स्कूल विभागले समृद्धिको खाका दिन सक्छ ?

भदौ १६, २०७६

अर्थतन्त्र ठीक त्यही बेला डामाडोल हुँदैछ, जुन बेला हामी वामहरू सत्तासिन छौं । रित्तो भकारी, थोत्रो दराज, फुटेको खुत्रुके, बाँजा बारी, रित्ता गाउँ, वृद्ध बाआमा र ससाना लालाबाला रहेको रुग्ण अवस्थाको मुलुकको चाबी बल्लतल्ल हाम्रो हातमा आइपुगेको छ । यसलाइ सकारात्मक रुपमा लिऔं ।

सम्भवतः निभ्न लागेको मुलुकको प्रतिष्ठाको दीयो हामीले नै जोगाउन सक्छौं भन्ने हेतुले यो राष्ट्रको बागडोर हाम्रो हातमा आइपुगेको हुनुपर्छ । यस चुनौतीको सगरमाथालाई हामी अवसरमा बदलौं ।


ADVERTISEMENT

स्कूल अफ थट संसारकै महत्त्वपूर्ण विषय हो । तपाईं कुन डाइमेन्सनबाट सोच्नुहुन्छ र सोच्ने डाइमेन्सनलाई कति चाँडो परिवर्तन गर्न सक्नुहुन्छ ? आवश्यकता र आकस्मिकतालाई तपाईं संयोजन गर्न कति खप्पिस हुनुहुन्छ र प्राप्त वस्तुलाई अझ समृद्ध बनाउन तपाईं कति चाँडो मानसिक रुपमा तयार हुनुहुन्छ ? यो नै तपाईंको गतिशिलताको रहस्य हो । यो तपाईंको अध्ययनको शैली, दायरा ,सामाजिक संरचना र अझ त्योभन्दा पनि महत्त्वपूर्ण तपाईंको स्कूल अफ थटसँग सम्बन्धित छ । लाखौं इराकी मारिए, लाखौं लिबियाली बेघरबार छन्, एलप्पो र दमसकसमा उडेका धुवाँका मुस्लाको अवतरण गराउन कति वर्ष पर्खिनुपर्ने हो ? थाह छैन । काबुलको रणमैदानमा मुस्लिमहरू प्रत्येक दिन बलि चढेकै छन्, अस्पतालदेखि पाठशालासम्मको निशानामा नयाँ–नयाँ हातहतियार र बमबारुदको प्रयोग जारी छ तर ती सबै नरसंहार लोकतान्त्रिक स्टिकरमा छन्, त्यसैले ती जायज छन् । 

ग्वान्टनामो वेको चेम्बरमा छट्पटाएका लोकतन्त्र विरोधी हुन् । त्यसैले पनि जायज हो तर तियानमेन स्क्वायर होस् वा अहिलेको हङकङको बखेडा यी लोकतन्त्रमाथिका प्रहार हुन् । यसैलाई भनिन्छ – दृष्टिकोण वा स्कूल अफ थट । हो शव्दहरू पनि निकै महत्त्वका हुन्छन् । मानिसलाई विजयी शव्द जति मनपर्छ, पराजय सुन्दा त्यत्तिकै आक्रोश पैदा हुन्छ । सायद त्यसैले व्याकरणविद्, भाषाविज्ञानका विद्यार्थी, वकिल, मेडिकल तथा टेक्निकल पर्सन सबै पेशा र व्यवसायका मानिस शव्दमा निकै खेल्छन् र शव्द विजयको व्याख्या र पराजयको सहारा दुवैमा प्रयोग हुन्छ । यो कुरा समाजका विभिन्न क्षेत्रमा पनि देखापर्छ ।

नेकपामा यस पटकको स्कूलिङ विभागको नेतृत्व चयन पनि त्यही शव्दको भय र आवरणको हारजीतसँग केही समय अल्मलियो, सन्देहसहित होस् वा निःसन्देह अब यो एउटा निष्कर्षमा पुग्यो यही प्रारम्भिक सुखद पक्ष हो  । जनताको बहुदलीय जनवाद वा २१ औं शताव्दीको जनवाद कुन शव्दलाई हाइलाइट गर्ने भन्ने सोचबाट शुरू भएको स्कूलिङ विभागको विवाद वास्तवमा खुद्रा मसिनो कुरा थियो र नेतृत्वले अन्त्यमा त्यसलाई त्यसरी नै बुझेर यसको टुंगो लगायो । 

अब विभागको आगामी यात्रालाई शुभकामना दिने क्रममा हामीले एउटा कुरामा पूरै ध्यान कहाँ दिनुपर्छ भने दायाँ वा बायाँ कहीँकतैबाट पनि आउने साँघुरा सोचबाट निर्देशित गरिने स्कूलिङले नेपाली समाजको चरित्र चित्रण र त्यसको न्यायोचित सम्बोधनका लागि अन्वेषण गर्दैन । त्यसैले चेसको गोटीझैं जबज र २१ औं शताव्दीको जनवादलाई प्रतियोगिताको शैलीमा चाल नचल्ने कुरामा सम्पूर्ण पंक्ति तयार हुनुपर्छ । पार्टी संगठन, विभाग र सबै जिम्मेवारी बाँडफाँट पछि स्कूलिङ सर्वाधिक महत्त्वको हुनेछ । यो हाम्रा लागि ठीक समय हो ।

अर्थतन्त्रलाई उकास्ने गरी स्कूलिङ विभागले आफ्ना पाठ्यक्रम तयार पारोस्, ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद, म्यानुफ्याक्चरिङकालीन राजनीतिक अर्थशास्त्र, युरो कम्युनिज्मको वर्ग समन्वय, शान्तिपूर्ण प्रतिस्पर्धा, र सहअस्तित्वको हुबहु सर्कुलेसनजस्ता विषयबाट यो माथि उठ्नुपर्छ । स्कूलिङलाई व्यावहारिक बनाऔं, कार्यकर्तालाई महिनामा कम्तीमा ४ दिन ज्यामी बनाऔं । पार्टीको श्रम बैंक खडा गरौं । हरेक प्रदेशमा कृषि विशेषज्ञको निगरानीमा जमिन लिजमा लिएर विशाल एग्रो फर्म खडा गरौं । यसरी कृषि उपज निर्यातको बाटो खोल्ने चेष्टा गरौं । शिक्षाका लागि सरकारी स्कूललाई संस्कृत, नेपाली र अंग्रेजी ३ वटै भाषाको दक्ष बनाउने गरी एउटा स्कूल अफ थटको शुरूवात गरौं ।

सरकारी पाठशाला र विश्वविद्यालयलाई दैनिक जीवन धान्न, व्यापार व्यवसाय र विभिन्न पेशामा दक्ष जनशक्ति उत्पादन गर्ने व्यावहारिक र वैज्ञानिक गुरुकूल पद्धतिमा बदलौं । यसले शिक्षामा बगेको पैसाको ज्वारभाँटा नियन्त्रण गर्नेछ । जडीबुटी र वनस्पतिमा पाइने सबैखाले तत्वको पहिचान गरी अत्याधुनिक आयुर्वेद उपचार पद्धति बनाऔं, यसले स्वास्थ्यमा बगेको पैसालाई थेग्ने छ । मेची महाकालीका कपास फर्मलाई सक्रिय बनाऔं, त्यसले लत्ता कपडाको आयात घटाउन मद्दत गर्ने छ ।

ठूला र विद्युतीय गाडी प्रयोगको प्रचलन शुरू गरौं, त्यसले तेल र अटो क्षेत्रको नोक्सानी नियन्त्रण गर्र्नेछ । ४ वटा वेद, महाभारत, श्रीमद्भागवत गीता, मन्धुम र त्रिपिटक जस्ता धार्मिक र पौराणिक ग्रन्थलाई अन्वेषणको प्रयोगशालामा राखौं, तिनका ज्ञान, अनुभव, तिनले सिकाउन खोजेको पूर्वको तत्कालीन समृद्ध मानव समाजको अध्ययन र अनुसन्धान गरौं । एक चोटी हिमालय पर्वतको यस स्वर्ण छानोबाटो ऋषिमुनि र मानव सभ्यताका अनुभवलाई मानव जीवनको धरातलीय यथार्थमा बदल्ने वुद्धिमतापूर्ण जोखिम उठाऔं, जसलाई आजभोलि एसियाली दर्शनको बृहत् आयामका रुपमा हेरिन थालिएको छ ।

नैतिक मूल्यको महत्त्वलाई जागृत गरौं । हाम्रा सामु यस युगकै चुनौतीपूर्ण प्रश्नहरू छन्, पेटमा बोसो भरिएका, महलको माथिल्ला तलाबाट लालसलाम कमरेड भन्दै विलासिताको जिन्दगीमा मस्त कम्युनिस्ट कार्यकर्ता देश बदल्न सक्छन् ? हामीले आलोचकको यस यक्ष प्रश्नको जवाफ व्यवहारद्वारा दिन सक्नुपर्छ ।

के कम्युनिस्ट कार्यकर्ता अध्ययन, उत्पादन, उत्खनन् र आविष्कारका क्षेत्रमा हरेक महिनाका २, ४ दिन स्वयंसेवी बन्न सक्छन् ? के कम्युनिस्ट कार्यकर्ताको पहल र नेतृत्वले सबै प्रदेश खाद्य सम्प्रभूताको ग्यारेण्टी गर्नसक्ने अवस्थामा पुग्नसक्छन् ? सात समुन्द्र पारिको नयाँ औषधिको प्रयोगशाला बन्नुभन्दा आफैं परीक्षणको शुरूवात गरौं, विशेषगरी वनस्पति र विभिन्न सम्पदाहरुलाई देश र जनताको हितमा उपयोग गर्ने दृढ संकल्प गरौं । के यस्ता कार्यहरू हामी वामपन्थीबाट सम्भव छ ?

भूमिगत राजनीतिक जीवन र जेलका कठोर यातनालाई पाठशालामा बदल्नुपर्छ भन्ने हाम्रा आदर्शको १० प्रतिशत सोचलाई मात्रै पुनर्जीवित गर्न सकिए मुलुक हाम्रै हातबाट समृद्ध बन्छ । अबको स्कूलिङ विभाग युनानी चिन्तक र माक्र्स, लेनिन, कान्ट, जोनलक जस्ता पश्चिमा चिन्तकमाथि मात्रै केन्द्रीत हुनु हुँदैन । यसले पूर्वीय दर्शन, विचारधारा, जीवनपद्धति, रहनसहन र सम्पदामाथि पनि आफ्ना अन्वेषणलाई केन्द्रीत गर्नुपर्छ । आजको समाजको सामाजिक चरित्रमा आएका फेरबदल र सो अनुरुप गर्नुपर्ने कार्यको सूची तयार गरी राष्ट्रलाई समृद्ध तुल्याउन स्कूलिङ विभाग केन्द्रीत रहनुपर्छ । 

अध्यात्मवाद र भौतिकवाद अनि पूँजीवाद र समाजवादको सैद्धान्तिक अन्तरमा लामा–लामा भाषणले मात्रै समाजलाई न्याय र समानता दिन सकिँदैन । व्यावहारिक रुपमा मुलुकलाई पूँजीवादबाट सचेत र योजनावद्ध पहलकदमीद्वारा समाजवादतर्फ संक्रमण गराउन शव्दको लडाइँ तथा विश्वासपात्रलाई सर्वज्ञानी ठान्दा ‘माछो खोज्दा सर्प हात लाग्न सक्छ’ भन्ने ख्याल गर्दै अध्ययन, उत्पादन, अनुसन्धान र आविष्कारमा जोड दिनैपर्छ ।

समाज आफैंमा बृहत् प्रयोगशाला हो । आउनुस् अबका २ दशक पूर्वीय दर्शन र हाम्रा सम्पदातर्फ फर्काैं । यदि त्यस अवधिभित्र हामीलाई सफलताको सम्भावना देखा परे थप अगाडि बढौं, यदि त्यसमा निराशा हात लागे वर्तमानका विश्वव्यापी मानक, सत्यतथ्य र मान्यतासँग पनि त हाम्रो सम्बन्धविच्छेद हुने छैन अनि अप्ठ्यारो कहाँ पर्छ र ? तर एकचोटी हामीले शाहस गरौं कि यहाँको माटो, वनस्पति, सभ्यता, संस्कृत भाषा, गुरुकूल पद्धति यिनीहरूलाई पुनर्जीवन दिऔं । पुष्पक विमान र ब्रह्मास्त्रका हजारौं वर्ष पुराना कथा यदि परिकल्पना मात्रै हुन् भने पनि ती सामान्य परिकल्पना थिएनन्, त्यसो भए वास्तवमा ती के थिए त ?

सत्यताको नजिक थिए वा काल्पनिक ? एनिमेसन र परिकल्पना मात्रै पनि सानो सम्पत्ति होइन, जब परिकल्पनाको स्क्याच तयार हुन्छ, मान्छे त्यसलाई वास्तविकतामा बदल्न आफ्ना सबै प्रयास अघि बढाउँछ । त्यसैले तिनलाई प्रयोगशालामा हालेर कम्तीमा हाम्रा जिज्ञासा मेटाऔं । यदि हामी यस बाटोबाट सफलतामा पुग्न सक्यौं भने समृद्धिका लागि योगदान पुर्‍याउने श्रेय हाम्रो हातमा पुग्न सक्छ र समाजले हामीलाई सम्झिरहने छ ।

पूर्वीय दर्शन, विचारधारा, जीवन पद्धति, ज्ञानविज्ञान कमजोर त थिएन तर पनि साधनालाई अझ बढी विकसित र परिष्कृत गर्न दुःख गर्नुभन्दा साधकलाई नै भगवान् घोषणा गरिदिँदा र उसका साधनालाई दैवी चमत्कारका रुपमा व्याख्या गरिदिँदा यस्ता खोज अनुसन्धानको झन्झट व्यहोर्नु पर्दैन भन्ने चिन्तनले नै आज पूर्व आविष्कारका प्रयासबाट टाढा रहन पुग्यो । जसले यसै दर्शनबाट सिके उनीहरूले नै हामीलाई विकसित रुपमा ती दर्शनका नयाँ भर्सन हातमा थमाए, हामीसँग विकल्प थिएन, हामी त्यतैपट्टि लाग्यौं । फेरि एकचोटी इतिहासको दराजमा धमिरो लागेका सन्दर्भ सामग्रीलाई प्रयोगशालामा हालौं ।

भदौ १६, २०७६ मा प्रकाशित

पुष्प न्यौपाने

वामपन्थी राजनीतिमा कलम चलाउने न्यौपाने प्रेस संगठन निकट पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस