पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आमाले तिमी ठूलो मानिस बन्नु बाबु, धेरै पढ्नुपर्छ भन्दा के भए ठूलो मान्छे बन्न सकिने होला ? कति पढे धेरै होला ? थाहा नभइ नै मनमा सपनाहरू दैडिए ।
रोशीबाट तिमाल महाभारत हुँदै झन् माथितिर दौडिएको कुहिरोजस्तै सपनाहरू उकालो लाग्न थाले । ठूलो दाजुले कखरा पढाउँदा पनि अब त पक्कै ठूलो हुने भयौं भन्ने अबोध दम्भले मन टन्न हुन्थ्यो ।
सपनाका बयेलीहरू निरन्तर बढ्दै गए । मनमनै धेरै पढें, ठूलो पनि भएँ, ज्ञानी पनि भएँ । नपढीकन पढें, नबुझीकन ज्ञानी बनें, ठूलो नभैकन ठूलो पनि बनें । स्वेरकल्पनामा रमाउनुको मज्जै अर्को । कुनै कुराको अर्थ नबुझीकन त्यसको आस्वाद लिँदा आहा कति मजा !
सपनाहरू स्थिर हुँदैनन् । सपनाले कोल्टे फेर्न थाल्यो । ‘नानीको कथा’बाट विज्ञान, गणित, कार्यालय सञ्चालनका पुस्तक झोलाभरि बोकेर धेरै पढ्ने सपनाको यात्रा शुरू भो । यात्राहरू जति पछिल्ला त्यति लामा र असजिला हुँदा रहेछन् ।
फिजिक्स पढेर प्राध्यापक–डाक्टर बन्ने सपना ! पद्योदय हाइस्कूलमा श्याम सरले फिजिक्स पढाएको कति राम्रो ... । विषयमा चुर्लुम्म डुबेर पढाउने । कति आएको होला ? कसरी जानेको होला ? कति सरल होला । होइन, भगवानकै बरदान हो श्याम सर ! पक्कै निकै ठूलो वैज्ञानिक भएको हुनुपर्छ ।
प्रवेशिका उत्तीर्णसँगै सपनाको अर्को क्षितिज उघ्रियो –अब त खरिदार बन्नुपर्छ । ठूलो दाजुले खरिदारबाटै जागिर शुरू गर्नु भाथ्यो । सरकारी सिन्दूर पर्नुको मजा नै अर्को ।
वृत्ति र पढाइ साथै लैजानुपर्ने बाध्यता तर १८ वर्ष नपुग्दै लोकसेवा जाँच दिन नपाइने । उमेरले प्रतीक्षा सूचीमा राख्यो ।
त्यो दिन पनि आइपुग्यो, खरिदार पास !
आफ्नै खुट्टामा उभिएर कलेज पढ्नुको अर्कै मज्जा ।
वृत्तिले पढाइलाई र पढाइले वृत्तिलाई बिगार्ने पो हो कि ? होइन, यज्ञले पनि त बिहान अमृत कलेज, दिउँसो खरिदार र बेलुका आरआरमा मानविकी पढेकै छ । आँटे के पुग्दैन ।
साथीको दायरा पनि फराकियो । शहरका साथी हामीलाई पाखे भनेर हेला गर्थे । मोटरसाइकल र कारमा पढ्न आउने साथीको सान नै अर्को । लाग्थ्यो कारवाला, मोटरसाइकलवालाले मलाई १–२ चोटी लिफ्ट दिए पनि हुने नि ?
होइन लिफ्ट नदिएर के भो परीक्षामा जितेपछि सिक्न आउलान् नि ! उनीहरूलाई त सधैं व्याक लाग्ने गरेको छ ।
सपना देख्नेहरू ख्याउटे, मरिन्च्यासे भएपनि सपनाहरू ख्याउटे हुँदैनन् । सपना देख्न अतिरिक्त धन र योग्यता पनि चाहिँदैन । मनभरि सपना, आँखाभरि स्वेरदृश्य र शरीरले चाहिँ मिहेनतमा एउटा अन्तहीन यात्राको निरन्तरता । ख्याउटे शरीर, परालजस्ता खुट्टा, दबेको पेट, चाउरिएका निधार, दबेका आँखा, सलक्क कान छोप्ने कपाल, किशोरावस्था पार गर्दा–नगर्दै कुप्रिएको ... यो नै मेरो प्रतिबिम्ब !
कविता, निबन्ध र लेखहरूमा म नै पोखिन्थें । मनकै भावना पोखिन्थे । भावहरू छचल्किन्थे । अभावमै भाव आउने न हो । अक्षरहरूमा दुःख पोखिएर साहित्य बन्ने न हो ।
हाकिमले कति राम्रो काम गर्छ यो खरिदारले भनेर धाप मार्दा मन कति फुरुङ्ग हुन्थ्यो । त्यो फुरुङ्ग्याइले अर्को १ महिना मच्चिएर काम गर्ने ताकत दिन्थ्यो । मनमनै सोच्थे – के मेरा साथीहरूले कामै नगरीकन जागिर खाइरहेछन् ? किन हाकिमले उनीहरूलाई माया नगरेको होला ? काम नगरी किन चौर र मानेको चिया पसलमा झुम्मिएका हुन् साथीहरू ?
नायव सुब्बा पनि पास । स्वर्णीम सपनाको अर्को पटाक्षेप खुल्यो । भीभीआईपी लाउन्जको पोस्टिङ । राजा, रानीको राजकीय भ्रमण र अतिविशिष्ट व्यक्तिको स्वागतका लागि व्यवस्थापन गर्ने काम आफैंमा चुनौतीपूर्ण तर विमास्थलको सिरानमा मगमग फूल बगैचा, बीचमा अति सुरक्षाका साथ राजा, रानी र पाहुना बस्ने गोरखा हल, काष्ठमण्डप र भादगाउ कक्ष । भित्ताभरि अमर चित्रकारका परम्परागत तेलचित्र अनि लैनसिंह वाङ्देलका एव्ष्ट्रयाक्ट आर्ट । लाग्थ्यो त्यहाँ प्रवेश पाउनु पनि भाग्य, आफू त त्यहीको कार्यालय प्रमुख सुब्बा साव । अघिल्तिर सिंगापुर, थाइ, एयर इण्डियाका जहाजहरू सलल्ल्ल्ल अवतरण गर्ने । देख्दा पनि मनलाई कहाँ पुर्याउँथ्यो कहाँ । यी हवाइ जहाज चढ्न पाए । भाग्य कटिएलाका भन्ने डरले नजिकै पुग्दा पनि छोइनँ । १ दिन कन्कर्ड आउँदा कौशीबाट आनन्दले हेरिबसेको थिएँ, पछिल्तिर फर्किंदा त राजा विरेन्द्र र राजकुमार निराजन पो दुर्बिन समेत लिएर कन्कर्डतिर आँखा तेस्र्याइरहेका । सधैं राजाभन्दा २ मिटर पर मात्र उभिन पर्ने दरबारको नियम, आज झण्डै छोएको । डरले खुट्टा थरर्र कामे, खुशीले मन भरङ्ग भयो ।
सार्क शिखर सम्मेलनको तयारी रेकी गर्न पनि राजा थाहै नपाइ भीभीआईपी कक्ष आउन थाले । ड्युटी पनि ८ घण्टाबाट चढ्दै १०, १२, १४ घण्टासम्म पुग्न थाल्यो । आफूले गरेको काम ठूला बडाले देख्ने, स्यावासी दिँदा पनि मन कति फुरुङ्ग हुन्थ्यो । सार्क शिखर सम्मेलनको प्रवेशद्वार विमानस्थलको प्रमुख कर्मचारी । एकदिन कुन्नी के कुरामा विभागीय मन्त्रीलाई राजा अंग्रेजीमा हकार्दै रहेछन् । त्यो सुन्नुको दोषले मन्त्रीले झण्डै हात छाडे थे । तँतँ र नानाभातीका गालीपछि नायव सुब्बाको जागिर राजीनामा दिनुको विकल्प रहेन । स्वर्णीम सपनामा निकै ठूलो आँधीको सामना गर्नुपर्यो । सपनाको बयेलीमा अजंगको पहाड तेर्सियो ।
स्नातक पास भै अधिकृतको परीक्षा समेत दिइसकेकाले प्रतीक्षाको समय लामो भएन । अधिकृत भएपछि भने सपनाहरू खात लाग्ने, भत्किने अविरल यात्राको प्रारम्भ भो । धेरै सपनाहरू आधाआधी नपुग्दै मरे, कतिलाई मार्न पनि बाध्य भए ।
पहिलो पदस्थापन हिमाली जिल्ला डोल्पा । प्राकृतिक रुपमा भर्जिन भएपनि डोल्पा गरीबी, भोक र विपन्नताको पनि उदाहरण थियो । उपयोग नभएका थुप्रै सम्भावनाको पौल ।
राजधानी नै बसेर इकोनोमेटिक्समा मास्टर डिग्री लिने सपना अब सम्भव नहुने पक्का भो । हिमाली जिल्लाको दुःखद र कष्टप्रद जीवन शैलीको उठबसपछि सपना मात्र होइन, सोचवृत्ति पनि बदल्यो । डोल्पाली जीवनका दुःख आफ्नै दुःख लाग्न थाल्यो । काममा समर्पित हुँदै जाँदा दुःखी जीवनमा द्रबीभूत हुँदै गएँ । जीवनले अब अर्कै मोड लियो ।
होइन महाकाली अञ्चलभन्दा ठूलो जिल्ला, निकै थोरै जनघनत्व, झण्डै शून्य अन्न उब्जनी । पाखा पखेरु कदमचाल, पाँचऔले, पाखनवेत, यार्सागुम्बा जस्ता जडिबुटीले भरपूर । स्याउ, सिमी, आलु, चिनो, कागिनो, तिते फापर । निधारमा शे–फोक्सुण्डो ताल, एकातिर शे गुम्बा, धो, तिन्जेको प्रकृति, अर्कोतर्फ त्रिपुरासुन्दरी, शहरतारा । हिमनदीका मनोरम छहरा, शुभ्र अनि स्नीग्ध हिम शृंखला । भाषिक विविधता, जैविक विविधता, प्राकृतिक विविधता, सांस्कृतिक विविधता । लाग्छ पूरै जिल्ला प्रकृतिको संग्राहलय ।
पढ्नु, ठूलो पदमा पुग्नुले के अर्थ राख्छ यदि राष्ट्रसेवकले आफ्नो क्षमता र इमान्दारिताले दीनदुःखीको सेवा गरेन भने ? ‘अथाह सम्भावना तर भर्जिन’ कर्णालीलाई त्यहीँको सम्पन्नताका लागि उपयोग कसरी गर्ने ? यही सोच र कर्ममा संघर्षका यात्रा शुरू हुन्छ । संघर्षमा साथ पाइन्न । मन बोल्ने ठाउँमा पेट बोल्छ, कर्म गर्नपर्नेहरू मुख चलाउँछन्, पसिना चुहाउनेहरूको बोली छैन ।
जिल्लामा जनसंख्या छ, कार्यालय छन्, प्रहरी प्रशासन, नेता राजनीति, अनुदानको चामल र नून सबै छन् तर निर्माण, सोच, वृत्ति, कर्म र आचरण पुगेन । के केही मन र हातका कर्मले मात्र सम्भावनालाई उपयोगितामा बदल्न सक्छ ? नसकोस् तर हार खानु हुन्न ।
के मैले पेटभरि खाएर डोल्पाको सेवा गर्नु पाप होइन ? जहाँ धेरै मजस्तै पेट भएका मानिसहरू आधा पेटमा तिन्जे र दुनैको यात्रा गर्छन् । के म जस्तैहरू छेप्का, धोतिर जाडोमा कठाङ्ग्रिँदा मैले स्वीटर र ज्याकेटमा न्यानिन हुन्छ ? अपराध नैतिक र आत्मिक पनि हुन्छ, भौतिक मात्र होइन । के प्रतिवर्ष समय खेर फाल्दा, अवसरहरु उपयोग नगर्दा समयले हामीलाई दोषी भन्दैन ? क्याराभान हेर्नु र थिन्लेको दुःख पिउनुले मज्जा आउँदैन । सबै डोल्पालीको कथा थिन्ले जस्तै छ । सबै साल्दाङ, धो, शे, तिन्जे, छार्का वासी थिन्ले हुन् । प्रकृतिका पात्र उपेक्षित हुन्छन्, दुःखी हुन्छन् । टिपिएको एकाध दुःख र उपेक्षा अरुको लागि मनोरञ्जन !
दुःखमा असात्मसाथ गरेर कर्म गर्दै गर्दा १ दिन कर्मले अन्यत्रै डोर्यायो । बाई बाई डोल्पा !
दनैदेखि जुफालसम्म सबै नै अभिनन्दन र आँशुमा छन् । अवीर र मालामा छन् । १ जना कर्मचारी सर्नुले के पीडा हुन्छ र आँशु आएको होला ?
मेरा पाइलाका पदचाप, केही पसिना र कर्मले सिञ्चेको स्थान फेरि सम्झनु अहिलेलाई बिदा !
जागिरे जीवनलाई फगत जागिर सम्झनेहरू वृत्तिप्रति अन्याय गर्छन्, जनता र राष्ट्रप्रति अन्याय गर्छन् तर पाखा पखेरुको जागिर, जीवनशैली र त्यहाँको दुःख पीडाको साक्षात्कारले मलाई भने सपना देख्न, संघर्ष गर्न र सेवा गर्न सिकायो । योजना बनाउँदा होस् वा बजेट बनाउँदा, नीति बनाउँदा होस् वा निर्णय गर्दा नेपालको भूगोल, जीवनशैली, आर्थिक सामाजिक अवस्थाले थिच्न थाल्यो । कर्म र अनुभवले मनभरि कर्णाली मात्र होइन, इलाम र बाजुरा तुलना गर्न सिकायो, सिन्धुपाल्चोक र कालिकोट तुलना गर्न सिकायो, शे र बौध गुम्वा, तिमाल र लुम्ले अनि धेरै यस्तै तुलना गर्न सकियो ।
हो, कर्मभित्रको संघर्षले समर्पण र समर्पणले संवेदनशीलता जन्माउने रैछ । विषयलाई अन्तर्यसम्म पुर्याउँदो रैछ । सुविधा र सम्पन्नतामा जागिर खानेहरू पुरस्कार र प्रोत्साहनको बाहबाहीमा भएपनि कर्म गर्ने तर किनारा पर्ने कर्मनिष्ठका मनभित्र एउटा स्वबोध र आत्मसम्मान जाग्दो रैछ – हो मैले केही गरे, केही गर्न नसके पनि बिगार चाहिँ गरिनँ । यो बोध नै जीवनबोध हो र राष्ट्रसेवक कर्मचारीले यहीँ बोधमा कर्मशील हुनुपर्छ । सत्यनिष्ठा र कर्म उसको आचरण बन्नुपर्छ । व्यक्तिले सबैलाई ढाँटे पनि अन्ततः आफूलाई ढाट्न सक्दैन ।
सत्कर्म, समर्पण र सेवामा लाग्नेका निष्ठा अपहरण भएपनि कर्ममा नै रमाउँछन्, सत्य गर्छन्, सत्य नै बोल्छन् ।
वार्षिक विकास कार्यक्रमलाई वस्तुनिष्ठ बनाउन संघर्ष गर्दा पनि राजीनामा दिनुपर्यो । राजीनामा संघर्ष थिएन, असन्तुष्टि (र पलायन पनि ?) । प्रणाली सुधारका लागि सन्देश दिने निर्णय तर गल्ती गरिरहनेहरू गल्तीलाई स्वीकार्दैनन्, बरु गल्तीलाई ढाकछोप गर्ने अरु गल्तीहरू दोहोर्याउँछन् । आफूलाई भने आफूले नेतृत्व दिएको गरीबी र वातावरण कार्यक्रमको सफलता, जलवायू वित्त बजेटको अरु मुलुकले गरेको अनुशरण, हरित अर्थतन्त्रको खाकाको अवलम्बनमा मन साबुनका फिँजझै हुरुरुरुर्र हौसिएर जान्छ । कति खुशी लाग्छ आफूले शुरू गरेका आयोजना विश्व विकास सम्मेलनमा असल अभ्यासका रुपमा प्रस्तुत हुँदा र चिन्ता लाग्छ आफ्ना समयमा शुरू भएका सुधारका कार्यले निरन्तरता पाइनै रहन्छन् ?
खुबै खटियो गणतन्त्रको कार्यान्वयनको पहिलो काममा, जहाँ जनप्रतिनिधि संस्था निर्माण र जीवन दिनुपर्थ्यो । अरु साथीहरूले पनि अग्रपंक्तिमा रहेर नै सहयोग गरे । ऐतिहासिक भूमिका निभाउन पाउँदाको खुशी नै अर्को । साँझ, बिहान, दिनरात पनि खटियो । यो खटाई मान, सम्मान, पुरस्कार र प्रोत्साहनका लागि होइन, केवल आत्मसन्तुष्टि र कर्तव्यका लागि । मितव्ययी बन्ने आग्रहमा उच्च इमान्दारिता प्रस्तुत गर्नुपर्ने कर्तव्य भएकाहरूबाट नै कमजोरी हुन्छ भने त्यस्ता निर्णयको भद्र अवज्ञा गर्नुको विकल्प के रह्यो र ? नीति र नैतिकतामा बाँच्नेहरू यसैको शक्तिमा बोल्छन् । निष्ठालाई अपहरण गरिएपनि निष्ठामा बाँच्ने साहस निजामती सेवाको मूल्य र आर्जित स्वायत्तताले दिन्छ ।
नियतिको खेल पनि गजबको रैछ । मनले जहाँ सरुवा नहोस् भन्यो, त्यही मात्र हुने ! जीवनमा १०–११ सरुवामा नभैदिएहुन्थ्यो भने त्यहीँ मात्र भएको छ । प्रणाली नबस्दा यस्तो भएको हो कि ? वा वेप्रणालीले नै प्रणालीको रुप लिँदा यसो भएको ? तर अर्को मनले भन्छ, होइन कोहीँ त मजस्तो पनि त भैदिनुपर्यो, होइन भने उनीहरूको के महत्त्व । मनमनै सोच्छु –‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे’ ।
सरुवा, वृत्ति व्यवस्थापन, अवसर वितरण, पुरस्कार, प्रोत्साहन सबै उत्कृष्टताका लागि हो । गुणतन्त्रका आधारमा हुने हो । गलत व्यक्ति प्रोत्साहित वा पुरस्कृत हुँदा प्रणाली पेनलाइज्ड भएको महसूस गर्छ । गलत व्यक्तिलाई जिम्मेवारी दिँदा जनताले नै दुःख पाउने हुन् । सुधारका अभियानले निरन्तरता नपाउने हो । निर्णय गर्ने र निर्णित हुने दुवै दंग हुनुको अर्थ रहँदैन । मुख्य कुरा प्रणाली निर्माणमा योगदान नपुग्दा दुःख पाउने राष्ट्र र जनताले हो ।
वृत्ति खुट्किला चढ्दै जाँदा थुप्रै सपनाका हत्या भयो तर निष्ठा र समर्पण डगेन, पटक–पटक निष्ठा हार्यो र असत्यले जित्यो । निष्ठा किनारामा पर्यो र हल्लाले जित्यो । तै पनि कर्म र निष्ठाबाहेक राष्ट्र सेवकको न अरु पहिचान हुँदो रैछ न नाम नै । त्यसैले मनभरि उर्लिएका सपना साबुनका फिँजझै स्याप्प हुँदा केही लाग्दैन तर अधुरा कामहरू पूरा नहोलान् कि भन्ने चिन्ताले सताउँछ तर पनि विकल्प छैन कर्म गर्नुको । गीतामा भगवान् कृष्णले अर्जुनलाई भन्नुभएको छ –
‘कर्मण्येबाधिकारास्ते मा फलेसु कदाचन
मा कर्मफलहेतुर्भुमा ते सङ्सोक्स्वकर्मणी’ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...