वविद्यालयको नेतृत्व गरेका प्राध्यापकहरू भ्रस्टाचारको माखोमा बेरिएका भेटिन्छन् अनि पदमा नरहेकाहरू चाहिँ कुनै समय हाजिर गर्नसम्म विश्वविद्यालय पुग्ने अनि लगत्तै निजी कलेजहरूतिर दौडने गर्छन् । हेलमेट प्राध्यापकको उपनामले चिनिन्छन् तिनीहरू । तर विश्वका अन्य देशमा प्राध्यापकको प्रतिष्ठा अनुपम र समर्पण सघन देखिन्छ । 

अनुपम उदाहरण 

प्राध्यापकहरू देशका गरिमा र शान हुन् । उनीहरूको विज्ञता र विद्वत्ताको परिमिश्रणबाट समाजमा अग्रगमन तथा विकासका नयाँ चिन्तनहरू प्रस्फुटन हुन्छन् । आज नासाका वैज्ञानिक प्राध्यापकहरू कसरी मंगलग्रहमा मानव बस्ती बसाउने भनेर अनुसन्धान गर्दैछन् । लन्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापकहरू समस्त युरोपको आर्थिक पुनर्जागरणलाई कसरी मजबूत गराउने भनेर नयाँ चिन्तन र विचार दिनमा व्यस्त छन् । सन् २००६ मा कोलम्बिया विश्वविद्यालयले गरेको अनुसन्धान ‘प्रोफेसिङ प्यासन’को निष्कर्ष छ– प्राध्यापकहरू सत्य विचार निर्माणका अन्तिम र अकाट्य सारथि हुन् अनि त्यस्ता प्राध्यापक भएका देशमा विकासको गति राम्रो छ । 

संसारमै सबैभन्दा धेरै संस्कृत विश्वविद्यालयहरू रहेको मानिने जर्मनीका केही प्राध्यापकहरू ज्ञानको खोजमा नयाँ क्षितिज केलाउन व्यस्त छन् । पूर्वीय दर्शनमा ज्ञानको विशाल भण्डार सृजना गरेका कौटिल्य तत्कालीन तक्षशिला विश्वविद्यालयका प्राध्यापक थिए । राज्यले सबै विषयमा अन्तिम धारणा बनाउन उनको सहयोग लिन्थ्यो । संसारका नामुद दर्शन तथा सामाजिक एवं आर्थिक परिवर्तनका सूत्रपात गर्नेहरू अधिंकाश प्राज्ञिक पृष्ठभूमिकै छन् । यस्ता नजिर भए पनि हाम्रा प्राध्यापकहरू चाहिँ कहिले र कस्तो आन्दोलन गर्ने, धर्नामा के हुने भन्नेमा मात्रै कार्यकम बनाउँछन् । केही घोषणा गरिहाले त्यो पनि आन्दोलन र विरोध वा अनशनकै मात्र हुन्छ । अब त स्थायी नियुक्ति समेत आन्दोलनबाटै मागिँदैछ र यसका लागि अनशन चलिरहेको छ । के यो बौद्घिकताको नांगो नाच हैन र ? 

संसारमा प्राध्यापकहरूको खुला राजनीतिक संगठन कहाँ छ ? के देशको प्राध्यापकले कुनै राजनीतिक विचारको प्रवक्ता बन्न र आफैं संगठन बनाएर राजनीतिको झण्डा बोक्न मिल्छ ? प्राध्यापकको गरिमा कुनै पार्टीको सदस्यताले रंगाउनु आवश्यक छ ? विश्वविद्यालयका पदाधिकारी नियुक्त हुने बेला आफ्नो योग्यता, दक्षता, विशेषज्ञता अनि कर्मशीलता जस्ता पक्षलाई आधार बनाउन छोड्दै विभिन्न पार्टीका कार्यकर्ता भएर पद लिन नैतिकताले दिन्छ ?

आत्मसात गर्नुपर्ने सत्य

आज कुनै पनि विश्वविद्यालयका प्रमुख नेतृत्वमा रहेका प्राध्यापकलाई समाजले उनीहरूको योगदान वा विशेषज्ञताको आधारमा चिन्दैन । त्रिभुवन विश्वविद्यालय काँग्रेसको, काठमाडौं विश्वविद्यालय पूर्वमाओवादी वा वर्तमान नेकपाको, पोखरा काँग्रेसको, लुम्बिनी र पूर्वाञ्चल फोरमसहितका दलको अनि मध्यपश्चिमाञ्चल चाहिँ पूर्व एमाले र वर्तमान नेकपाको भनेर व्याख्या गरिन्छ । अनि नाम चलेका प्रोफेसरहरू पनि अपवाद बाहेक कुनै न कुनै पार्टीको बिल्ला नलागी बसेका देखिँदैनन् ।

एउटा प्राध्यापक कक्षामा जाँदा अधिकांश समय कुनै दलको सदस्य वा कार्यकर्ताको रूपमा अनि उक्त दलमा पुग्दा चाहिँ प्राध्यापकको विपरीत हैसियतमा उभिन्छ र दुवै ठाँउमा असंगतपूर्ण काम मात्र सम्पादन हुन्छ । जब विज्ञताका प्रमुख धरोहर नै पार्टीका कार्यकर्ता बन्छन् अनि उनीहरूले ज्ञान, सीप, अनुशासन र आचरणभन्दा भाषण संस्कृतिमात्रै सिकाउनु सामान्य हो । त्यही भएर अधिकांश हाम्रा जनशक्तिहरू काम कम र कुरा बढी गर्ने खालका छन्, बजारमा खपत हुने खालका बन्दैनन् । 

अनि राजधानीका व्यावसायिक प्रयोजनका केही निजी वा उच्च माध्यमिक कलेजहरूले मनखुशी आप्mना शिक्षकहरूलाई प्राध्यापक, सहप्राध्यापक भनेर पद दिन्छन् । उक्त व्यक्तिहरू सार्वजनिक स्थानमा पनि आफूलाई सोही परिचय साथ चिनाउने लालसामा लाग्दा प्राध्यापकको गरिमामाथि हँसीमजाक भएको छ । अझ कुनै निजी शिक्षण संस्थाहरूले त आप्mना केही पदाधिकारीलाई डीनसम्म पनि भन्छन्, जुन विशुद्घ विश्वविद्यालयबाट मात्र विभूषित हुने उपाधिहरू हुन् । अनि प्राविधिक विषयहरू अध्ययन/अध्यापन हुने निजी संस्थाहरूले उनीहरूकोमा पढाउने मानिसलाई विभिन्न तहका प्राध्यापक पदहरू तोकरै प्रचार प्रसार गर्ने पद्घतिले पनि योे पद राणाकालमा शासकका छोराछोरीले जन्मनेबित्तिकै पाउने पदेन जर्नेल जस्तो हल्का बन्दैछ ।

प्राध्यापकहरूले आफ्नो गरिमालाई प्रश्नभित्र पार्दै लैजानु पनि देशको वर्तमान असभ्यता, असंगति, अपचलन तथा अधोगतिको एउटा सूचक पनि हो । 

जसले मेहनतसाथ विश्वविद्यालय जस्तो गौरवमय संस्थाबाट आफूलाई अध्यनन तथा अनुसन्धानका विभिन्न चरणहरूमार्फत योग्य देखाउँदै प्राध्यापक बनेका छन्, उनीहरूले आफ्नो नैतिकता बिर्सिएर पार्टी प्राध्यापक बन्दैछन् । अनि जुन संस्थाहरूले कसैलाई प्राध्यापकको विभूषण दिने हैसियत नै राख्दैन, उनीहरूले सबैलाई प्राध्यापक भनेर प्रचार गरिदिँदा यो पदको निकै खिल्ली उडेको छ । 

राजनीतिक हस्तक्षेपका कारण अब अधिकांश प्राध्यापकहरू पनि समस्त देश र नागरिकका सिंगो प्राज्ञिक नेतृत्व तथा उचाइका पर्यायवाची नभई कांग्रेका प्राध्यापक, नेकपाका प्राध्यापक अनि फोरमका प्राध्यापक भएर समाजको अगाडि आउँछन् । अनि आम नागरिकले उनीहरूको दक्षता र विश्वनीयतामाथि शंका गर्नु जायजै हुन्छ । पारिका प्राध्यापक निरन्तर अध्ययन, अनुसन्धान गर्छन्, बारीका प्राध्यापक चाहिँ लगातार आन्दोलन र अनशन गर्छन् । 

देशको प्राज्ञिक नेतृत्व पनि यसरी राजनीतिमा बाँडिएकै भएर अन्य पक्षको विकास नभएको हो । जब शिक्षा नै विभाजित र खण्डित हुन्छ तब अन्य कुराहरू एकीकृत हुनै सक्दैन । उच्चशिक्षा देशको मेरुदण्ड हो, प्राध्यापकहरू तिनका सबल सारथि हुन् । प्राध्यापकहरू इमान्दार र सबल नभए शिक्षा भत्किने मात्रै हैन, देशकै ढाड भाँचिन्छ ।

प्राध्यापकहरूले आफ्नो गरिमालाई प्रश्नभित्र पार्दै लैजानु पनि देशको वर्तमान असभ्यता, असंगति, अपचलन तथा अधोगतिको एउटा सूचक पनि हो । 
 

साउन २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार