सुस्त मनस्थितिका बालबालिकालाई परिचयपत्र वितरण

भदौ १०, २०७६

बुटवल- बुटवल उपमहानगरपालिकाले सुस्तमनस्थिति बाल विद्या मन्दिरमा अपांगता भएका बालबालिकालाई अपांगता परिचयपत्र वितरण गरेको छ । सुस्त मनस्थिति बाल विद्या मन्दिरमै पुगेर बुटवल उपमहानगरपालिका कार्यबाहक प्रमुख गुमादेवी आचार्यले परिचयपत्र वितरण गरिन् । 

उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरूलाई लगत संकलन गरेर उनीहरूको अवस्थाका आधारमा परिचयपत्र वितरण गर्दै आएको छ । सुस्तमनस्थिति भएका बालबालिकाहरूलाई परिचयपत्र वितरण गर्दै कावा प्रमुख आचार्यले फरक क्षमता भएका सबैलाई नगरले उचित संरक्षण गर्दै उपयुक्त अवसर जुटाउने बताइन् । फरक क्षमताको प्रष्फुटनका लागि नागरिक समाज, निजी क्षेत्र र समुदायसँगको सहकार्यमा विशेष कार्यक्रमसमेत बनाउन लागिएको उनको भनाइ थियो । 


ADVERTISEMENT

उक्त विद्या मन्दिरमा रहेकामध्ये १४ जनालाई रातो कार्ड वितरण गरिएको थियो । 'ख' वर्गका २ ओटा कार्ड र 'ग' वर्गका २ वटा कार्ड गरी १८ वटा कार्ड मंगलवार वितरण गरिएको छ ।

बुटबल उपमहानगरपालिका भित्र रहेका र अपाङ्गता हो भन्ने पहिचान भएका आठ सय जना अपाङ्गता भएका व्यक्तिहरूलाई तीन प्रकारका परिचय पत्र वितरण गर्दै आएको कावा प्रमुख आचार्यले जानकारी दिइन्  ।

बुटवलमा प्रत्येक सोमवार यसप्रकारका परिचयपत्रहरू वितरण गरिँदै आएको छ । अपाङ्गता भएका व्यक्तिहरू कोही छुट्न गएमा १९ वटै वडा कार्यालयमा सम्पर्क राख्न उपमहानगरले आग्रह गरेको छ । कार्यक्रममा बुटवल उपमहानरपालिका कार्यपालिका सदस्य सिता थापाले फरक क्षमता भएका समुदायको हितमा आफूहरू क्रियाशील रहेको बताइन्  । 

भदौ १०, २०७६ मा प्रकाशित

प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस