जापानमा पाइन्छ सबभन्दा पुरानो र महंगो कफी

असोज ११, २०७६

काठमाडौं – जापानको ओसाका शहरमा भएको एक कफी शपमा २२ वर्ष पुरानो कफी पाइन्छ । 

एक कप कफीको मूल्य एक लाख रुपैयाँभन्दा बढी पर्छ । यो नै सबभन्दा महंगो कफी हो । एक विशेष स्वादका लागि यो कफी प्रसिद्ध छ । 


ADVERTISEMENT

मंच हाउस नामक क्याफेमा दुई दशक पुरानो कफी ताजा सर्भ गर्ने गरिएको छ । क्याफे मालिक तनाका कुनै बेलामा आइस कफी बेच्ने गर्थे । त्यसैले उनी कफीलाई फ्रिजमा राख्थे । 

एकपटक उनले कफीका केही प्याकेट फ्रिजमा राखेर बिर्सिए । डेढ वर्षसम्म कफी त्यहीँ रह्यो । पछि तनाकाको नजर त्यसमा परेपछि उनले नफ्याँकेर कफी तयार पारे । त्यसको स्वादमा कस्तो अन्तर आएको छ भनी उनले हेर्न खोजेका थिए । 

तनाका भन्छन्, ‘मैले डेढ वर्ष पुरानो कफीलाई पिँधेर उमाल्दा कफी पिउन लायक नै थियो । त्यसमा फरक किसिमको सुगन्ध थियो र स्वाद पनि फरक थियो । त्यसपछि मैले कफीलाई वर्षौंसम्म स्टोर गरेर राख्ने र नयाँ स्वादको कफी ग्राहकहरूलाई पियाउने निश्चित गरें ।’

तनाकाले कफीलाई एक दशकसम्म भण्डारण गर्नका लागि काठका ससाना ब्यारल उपयोग गरे । दश वर्षपछि त्यसको स्वाद चाख्दा सिरप जस्तो लाग्यो । अनि २० वर्षसम्म स्टोर गर्दा अल्कोहलको जस्तो स्वाद आयो र ग्राहकहरूलाई निकै मन पर्‍यो । 

तर सर्वसाधारणले यो कफी पिउन गाह्रो छ किनकि यो असाध्यै महंगो छ ।

एजेन्सी
 

असोज ११, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस