संघर्षले खारिएकी सम्झना

असोज ११, २०७६

काठमाडौं– लमजुङको मर्स्याङ्दी एफएममा शुक्रवार र शनिवार दिउँसो ४ बजेदेखि कार्यक्रम बज्थ्यो- लोक मञ्जरी ।

त्यो फोनिङ कार्यक्रम हो । अर्थात् स्रोताले फोन गर्थे र मन परेको गीत सुन्न पाउँथे । सम्झना भण्डारी पनि लोकमञ्जरीको नियमित स्रोता थिइन् स्कूल पढ्दा ।


ADVERTISEMENT

'तपाईं कुन गीत सुन्न चाहनुहुन्छ ? क-कसलाई सम्झन चाहनुहुन्छ ?' हो त्यो कार्यक्रममा ठ्याक्कै यही बज्थ्यो । सानैबाट लोकगीतमा चाख राख्ने, गाउँमा जता मादल बज्यो उतै कुद्ने सम्झनाले कार्यक्रममा फोन गर्थिन् । त्यो पनि ममीको मोबाइल चोरेर ।

यसले सम्झनाको लोकगीतप्रतिको मोहलाई देखाउँछ । अब केही अगाडिका कुरा गरौं है त ।

लमजुङ सिमपानेकी सम्झना भण्डारी अहिलेको लोकप्रिय गायिका हुन् । उनले गाएका गीतहरू ब्याक टु ब्याक हिट भइरहेका छन् ।

बच्चैदेखि सम्झना लोकगीतप्रेमी थिइन् । उनलाई ममीको भरपूर साथ र सहयोग थियो । ममीले उनको कला चिनेकी थिइन् । उनको मोहलाई राम्रोसँग छामेकी थिइन् । 'गाउँतिर कतै मादल बजेको छ भने ममीले मलाई लिएर जान रुचाउनुहुन्थ्यो । गइदिएहुन्थ्यो, गाइदिएहुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो,' सम्झना बाल्यकाल सम्झिन्छिन् । तर भाइ भने उनको रुचिको ठ्याक्कै उल्टो गतिमा थिए । उनी आफ्ना दिदीबहिनी बाहिर गएर गाएको नाचेको मन पराउँदैनथे रे ।

सम्झना भन्छिन्- 'भाइको अरू उद्देश्य होइन मात्र दिदीबहिनी नबिग्रियोस् भन्ने हो ।'

उनी स्कूलहरूमा हुने गायन प्रतियोगिता कुनै पनि छुटाउँदैनथिन् । र कुनै न कुनै पुरस्कार जितेर आउँथिन् । 'अन्तरविद्यालय गीत प्रतियोगितामा पनि मलाई सरहरूले लिएर जानुहुन्थ्यो । जहाँ गएपनि फर्स्ट सेकेन्ड भएर फर्किन्थ्यौं हामी,' लोकान्तरसँग गफिँदै स्कूले जीवनबारे खुल्छिन्, 'सात कक्षामा पढ्दा खुदीको अमर माध्यामिक विद्यालयमा खुला लोकगीत प्रतियोगिता थियो । त्यहाँ पनि हामी प्रथम भयौं ।'

*****

सम्झनालाई बिमाकुमारी दुरा, राजु परियार, पशुपति शर्मा, शिरीष देवकोटालगायतका गायकगायिका मन पर्थे । उनीहरूकै गीत सुन्थिन् । अझ शिरीष देवकोटाका रोइला र पशुपति शर्माका गीतहरूले उनलाई छुन्थ्यो रे !

उनी किशोरावस्था हुँदै पशुपति शर्माको 'लेकैमा गुराँस बेशीमा टुनी' गीत बजारमा आएको थियो । त्यहीबेला उनी सोच्थिन्- 'पुशपति शर्मा र शिरीष देवकोटालाई भेट्न पाए, उहाँहरूसँग गीत गाउन पाए कस्तो हुन्थ्यो होला ।'

*****

सम्झना स्कूल पढ्दै थिइन् । त्यहीबेला लमजुङमा एउटा प्रतियोगिता हुने भयो- लमजुङ लोकतारा । उनले त्यहाँ गाउने सोचिन् । तर घरमा भनेर जान सक्ने अवस्था थिएन । भाइले सिधै रोक्थ्यो ।

त्यसपछि उनले भागेर जाने योजना बनाइन् । घरको कौशीबाट भागिन् । सम्झिन्छिन्, 'हतारहतार भागेर गएको हुनाले कपडाहरू पनि च्यातिएका थिए ।'

उनको लागि लमजुङ लोकतारा सहज भने भएन । कारण- गुन्यूचोली अनिवार्य लगाएर प्रस्तुति दिनुपर्ने । उनीसँग गुन्यूचोली थिएन । 'भन्नेबित्तिकै कहाँबाट पाउनु गुन्यूचोली ? मागेरै चलाएँ,' पुराना दिन स्मरण गर्छिन् उनी ।

गाउँमा मादलको तालमा गाइरहेकी सम्झनालाई हार्मोनियम र ढोलक देख्दा लाग्थ्यो रे- कसरी गाउने यिनीहरूको तालमा ? त्यतिबेला उनले 'मर्स्याङ्दीमा फूल बगाम भो, सँगै बस्न पाइएन निर्माया एउटै डोरी पासो लगाम भो' गाइन् । उनको यात्रा शीर्ष दशमै टुङ्गियो ।

शीर्ष पाँचमा अटाउनेलाई अवसरहरू थिए । एल्बमहरू निकाल्न सहयोग हुन्थ्यो ।

गीत गाएर टीभी तथा रेडियोमा बज्ने उनको सपना लोकताराले पूरा गर्न सकेन ।

काठमाडौंमा संघर्ष

विसं २०७० सालमा सम्झना काठमाडौं आइन् । सानोममीको घरमा बसिन् अनि कान्तिपुर मलको एउटा कपडा पसलमा काम थालिन् ।

सानोममीको घरमा बस्दै गर्दा कोपिला श्रीपाल र भीमा लामिछाने मगर एकदमै नजिकको साथी भए । उनीहरूले सम्झनालाई सक्दो सहयोग गर्थे । उनीहरूका दिदीहरू लोकगीतमै संलग्न थिए ।

एकदिन स्व. मञ्जु महतसँग उनीहरूले प्रतिष्ठानको एउटा कार्यक्रममा भनेछन्- मेरो एक जना साथी छ । उसको एकदम राम्रो स्वर छ । उहाँलाई तपाईंको दोहोरीमा काम लगाइदिनुहोस् न ।

स्व. मञ्जुले हुन्छ भनिछन् ।

त्यसैपछि शुरू भयो सम्झनाको नयाँ यात्रा । उनले कुलेन्द्र विक, राजन ठकुरी, शिव हमाल, स्व. मञ्जु महतको सञ्चालन गरेको बागलुङ कालिका दोहोरी साँझमा काम पाइन् । गीत गाइन् ।

अनि शिव हमालले भनेछन्- स्वर त ठीकै रहेछ । एक दुई दिन हेरौं । ट्राइ गरौं न ।

सम्झना दोहोरीसाँझको अनुभव सुनाउँछिन्, 'दुई-तीन दिन हेर्नुभयो । त्यसपछि बस भन्नुभयो ।'

उनले त्यहाँ माइक समातेर गीत गाउने रहर पूरा गरिन् ।  दोहोरी साँझको अनुभव समेट्न पाइन् । दोहोरीका विभिन्न कुराहरू सिक्न पाइन् । अझ भनौं गीतमार्फत सवालजवाफ फर्काउन सिकिन् ।

एकदिन दोहोरी साँझमा पृथ्वी थकाली आए । उनी लोकगीतमा लागेर केही गर्न चाहनेहरूका लागि असल अभिभावक हुन् । उनले अहिलेका चल्तीका धेरै गायकगायिकालाई निस्वार्थ सहयोग गरेका छन् । धेरैले 'पृथ्वी थकाली दाइले गर्दा म अहिलेको स्थानमा आइपुगेको हुँ' भनेर निर्धक्क भन्छन् ।

तिनै लोकगीतका अभिभावकसँग स्व. मञ्जुले आफूबारे कुरा गरेको सम्झनाले सुनिन् । भन्छिन्, 'पृथ्वी थकाली दाइहरू आउँदा दिदीले भन्नुभयो- दाइ यो बहिनीको स्वर एकदमै राम्रो छ । हजुरले सपोर्ट गरिदिनुपर्‍यो ।

त्यसपछि थकालीले भनेछन्- स्वर मात्रै राम्रो भएर हुँदैन । काँच्चै छन्, केही कुराहरू सिक्नुपर्छ ।

त्यसपछि फेरि एउटा कार्यक्रममा सम्झनाको पृथ्वी थकालीसँग भेट भयो । उनले भनिदिए रे- तिम्रो स्वर राम्रो छ । भोकल क्लास जाऊ।

सम्झनाले पृथ्वी थकालीको सुझावलाई शिरोपर गरिन् र मनोजराज शिवाकोटीसँग पुतलीसडकमा रहेको मुर्छुन्ना संगीत विद्यालयमा साढे दुई वर्ष संगीत सिकिन् ।

*****

उनी राति दोहोरी साँझमा काम गर्थिन् । ६ बजे उठेर क्लास जान्थिन् । निद्रा पुगेको हुन्थेन । 'माइक्रोमा म निदाउँदै, ठोक्किँदै-ठोक्किँदै जान्थेँ । गुरुले सारेगम भन्दा लोरी सुनाएजस्तो हुन्थ्यो,' सुनाउँछिन्, 'म झुल्दो रहेछु अनि गुरुले मुख धोएर आऊ सम्झना भन्नुहुन्थ्यो । अहिले भेट्दा मेरो प्रगतिमा उहाँ पनि खुशी हुनुहुन्छ ।'

दोहोरी साँझ बन्द भयो । संगीतका आधारभूत कुराहरू उनले सिकिसकेकी थिइन् । उनी गामबेशी दोहोरी साँझ पुगिन् । संगीत सिकाइलाई पनि निरन्तरता दिइन् । उनले चन्दन श्रेष्ठसँग गान्दर्ध्वमा थप संगीत अध्ययन गरिन् ।

सांगीतिक डेब्यू

दोहोरी साँझमा काम गर्दा चिनेका अग्रज सर्जक तथा गायक शिव हमालको लय तथा शब्दमा उनले पहिलो गीत गाइन् ।

मालश्री रेकर्डिङ स्टुडियोमा दशैं-तिहार गाएपछि शिव हमाल एकदमै खुशी भएको उनको दिमागमा ताजै छ । सम्झिन्छिन्, 'शिव दाइले लोक दोहोरी क्षेत्रमा राम्रो स्वर आयो, अब केही गर्छ यो आवाजले भन्नुभएको थियो ।'

तर त्यो गीत अडियोमा मात्र आएको उनले बताइन् ।

आफ्नो पहिलो भिडियोमा बनेको गीतमा पृथ्वी (दाइ) थकालीले एकदमै सहयोग गरेको सम्झना निर्धक्क भन्छिन् । 'पृथ्वी इन्टरटेन्मेन्टमा प्रकाश सपूतको लय शब्दमा हामीले त्यो एल्बम गरेका थियौं । पृथ्वी थकाली दाइले सपोर्ट गरेर हामीले त्यो एल्बम गरेका थियौं । 'तोरी भएछ' भन्ने गीत बजारमा आएपछि सुन्नेहरूले नयाँ आवाज आएछ भनेर नोटिस गर्नुभयो,' उनले सुनाइन् ।

*****

उनको माइक समाएर गीत गाउने सपना पनि पूरा भयो । स्टुडियो छिरेर गाउने सपना पनि पूरा भयो । रेडियो र टीभीमा बज्ने सपना पनि पूरा भयो । तर बाँकी थियो- पशुपति शर्मासँग गीत गाउने धोको ।

भन्छिन्, 'मलाई पशुपति शर्मासँग गीत गाउने ठूलो धोको थियो । मैले कसरी पशुपति दाइसँग नजिक भएर गीत गाउने होला भनेर सोचिरहेको थिएँ ।'

तर एकदिन पशुपति शर्माले एक्कासी फोन गरेर 'मालश्री स्टुडियो आऊ' भनेछन् । उनको खुशीले सीमा नाघ्यो । सोचिन्- सपनाले मुर्त रूप लिँदैछ ।

पशुपतिले सम्झनालाई फोन गरेर स्टुडियो यस्सै बोलाएका थिएनन् । यसका लागि पृथ्वी थकालीले सहयोग गरेका थिए । उनकै पहलमा यी सब भएको थियो ।

स्टुडियो छिरेर गाइन्-   

मेरो माया बसेको गाउँमा

बत्ती बाल्नै पर्दैन त्यो ठाउँमा

स्टुडियो गएर गाएर निस्कँदा उनलाई लाग्यो रे - सपना त पूरा भयो नि !

गीत चलेर यति धेरै हिट हुन्छ भन्ने सोच्नेतर्फ भन्दापनि उनको ध्यान पशुपति शर्मासँग गीत गाउनुमै गयो ।

सफल गीतसँग जोडिएर उनी भन्छिन्, ' पशुपति दाइसँग गीत गाउन पाउनु नै मेरो लागि ठूलो कुरा थियो । त्यो गीतले नै आज यहाँसम्म छु । पृथ्वी थकाली दाइको सहयोगलाई कहिल्यै पनि भुल्दिनँ । उहाँप्रति सम्मान छ ।'  

रेकर्डपछि के भने त पशुपतिले ?

उनले जवाफ दिइन्, 'हाइमा गाउने रैछिन् बहिनीले । आवाज मिल्दो रहेछ मसँग । रेन्ज मिल्यो भनेर कुरा गर्नुभयो ।'

पशुपति शर्मासँगको सहकार्यले उनी लोकगीतको क्षेत्रमा चिनिइन् । उक्त गीत हिटको सूचीमा पर्‍यो ।

'बत्ती बाल्नै पर्दैन'लाई दर्शक तथा स्रोताले रुचाएपछि सम्झनाले पछाडि फर्केर हेर्नुपरेन । लगातार गीत गाइरहेकी छन् । उनको व्यस्तता ह्वात्तै बढ्यो ।

त्यसपछि उनले कुशल बेलबासेसँग 'माली गाइले बाच्छी चाटेको', रमेशराज भट्टराईसँग पञ्जेबाजा गीत 'कहिले हो त सानु' गाइन् ।

यस वर्षको तीजमा पशुपति शर्मासँगै 'स्याङ्जा जाने बाटोमा तनहुँ', 'कान्छी बुहारी', 'क्यार्न माया मारिछौं' गाइन् । सबै गीतलाई दर्शकले रुचाए । 'औंठी बेरुवाको' पनि यसै वर्ष रिलिज भएको थियो । यसले पनि सफलता पायो ।

*****

गाउने मान्छे अभिनयमा किन ?

'अहिले युट्युबबाट हेर्ने चलन छ । मानिसहरूलाई जो नाच्यो उसैले गाएको भन्ने हुँदो रहेछ,' उनले उत्तर दिइन्, 'विदेशमा गएर कार्यक्रम गर्दा मैले यो गीत गाएको छु है भनेपछि ए भन्नहुन्छ ।'

हरेक कुराहरू हेरेरै थाहा हुने भएकाले देखिनैपर्छ भन्ने लागेको उनले बताइन् ।

भन्छिन्, 'सुहाउने गर्ने हो । नसुहाउने चाहिँ म गर्दिनँ ।

*****

आजकाल सम्झना भण्डारीको व्यस्तता बाक्लिएको छ । गीतहरू रेकर्ड भइरहेका छन् ।

एकैदिनमा दुईवटासम्म गीत बजारमा निस्कन्छन् नि ?

'म लगानीकर्ता भएँ । अनि मैले आफूले लगानी गरेका गीतहरू पनि आउँछन् नै । तर म व्यावसायिक गायिका भइसकेपछि अरूको गीतहरू पनि गाउनुपर्छ । गाएको पनि छु,' हालसम्म दुई सयको हाराहारीमा गीत गाएकी सम्झना भन्छिन्, 'तर उहाँहरूले एकैपटक निकाल्छु भनेर निकालेको पनि होइन । आएपछि मैले शेयर गर्नुपर्छ । त्यो मेरो धर्म हो ।'

सम्झना अन्तिममा भन्छिन्- मैले यो सांगीतिक उचाई पाउनुमा पशुपति शर्मा 'दाइ'को ठूलो साथ र सहयोग छ ।

 

असोज ११, २०७६ मा प्रकाशित

प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस