'द जोया फ्याक्टर' फिल्म समीक्षा : हल्काफुल्का कमेडी, छुटाए फरक पर्दैन

असोज ३, २०७६

काठमाडौं – जिन्दगीमा भाग्यको पनि स्थान रहन्छ तर यसलाई अन्धविश्वासकै रूपमा लिन थालियो भने मेहनत र प्रतिभा खुम्चिन्छन् । निर्देशक अभिषेक शर्माको द जोया फ्याक्टरको चुरोमा यही कुरो छ । 

तेरे बिन लादेन र शौकीन जस्ता हल्काफुल्का फिल्म बनाएका शर्माले द जोया फ्याक्टरमार्फत लाइट हार्टेड कमेडी प्रस्तुत गरेका छन् । 


ADVERTISEMENT

सन् १९८३ मा भारतले क्रिकेट विश्वकप जितेकै दिन जोया (सोनम कपूर) को जन्म भएको हुन्छ । उनको क्रिकेटप्रेमी परिवारले उनलाई लकी चार्म मान्छ । जोया जन्मेकैले भारतले विश्वकप जितेको भन्ने लाग्छ परिवारलाई । 

त्यसपछि त गल्लीको क्रिकेट होस् कि जोयाको जागिरमा होस्, उनको लक फ्याक्टरले डुब्न लागेको काम पनि बनाइदिन्छ । पेशाले विज्ञापनहरूमा जुनियर कपीराइटर बनेकी जोयालाई उनको याड एजेन्सीले भारतीय क्रिकेट टीमको फोटोशूट गर्न पठाउँछ । त्यहाँ जोया र भारतीय क्रिकेट टीमका कप्तान निखिल खोडा (दुलकर सलमान) पहिलो नजरमै प्रेममा पर्छन् । लगातार हारिरहेको क्रिकेट टीम जोया पुग्नेबित्तिकै खेल जित्छ । त्यसपछि उनी लक्की चार्म भएको खेलाडीहरूलाई पक्का हुन्छ । 

तर निखिल चाहिँ भाग्य नभई खेलाडीहरूको मेहनत र प्रतिभामा विश्वास गर्छन् । भारतीय क्रिकेट बोर्डले जोयालाई टीमको लकी म्यास्कोट बनाउने प्रस्ताव गर्छ । पहिला त उनी मान्दिनन् तर परिस्थिति त्यस्तै बनेपछि उनले सम्झौतामा हस्ताक्षर गर्छिन् । जोयाको लकले काम गर्छ कि निखिलले आफ्नो टीमप्रति गरेको भरोसाले भन्ने प्रश्नको उत्तर पाउन फिल्म हेर्नुपर्छ । 

अनुजा चौहानको किताबमा आधारित फिल्मलाई निर्देशक शर्माले पहिलो हाफमा हल्काफुल्का बनाएका छन् । दर्शकहरूले कुनै कुनै दृश्यमा मात्र मनोरञ्जन पाउँछन् । दोस्रो हाफमा फिल्मले गति समात्छ तर जोयालाई लक फ्याक्टर बनाएर क्रिकेट टीमले लगातार जितेको देखाउँदा विश्वास लाग्दैन । कमेन्टेटरहरूले गरेको कमेन्ट्रीले हसाउँछ तर यस्तो पनि कमेन्ट्री हुन्छ र भन्ने जस्तो पनि लाग्छ । निर्देशकले मनोरञ्जन कायम राख्न क्रिकेटको बारेमा बनाएको फिल्ममा निकै धेरै सिनेम्याटिक लिबर्टी लिएका छन् । 

सोझी र मूर्ख जोयाका रूपमा सोनमले आफ्नो भूमिका राम्रै गरी निर्वाह गरेकी छन् । यस्ता भूमिकाहरू उनले पहिला पनि गरिसकेकी छन् । यसपालि उनको कमिक टाइमिङ सुधारिएको छ । 

फिल्मको मुख्य आकर्षण दुल्कर सलमान हुन् । कारवाँपछिको दोस्रो फिल्ममा उनी ह्यान्डसम देखिनुका साथै भूमिकामा जमेका छन् । 

जोयाका पिताका रूपमा सञ्जय कपूरले भाइका रूपमा सिकन्दर खेरले ठीकठीकै काम गरेका छन् । रोबिनको भूमिकामा अंगद बेदीले इन्टेसिटी कायम राखेका छन् ।

शंकर एहसान लोयको संगीतमा काश र मेहरु जस्ता गीत मीठो सुनिन्छन् । 

हल्काफुल्का कमेडीका शौकिनहरूले फिल्म हेर्न सक्छन् तर हेर्न छुटाए पनि चुकचुकाउनुपर्दैन ।

नवभारत टाइम्समा प्रकाशित समीक्षा

असोज ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार