ट्रम्पले क्यानडाका प्रधानमन्त्री ट्रुडोको डाढ गर्ने गरेको पूर्वसल्लाहकार स्कारामुच्चीको दाबी

भदौ २४, २०७६

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग डराउने भएकाले उनीप्रति मित्रवत व्यवहार गरिरहेको एन्थोनी स्कारामुच्चीले दाबी गरेका छन् । 

‘ट्रम्प ट्रुडोबाट आत्तिएका छन् किनकि ट्रुडो सुन्दर र टाठा छन् अनि ट्रम्प चाहिँ भुक्के सुन्तला जस्ता छन्,’ स्कारामुच्चीले एबीसी अस्ट्रेलियासँगको अन्तर्वार्तामा भने । 


ADVERTISEMENT

स्कारामुच्चीले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई पनि ट्रुडो मोडल अनुसरण गर्न सुझाव दिए । त्यसो गरे मात्र उनले अमेरिकासँग सुसम्बन्ध कायम गर्न सक्ने स्कारामुच्चीको भनाइ छ । 

केही हप्ताअघि फ्रान्सको बियारिजमा जी७ सम्मेलनमा ट्रम्पपत्नी मेलानियाले ट्रुडोलाई प्रेमपूर्वक चुमेको तस्वीर सार्वजनिक भएपछि स्कारामुच्चीको टिप्पणी आएको हो । 

‘ट्रम्पलाई सानो परेवा जत्ति पनि आत्मसम्मान छैन । उनी यति आत्ममुग्ध छन् कि जतिखेर पनि चर्चामा रहन चाहन्छन् । ट्रुडोले ट्रम्पसँग दूरी कायम गरेर निकै बठ्याइँ गरेका छन्,’ स्कारामुच्चीले भने ।

स्कारामुच्ची पहिलेपहिले ट्रम्पका बफादार मित्र थिए र उनी ट्रम्प प्रशासनमा ह्वाइट हाउस सञ्चार निर्देशकका रूपमा नियुक्त गरिएका थिए । तर जथाभावी बोल्ने गरेको भनेर ट्रम्पले उनलाई बर्खास्त गरेका थिए । 

एजेन्सी

भदौ २४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस