मानिसहरू भन्न थाले– माखो मार्न नसक्ने सरकारले लामखुट्टे कसरी मार्छ ?

भदौ २९, २०७६

कुनै समयमा न्युयोर्क टाइम्सका चर्चित पत्रकार निकोलस क्रिस्तोफले नेपालका प्रसिद्ध आँखा डाक्टर सन्दुक रुइतका बारेमा लेखेका थिए ।  द न्युयोर्क टाइम्सको सन्डे रिभ्युमा क्रिस्टोफले पशुपति मन्दिर नजिक वाग्मती किनारमै रहेको तिलगंगा आंखा अस्पतालका निर्देशक डा. रुइतलाई अखबारमा महत्त्वपूर्ण स्थान दिई उनको काम विश्वमै दुर्लभ भएको उल्लेख गरेका थिए । तर दुःखको कुरा आज उनै प्रसिद्ध आँखा डाक्टर सन्दुक रुइतलाई डेंगु लागेको छ । उनको परिवारका अन्य दुई सदस्यलाई पनि डेंगु संक्रमण देखियो । अब विदेशी मिडियाहरूले के लेख्छन् ? पक्कै पनि नेपालमा डेंगुको संक्रमण भयावह छ भनेर लेख्छन् । जे हो, त्यो कुरा लेख्ने नै भए । नभन्दै भारतको चर्चित मिडिया आजतकले उसको अन्लाइन संकरणमा लेख्यो, ‘क्या अब पूरा नेपाल तबाह होनेवाला है ?’ 

नेपाल ध्वस्त नै त नहोला तर डेंगु संक्रमणका कारण नेपाली नागरिक आतंकित भएका पक्कै छन् । साधारण ज्वरो आए पनि दौडेर अस्पताल पुगी ‘ल, मेरो डेंगु चेक गरिदिनुपर्‍यो’ भन्नेहरूका कारण हैरान भएको डाक्टरहरू बताउँछन् ।


ADVERTISEMENT

देशैभर डेंगु संक्रमणको हल्ला चलेपछि डेंगु चेक गर्दिनुपर्‍यो भन्दै अस्पतालमा दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको धौलागिरि अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बी. पोखरेलले टेलिफोनमा बताउनुभएको थियो । उसो त नेपालका धेरै अस्पतालमा डेंगु परीक्षण गर्ने किट नै छैन । भए पनि एकदम सीमित, मानौं कि डेंगु परीक्षण गर्ने किटमा कुनै सुन वा हीरामोतीको धातु जडान हुन्छ । एक नागरिक स्वयं आफैं चाहेर डेंगु परीक्षण गर्न सक्दैन किनभने सामान नै छैन । त्यो सामान के होला ? स्वास्थ्य मन्त्रीज्यू, तपार्इं कुन दुनियाँमा हुनुहुन्छ यार ? 

नेपालमा सन् २००४ मा चितवनमा पहिलोपटक देखिएको डेंगु रोग छोटो समयमै देशभर फैलिसकेको छ । सन् २००६ बाट डेंगुको संक्रमणबारे अध्ययन थालिए पनि आवश्यक कदम चालिएन जसले गर्दा सन् २०१० सम्म आइपुग्दा नेपालको चितवन मात्रै नभएर पूर्वी तराईका जिल्लामा प्रकोपको रूपमा फैलिएको तथ्यांक छ । स्वास्थ्यमन्त्रीज्यूले यसबारे अग्रिम कदम के कसो चाल्नुभयो ? पाँच वर्षयता नेपालमा डेंगु उच्च दरमा फैलिँदै गएको छ । त्यो पनि थाहा नै थियो होला । 

काले काले मिलेर खाम भाले भने जस्तो रामे, श्यामे, होमे, तिखे, लिखे को कोलाई कुन शीर्षकमा कति बजेट पर्नुपर्ने हो, कता कता कागज मिलाउनुपर्नो हो, कस्तो प्रकिया हो, मात्रै त्यो गर्ने । अनि हिमालको फोहर टिप्ने नाममा आफैं आफैं हेलिकप्टर चढेर गएर करोडौं खर्च गर्ने, फोटो खिचाउने !

आर्थिक वर्ष २०७०/७१ मा ३०२ जना, २०७१/७२ मा १३४ जना, २०७२/७३ मा १५ सय २७ जना, २०७३/७४ मा २१ सय ११ जना, २०७४/७५ मा ८११ जना र २०७५/७६ मा ३४ सय २५ मानिसमा डेंगुको संक्रमण देखिएको छ । यसको नैतिक जिम्मेवारी लिएर मन्त्रीले राजिनामा दिनुपर्छ कि पर्दैन ? यस्तो प्रश्न गर्दै धेरैलाई हाँसो लाग्ला । नलागोस् पनि कसरी ? केही नजानेसी, केही नबुझेसी केवल हाँस्ने त हो ! 

पर्यटकलाई नेपाल ल्याउनका लागि धेरै फ्याक्टरको भूमिका रहन्छ । त्यसमा स्वास्थ्य पनि एक हो । हालसालै अमेरिकाले डेंगुलगायतका लामखुट्टेजन्य रोगको खतरा बढेको भन्दै एसिया, अफ्रिका, पश्चिम एसिया र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आफ्ना नागरिकहरूलाई ट्राभल नोटिस जारी गरेको  छ । प्रशान्त टापु, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा समेत  डेंगुको संक्रमण बढेको छ । र अमेरिकाले एसियामा समेत डेंगु देखिएका कारण सतर्क रहन भनेको छ । नेपालस्थित अमेरिकी दूतावासले पनि यो कुरा सर्कुलर गरेको छ ।  सामान्य नागरिकहरू कैयौं बिरामी परेका छन् । तर जब डेंगु संक्रमणका कारण कृषिमन्त्री चक्रपाणि खनाललाई आईसीयूमा राखेर उपचार गरियो, तब डेंगुको प्रभाव कति धेरै छ नेपालमा भनी प्रचार भयो । अब के हुन चैं बाँकी छ ? 

आखिर के हो त यो डेंगु ?  भुँ भुँ गर्दै आएको लाम्खुट्टे बिस्तारै हाम्रो शरीरको खुला भागमा बस्छ, ब्लेडजस्ता दुईटा तीखा सुइराले छालामा प्वाल बनाउने र त्यसका अन्य दुई रिट्य्राक्टरले त्यसको प्रोबोसिस (रगत चुस्ने सुइरो) का लागि बाटो बनाइदिने डेंगु खतरनाक जिनिस रहेछ । यति खतरनाक कि यसले पुरुषका तुलनामा महिलालाई बढी टोक्ने र त्यो पनि  कालो कपाल हुनेलाई भन्दा खैरो कपाल हुनेप्रति बढी आकर्षित हुनेरहेछ । शोधकर्ताहरूको दाबी मान्ने हो भने २ लाख वर्षभन्दा बढीको इतिहासमा लामखुट्टेले ५४ अर्बभन्दा बढी मानिसलाई मारिसकेका रहेछन् । विश्वमा लगभग हरेक वर्ष ७ लाख मानिसको मृत्यु डेंगुकै कारण हुनेरहेछ । 

भरिभराउ राजधानीका अस्पताल

पछिल्लो विवरण हेर्दा बुधवारसम्म मात्रै उपत्यकामा ५५ जना बिरामी भेटिए । स्वयम्भू, बालाजु, टेकु, लगन, असन लगायत भक्तपुरको लोकन्थलीमा पनि देखियो । र सुनसरी, कास्की, चितवन, मकवानपुर लगायत जिल्लामा महामारी जस्तो देखियो । तर सरकारले के गर्‍यो त भन्दा कुनै विषादी वा औषधि छर्केन, केवल प्रेस विज्ञप्ति जारी गरेर आफ्नो कर्तव्य पूरा गर्‍यो । के राज्य भन्नु वा देशको अभिभावकको भूमिका भन्नु यति मात्रै हो त ? 

डेंगु लगाउने लाम्खुट्टे र त्यसले बोक्ने रोगहरूसँग मजाक नगरेकै राम्रो । डेंगुले दुईतिहाइ सरकार भन्दैन ।  यसको इतिहास कतै पढेको थिएँ । यो त निकै खतरा पो रहेछ । विश्वमा सदियौंदेखि व्यापारी, यात्री, सैनिक र स्थानीय बासिन्दालाई शिकार बनाएका छन् । विश्वमा निर्मित कुनै पनि हतियारले भन्दा लामखुट्टेका कारण धेरैले ज्यान गुमाएका रहेछन् । पोन्टाइनको सिमसारमा मलेरिया बोकेको लामखुट्टेले रोमन राज्यको उदय र पतन दुवैमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको रहेछ । शुरूमा यसले सुन्दर शहरलाई भिसिगोथ्स, हन्स र भ्यानडाल्सबाट जोगायो र पछि त्यही खतरनाक सुइरो रोमनतर्फ तेर्स्यायो । लामखुट्टेले नै क्रुसेड्सको समयमा पवित्र भूमिलाई जोगाउन क्रिस्चियन सैनिकलाई मद्दत गरेको थियो । त्यसले युरोपेली सैनिकलाई मलेरिया र ‘येल्लो फिभर’ लगाएर लडाइदिएको रहेछ । यस्तै, १८ औं र १९ औं शताब्दीमा भएका अमेरिकी क्रान्तिमा यसले धेरै उलटफेर गराइदियो । योर्कटाउनमा बेलायतीहरूले आत्मसमर्पण गर्नुपर्नाको मुख्य कारक नै लामखुट्टे थियो । मेरा बाबा, छैन त यो खतरा ?

अर्को दुःखको कुरा यिनै डेंगुरूपी संक्रमण र हल्लाका कारण सरकारले निकै महत्त्वका साथ उठाएको भिजिट नेपालको नारा अब भिजिट नेपाल हैन कि डेंगु नेपालमा पुगेर सीमित होला जस्तो छ । सरकारको कुनै गम्भीरता देखिँदैन । सरकारका प्रवक्ता गोकुल बास्केटाले त बाहिर हल्ला गरिए जस्तो डेंगु भयावह नभएको बताइसकेका छन् । केही सांसदहरूले संसदमा डेंगु नियन्त्रणका लागि आवाज उठाए पनि सरकारले आवश्यक कदम गम्भीरताका साथ नउठाएको प्रतीत हुन्छ । यसैबीच ज्वरो आएर पोखराको मनिपाल अस्पताल भर्ना भएका एकजना बिरामीले फेसबूकमा लेखेका थिए– यस सरकारले माखो त मार्न सकेन, डेंगु कसरी मार्छ ? लामखुट्टे कसरी मार्छ ? 

हुन पनि धरातलीय यथार्थमा गएर हेर्‍यो भने सरकारको कुनै पनि कामसँग जनताहरू खुशी छैनन् । यस्तो निराशाको समयमा डेंगु फैलिएको छ कि अब सरकारले डेंगु नियन्त्रण गर्ला भनेर जनतालाई भरोसा पनि छैन । धेरैजना बिरामीहरू त सामान्य डेंगु परीक्षणकै  लागि पनि दिल्ली जाने गरेको तथ्य फेला परेको छ । भनेपछि हाम्रो देशको अस्पतालसँगको भरोसा ज्यान जोखिममा राख्नेहरूले मात्रै गर्ने हो त ? 

भिजिट नेपालको कुरा छ । यसलाई  पनि डेंगु संक्रमणले प्रभाव पार्छ नै । अमेरिकाले मात्र हैन, सारा संसारले नेपाल नजान ट्राभल नोटिस जारी गर्न सक्छ । यसबारे सरकारको के सोच छ ? शायद केही छैन । पर्यटकीय मौसम शुरू भएसँगै होटलहरू भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैं, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । 

यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । दशैंपछि अस्ट्रेलिया, जापान, अमेरिकालगायत मुलुकबाट बढी पर्यटक आउने आँकडाहरू छन् । तर यहाँ डेंगु आएको छ । नियन्त्रणको कुनै भरपर्दो तरिका अपनाइएको छैन । सरकार लाचार देखिएको छ । पदयात्रा पर्यटनका लागि अक्टोबर र नोभेम्बर उपयुक्त समय हो । दशैं, तिहारजस्ता पर्व पनि यसै बेला पर्ने भएकाले दशैंको संस्कृति बुझ्न कतिपय विदेशी पर्यटक आइरहेका हुन्छन् । त्यस्तै, माउन्टेन फ्लाइटका लागि पनि यो समय उपयुक्त मानिन्छ । यही बेलामा डेंगुको महामारी फैलिएको छ । तर प्रधानमन्त्री केपी ओलीले भन्न बेर छैन, ‘मैले गर्दा डेंगु आएको हो र ? मैले बोलाएको हो र ?’ 

भिजिट नेपालको कुरा छ । यसलाई  पनि डेंगु संक्रमणले प्रभाव पार्छ नै । अमेरिकाले मात्र हैन, सारा संसारले नेपाल नजान ट्राभल नोटिस जारी गर्न सक्छ । यसबारे सरकारको के सोच छ ? शायद केही छैन ।

अर्को कुरा, नेपाल भ्रमणमा आउन चाहने कुनै पनि देशका नागरिकका लागि पहिलो प्रथामिकता हो– सुरक्षा । हिमाली भेगमा चियाको मूल्यमा विवाद हुँदा एकजना पर्यटक आमाछोराले दाउराको चिर्पटा देखाउँदै पाँच किलोमिटर खेदेको घटनाले त्यतिखेर सामाजिक सञ्जालहरू तथा विदेशी मिडियाहरूमा व्यापक स्थान पायो । त्यस घटनालाई लिएर नेपालका ग्रामीण होमस्टेहरू सुरक्षित नभएको चर्चा विश्वभरि चल्यो । ठीक त्यतिखेर बेलायतका एकजना पर्यटकले ट्विट गरेका थिए–  पोहोर साल नाम्चेमा मलाई एकजना भरियाले घरेलु चक्कु देखायो र मोबाइल खोसेर भाग्ने प्रयास गर्‍यो । नेपालका पर्यटन व्यवसायीहरूले फेक रेस्क्युको बहानाबाजी गरेर कसरी पर्यटकहरूको बीमा कम्पनीसँग बार्गेनिङ गर्छन्, त्यो कुनै लुकेको छिपेको विषय रहेन । सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रूपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो, यसरी त यो लक्ष्य कसरी पूरा होला र ? 

यसो हुनुको मुख्य कारण हो पर्यटनको नाममा सरकार र तिनका मन्त्रालयहरूले पर्यटनको नाममा तालिम, सेमिनार, गोष्ठी त गर्छन् तर आफैं आफैं भेला भएर कुनै नित्यकर्म जस्तो, कुनै भगवद्गीता वाचन गरे जस्तो औपचारिकता पूरा गर्छन् । सोलु र नाम्चेमा पर्यटकको भारी बोक्नेहरूसँग यस्ता सेमिनारको कुनै साइनो देखिन्न । पर्यटक गाइडको छनोटमा समेत राजनीति छ । उही काले काले मिलेर खाम भाले भने जस्तो रामे, श्यामे, होमे, तिखे, लिखे को कोलाई कुन शीर्षकमा कति बजेट पर्नुपर्ने हो, कता कता कागज मिलाउनुपर्नो हो, कस्तो प्रकिया हो, मात्रै त्यो गर्ने । अनि हिमालको फोहर टिप्ने नाममा आफैं आफैं हेलिकप्टर चढेर गएर करोडौं खर्च गर्ने, फोटो खिचाउने । अमेरिका, युरोपको कुनै पर्यटकलाई काठमाडौं पनि नदेखेको हिमालको मानिसले गाइड गर्नुपर्छ । अनि त्यो व्यावसायिक सुरक्षा हुन्छ । तालिम दिनुपर्ने, सेमिनार र गोष्ठीमा सहभागी गराउनुपर्ने खास को हुन् ? 

सुरक्षापश्चात् स्वस्थ वातावरण प्रत्याभूतिको महत्त्वपूर्ण भूमिका छ । केही पर्यटकले काठमाडौंको धूलोधूवाँसँग दिक्दारी प्रकट गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका उदाहरणहरू कैयौं छन् । पक्कै पनि महामारी, हैजा भएको देशमा कोही घुम्न लालयित हुँदैनन् । केही महिनाअघि भारतका एकजना नायिकाले काठमाडौंको प्रदूषणसँग वाक्क मानेर ट्विट गरेकी थिइन् । हुन त दिल्लीमा पनि धूलो नभएको हैन । दिल्ली शायद एसियामै सबैभन्दा धेरै प्रदूषण भएको ठाउँ होला । तर के दिल्लीमा प्रदूषण छ भनेर हामी पनि त्यही दिल्लीको उदाहरण दिएर घाम तापेर बसिरहन सक्छौं त ? सक्दैनौं किनभने भुटानमा त प्रदूषण छैन त ! अनि नेपालको मुख्य पर्यटकीय जिनिस भनेकै प्रकृति हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तै नेपाल ‘भर्जिन ल्यान्ड’ हो । 

अनि आयस्रोतको मुख्य जिनिस प्रकृतिलाई सुरक्षित राख्नुपर्ने पर्यटकीय देशका महान् नागरिकहरूको कर्तव्य होला नि त ! अहिले ‘गो ब्याक टु नेचर’ भन्ने जीवनशैली संसारले अपनाउन खोजिरहेको बेलामा नेपालसँग भएको नेचर हेर्न मात्र पर्यटकहरू आउने हुन् । हिमाल, हरिया पहाडहरू, खोलानाला यस्तै यस्तै प्राकृतिक चीजका कारण नेपालको ख्याति संसारभरि छ । पक्कै पनि ९० प्रतिशत पर्यटकहरू हिमाल हेर्न नै आउँछन् । के हिमाल सफा छ त ? के हिमाल प्रदूषणमुक्त छ त ? के हिमाल पुराना शवहरूको मसानघाट भएको छैन त ? के हिमालमा पर्यटकका लागि सेवासुविधाहरू केन्द्रित गरिएका छन् त ? सेवासुविधा भनेको अर्थतन्त्र पनि हो । सित्तैमा कोही खाँदैन ! कोही बस्दैन !
 

भदौ २९, २०७६ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार