घरेलु तथा साना उद्योग कार्यालय स्थापना

भदौ २१, २०७६

बागलुङ– गण्डकी प्रदेश मातहत रहने गरी जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको छ । कार्यालयको शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरे। 

सो अवसरमा मन्त्री लम्सालले उद्योगको विकासबिना मुलुकको समृद्धि सम्भव नभएको बताए। “उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि उद्योगको विकास हुन आवश्यक छ”, उनले भने, “प्रदेश सरकारले पनि उद्योगमा विशेष जोड दिएको छ ।”


ADVERTISEMENT

उनले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापनाका लागि प्रारम्भिक तयारी अघि बढेको उल्लेख गरे। “४० वटा स्थानीय तहले पूर्वसम्भाव्यता अध्ययन गरी मन्त्रालयमा प्रस्ताव पठाइसक्नुभएको छ”, मन्त्री लम्सालले भने।

स्थानीय उत्पादनको व्यवसायीकरणमा जोड दिँदै उहाँले साना तथा लघु उद्योगको संरक्षण र क्षमता विकासमा प्रदेश सरकारले सघाउने बताए। सोही अवसरमा उहाँले केही समयपछि पुरानो वन ऐन बदलिने बताए। “पहिले वन संरक्षणमा हामी बढी केन्द्रित थियौँ, अब बुद्धिमतापूर्ण सदुपयोगको नीति बन्छ ।” 

कार्यालय प्रमुख गोमादेवी शर्माले कार्यालयबाट उद्योग दर्ता, नवीकरणलगायतका सेवा प्रदान हुने जानकारी दिए। उद्योगको अनुगमन, नियमनसमेत कार्यालयबाटै हुनेछ । प्रदेशका ११ वटै जिल्लामा कार्यालय स्थापना गरिने मन्त्रालयले जनाएको छ । यसअघि नवलपुर जिल्लामा सो कार्यालय स्थापना भइसकेको छ । मुलुक सङ्घीय संरचनामा गएपछि खारेज भएको तत्कालीन घरेलु तथा साना उद्योग विकास समितिलाई घरेलु तथा साना उद्योग कार्यालयको रुपमा स्थापना गरिएको हो ।

भदौ २१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस