जेलमा आगो लागेपछि भागेका कैदीहरूले देखाए इमान्दारिता, फर्केर सजाय काटे

भदौ ८, २०७६

काठमाडौं – इन्डोनेसियाको एक कारागारमा आगो लागेपछि भागेका २७० भन्दा बढी कैदीहरू बाँकी सजाय काट्न जेलमा फर्केका छन् । 

सोरोङ शहरमा सोमवार विरोधकर्ताहरूले कारागार भवनमा आगो लगाएपछि त्यहाँ कैद ५०० अपराधीमध्ये आधीभन्दा बढी भागेका थिए । 


ADVERTISEMENT

कारागारका प्रवक्ता एल्ली युजारले भने, ‘उनीहरू भाग्न खोजेका थिएनन्, उनीहरू आफूलाई आगोबाट जोगाउन चाहन्थे । 

इन्डोनेसियाको दोस्रो सबभन्दा ठूलो शहर सुराबायामा थुप्रै पापुआली विद्यार्थीहरूलाई पक्राउ गरिएपछि उक्त क्षेत्रमा तनाव छ । पापुआलीहरूलाई जातिवादी दुर्व्यवहार समेत गरिएको थियो । 

युजारले कैदीहरूका बारेमा बताए, ‘उनीहरू पनि आफ्नो परिवारका बारेमा चिन्तित थिए । हत्याको दोषी पाइएका अपराधीहरू पनि स्वेच्छाले यहाँ फर्किए ।’

अपराधीहरूले जेलरहरूका लागि अस्थायी कार्यालय बनाउन समेत मद्दत गरिरहेका छन् । विरोध प्रदर्शनका क्रममा भवनका केही भाग क्षतिग्रस्त भएका थिए । 

सोरोङमा खोजी टोलीहरू शहरभरि फैलिएर भागेका कैदीलाई खोजिरहेका थिए र उनीहरूका परिवारका सदस्यलाई भेटिरहेका थिए, युजारले बताए । एक दर्जन जति चाहिँ अझै पनि फरार रहेको उनको भनाइ छ । 

जेलमा भीडभाड बढी नै भएको र फोहर पनि रहेको भए पनि कैदीहरूलाई राम्रो व्यवहार गरिने भएकाले उनीहरू फर्केको अधिकारीहरूको भनाइ छ । 

एजेन्सी
 

भदौ ८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार