कर्णाली प्रदेश सरकारले गर्‍यो वृक्षरोपण

असोज ४, २०७६

सुर्खेत – संविधान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले शनिवार ३ सय वृक्षरोपण गरेको छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारी टोलीले राजधानी वीरेन्द्रनगर सुर्खेतको मंगलगढी चोकदेखि एयरपोर्टसम्मको करीब २ किलोमिटर सडक बीचमा वृक्षरोपण गरेका हुन् ।


ADVERTISEMENT

वन, वन्यजन्तु र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगोरूपले कायम गर्न गर्ने हेतुले वृक्षरोपण गरिएको मुख्यमन्त्री शाहीले बताए ।

‘कर्णाली प्रदेश सरकारले चालू आव २०७६/७७ बाट यहाँका सबै स्थानीय तहको केन्द्रलाई हरित नगरका रुपमा विकास गर्ने नीति लिएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसैअनुरुप हामीले संविधान दिवसकै अवसरमा वीरेन्द्रनगरमा ३०० बिरुवा रोपेका छौं ।’ सरकारको यो नीतिले कर्णाली प्रदेशलाई वातावरणमैत्री प्रदेश निर्माण गर्नमा सघाउ पुग्ने उनको विश्वास छ । 

कार्यक्रममा मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशसभाका सदस्य, प्रमुखसचिव केवलप्रसाद भण्डारी, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशी, नागरिक अगुवासहितको सहभागिता थियो ।

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस