क्रान्तिका स्वतन्त्र सेनानी गुप्ताको निधन

असोज ४, २०७६

विराटनगर–वामपन्थी आन्दोलनका योद्धा एवं विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानी रघुनाथ गुप्ताको ९४ वर्षको उमेरमा निधन भएको छ । विराटनगर–१५ निवासी स्व गुप्ता मिर्गाैला रोग र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो भने उनको शुक्रबार साँझ निधन भएको थियो ।

स्व मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लागेका उनले ऐतिहासिक जुटमिल हडतालमा सक्रिय भूमिका निभाएका थिए । विसं १९८२ भारतको कोलकत्तामा जन्मनुभएका स्व गुप्ताको २००७ सालको क्रान्तिमा ठूलो भूमिका रहेको थियो ।


ADVERTISEMENT

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्व गुप्ताको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरे। यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरे।
    
उनको आज हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ । उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।
 

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस