लोकगीतका 'अलराउन्डर'

असोज २५, २०७६

काठमाडौं- स्टेज कार्यक्रमका लागि यस वर्षको तीजमा शिव हमाल जापान गए । नागोयामा प्रस्तुति दिनुपर्ने थियो । बाटो थियो- टोकियोबाट लगभग १५ सय किलोमिटर । उनी साथीहरूसँग गाडीमा रमाउँदै गए । बाटोमै कपडा फेरे अनि स्टेज उक्लिए ।

तीजको बेला रंगीबिरंगी साडीमा महिलाहरू उपस्थित भएका थिए । महिला-पुरुष गरी हलमा लगभग ५०० थिए । उनको प्रस्तुतिले सबै झुमे ।


ADVERTISEMENT

भर्खरै बजारमा निस्किएको तीज गीत 'पातली' र 'लालुमै' गाइरहँदा उनी स्टेजबाट तल झरे । क्राउडले उनलाई यस्सै के छोड्थ्यो- चारपाँच जना मिलेर बुरुकबुरुक उफारे ।

त्यो भीडमा एउटी महिलाको चुराले हात काट्यो । अनि उनले भनिछन्- अब म यसमा तपाईंको नाम 'शिव हमाल' लेख्छु ।

उनले यस्ता जबरजस्त फ्यान यस्सै कमाएका भने होइनन् । यसका लागि ठूलो संघर्ष छ । अनेकौं अभाव र पीडा भोगेका छन् ।

*****

अहिलेका चल्तीका सर्जक तथा गायक शिव हमाल (३७) स्याङ्जा ज्याग्दीखोलामा मध्यम, सभ्य तथा शिक्षित परिवारमा जन्मिए । बाल्यकालमा खानलाउनको अभाव भोगेनन् । तर घरको काममा भने सघाउँथे । घाँस काट्नेदेखि खेतमा पानी लाउनेसम्मका काम गर्थेँ । अझ भनौं सकेको काम गर्दै पढे ।

स्कूल त जान्थे उनी तर ध्यान भने पढाइमा कम गीतसंगीतमा बढी हुन्थ्यो । भन्छन्, 'आफूलाई नाच्नगाउन मन पर्ने, बुवाले स्कूल पठाउनुहुन्थ्यो ।'

गीतसंगीतमै लाग्ने प्रेरणा उनले मामा राजेन्द्र लम्साल क्षेत्रीबाट पाएका रहेछन् । लम्साल रेडियो नेपालका 'क' वर्गका गायक थिए रे त्यतिबेला । उहाँकै गीत सुन्थे उनी अनि गाउँथे पनि ।

स्याङ्जा रोइलाको लागि उर्वर भूमि । रोइलाका लागि मात्रै नभइ लोकगीतका अन्य विधाहरूमा पनि स्याङ्जाको योगदान ठूलो छ । त्यसैले त उनी अहिले पनि एकजना बुवासँग रोइला सिकिरहेका छन् ।

लोकगीतमा प्रभाव पर्नु वा लगाव बढ्नुमा अर्को 'फ्याक्टर'ले पनि काम गरेको रहेछ । उनको घरमाथि ब्राह्मण बस्ती छ भने तलतिर मगर बस्ती छ ।

बाल्यकाल र किशोरावस्थाबारे उनी खुल्छन्, 'माथि जान्थेँ रोधी बस्थेँ तल जान्थे भजन गाउँथे ।'

ठकुरी परिवारमा जन्मिएर पनि  उनी ब्राह्मण संस्कृतिसँग एकदमै नजिक रहे । र मगर संस्कृति पनि बुझे । अनि त्यसैमार्फत दोहोरी गाउन सिके । भन्छन्- सालैजो, कौडा पनि सिकियो । भजन अनि रोइला गाउन सिकेँ ।

उनी अहिले पनि सम्झन्छन् घरको पालीको खाँबोको एउटा किलामा झुण्डिएको त्यो रेडियो । त्यसैमार्फत उनले गीत सुने र म गायक बन्ने सपना देखे । सम्झन्छन्- त्यतिबेला रेडियोमा बज्ने चौतारी अनि प्रतिभा साँझले मलाई गाउने प्रेरणा दिन्थ्यो ।

गाउँतिर गीत गाउने हमाललाई साथीहरूले भन्थे- काठमाडौं जा दोहोरी साँझमा काम गर अनि गीत निकाल । यता बसेर हुँदैन ।

खैरेनीमा गेट जस्ता गीतले लोकगीतमा एकखाले बैंश पलाइसकेको थियो ।

त्यसैबीच उनी लोकगीत प्रतियोगितामा भाग लिन पोखरा पुगे । तर उनी त्यहाँ केही भएनन् ।

उनको मनमा अझै पनि याद छ काठमाडौं यात्रा । सम्झन्छन्, 'मलाई फर्किनै मन लागेन । अनि अंकलसँग ५ सय मागेर काठमाडौं आएँ । दुई दिन पोखरा बसेर काठमाडौं आउँदा मसँग १२५ रुपैयाँ थियो । त्यहाँदेखि मेरो संघर्षका दिन शुरू भए ।'

साथीभाइले भनेजस्तो सहज थिएन काठमाडौं । सजिलै कहाँ पाइन्थ्यो र दोहोरी साँझमा जागिर खान । त्यसैले त उनलाई दोहोरी साँझमा काम पाउन एक वर्ष कुर्नुपर्‍यो, त्यो पनि महिनाको ३५ सय पाउने गरी ।

'दोहोरी साँझमा काम पाउँदा जति खुशी म कहिल्यै भइनँ,' सांगीतिक यात्रा सुनाउँछन् उनी ।

दोहोरी साँझमा काम गर्दा उनलाई म पनि दोहोरीमै सवालजवाफ गर्न सक्छु भन्ने लागिसकेको थियो। अनि हरेक दोहोरी प्रतियोगितामा भाग लिन थाले ।

उनले २०६१ सालमा भएका कुनैपनि दोहोरी  प्रतियोगितामा छुटाएनन्, सबैमा शून्य । कुनै पनि उपलब्धि हात लागेन । त्यसपछि २०६२ मा भएका प्रतियोगितामा दोस्रो-तेस्रो भए । आफूलाई अलिअलि खारिएको महसूस गरे हमालले । र त ०६३ मा भाग लिएका दोहोरी प्रतियोगितामा प्राय: सबै ठाउँमा प्रथम भए ।

लोकगीतमा केही गर्न सक्छु भन्ने लागेपछि उनले आफ्नो शब्द र संगीतमा २०६३ सालमा 'सम्झनामा आँशु झरेको' गीत बजारमा ल्याए । राजु परियार र विष्णु माझीले स्वर भरेको गीतले हमाललाई पनि नोटिस गरायो ।

त्यसपछि हमालले लगातार गीत ल्याए । ०६४ सालमा 'मन परेको फूल खसेको' ०६५ मा 'देउरालीको भट्टी पसल', ०६६ मा 'पछ्यौरी लेउ बैना', ०६७ मा 'रक्षा गर हरि', ०६८ मा 'पारेउ मलाई रुन मायालु', ०६९ मा 'हाँस्न सिकायौ', 'सानु कहाँ छौ', ०७० मा 'आकाशैमाथि' ०७१ मा 'दुई दिनका लागि' भन्ने गीत हिट भए ।

०६५ को अन्त्यतिरबाट देउरालीको भट्टी पसल चल्न थालेपछि भने उनको व्यस्तता ह्वात्तै बाक्लियो । स्टेज कार्यक्रमका लागि उनको माग बढ्न थाल्यो । 

'पछ्यौरी लेउ बैना'ले एकाएक चर्चाको शिखरमा पुर्‍याएपछि उनले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन । अझ भनौं त्यसपछि कहिल्यै फुर्सदै भएन ।

०७२, ०७३ र ०७४ सालमा आफ्नो लगातार ३४२ वटा गीत फ्लप भएको उनी आफैं स्वीकार्छन् । भन्छन्, '५-७ लाख भ्यूज त आएका थिए । तर मेरा लागि फ्लप सरह नै भए । एक खाले ब्रान्ड बनिसकेको अवस्थामा ती गीत नचलेकै हुन् ।'

लगभग तीन वर्ष सुस्ताएको सांगीतिक करिअरलाई ०७५ सालको अन्त्यतिर 'लालुमै'ले पुनर्जीवन दियो । यो उनी पनि स्वीकार्छन् ।

गायक कम सर्जक बढी

शिव हमालको परिचय गायकमा भन्दा सर्जकमा बढी छ । उनले लोकदोहोरीमा अहिले बनाएको स्थानको देन नै गीत लेखन हो । उनले हालसम्म १३ सयको हाराहारीमा गीत लेखेका छन् भने ५० जति गीतमा स्वर भरेका छन् ।

उनी गीत लेखनमा मात्रै अब्बल छैनन् लयमा पनि उत्तिकै दमदार छन् । कहिलेकाहीँ आफ्नो गीतबारे मानिसहरूले आफैंलाई नचिन्दा उनलाई लाग्थ्यो रे-गाउन पर्छ कि क्या हो ! तर उनी गीत लेखन र संगीतमै स्थापित भए ।

स्टेज पर्फर्मर

शिव हमालको हिट गीतको सूची लामै छ । उनको परिचय गायक, सर्जक, संगीतकारपछि आउँछ 'स्टेज पर्फर्मर' । उनले दिने प्रस्तुतिमा दर्शकले कहिल्यै 'बोर' मान्दैनन् । त्यसको उदाहरण हो- नागोयाको कार्यक्रम । जुन माथि उल्लेख गरिसकिएको छ ।

उनको स्वदेश तथा विदेशका कार्यक्रमहरूमा राम्रै डिमान्ड छ । त्यसको अर्को उदाहरण हो- पासपोर्टमा भिजा लगाउने स्थान नहुनु । 

भन्छन्, 'घाँटीलाई मिल्ने गीत मात्रै गाउँछु । तर म सिर्जनामै रमाउन थालेँ ।'

गीत लेखन, गायन, लयदेखि स्टेजमा राम्रो पर्फर्म गर्ने हुँदा हमाललाई 'लोकगीतका अलराउन्डर' भन्दा फरक पर्दैन ।

फर्केर हेर्दा ... 

सांगीतिक क्षेत्रको १५-१६ वर्षे यात्रालाई वनमाराको रूपमा लिन्छन् उनी । भन्छन्, 'वनमाराको फूल चैतको हुरीले उडाएर कुन पाखामा पुर्‍याइदिन्छ थाहा हुँदैन । तर त्यो फूल जहाँ पुग्छ नि त्यहीँ उम्रिन्छ र त्यहीँ झाङ्गिन्छ । फेरि ओइलाउँछ सुक्छ अनि फेरि पलाउँछ । तर कहिल्यै मर्दैन । मेरो करिअर भनेको त्यो हो ।'

उनी आफूलाई लोकसंगीतको हुरीले उडाएर ल्याएर काठमाडौंमा झारिदिएको बताउँछन् । 

संघर्ष सम्झन्छन्, 'बहुत संघर्षले झाङ्गिँदै छु । मैले गरेको संघर्षको बाबजूद यो सफलता धेरै होइन । सात रुपैयाँको पाउरोटी खाएर तीन दिनसम्म बसेको छु । हे भगवान पेटभरी भात खान पाए कस्तो हुन्थ्यो झैं लाग्थ्यो ।'

सफलताका बाबजूद उनी अझै पनि निर्धक्क भन्छन्- म सडकबाट उठेको हुँ जस्तो लाग्छ । नेपाली लोकसंगीतमा अझै धेरै दिनु छ । 

असोज २५, २०७६ मा प्रकाशित

प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस