म्याग्दीमा दैनिक ३ करोडसम्म विप्रेषण प्राप्त

प्रतिकात्मक तस्वीर
असोज १८, २०७६

गलेश्वर – रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले  दशैंतिहारलाई लक्षित गरी जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थामा दैनिक ३ करोडसम्म विप्रेषण पठाउने गरेका छन् ।

असोजको पहिलो सातासम्म सामान्य भीडभाड रहेका वित्तीय संस्थामा ३ दिन सामान्य अवस्थाभन्दा ४ गुणा बढेको बैंक तथा वित्तीय संस्थाले जनाएको छ । 


ADVERTISEMENT

दशैंतिहारलाई लक्षित गरी पठाएको विप्रेषण लिन सदरमुकाम बेनीसहित जिल्लाका अन्य व्यापारिक केन्द्रमा दैनिक विप्रेषण लिन आउनेको भीड लागेको थियो । 

विश्वका विभिन्न देशमा रहेका म्याग्दीवासीले परिवारलाई खानपिन, लत्ताकपडासहित घरायसी खर्चलाई लक्षित गरी २० हजारदेखि ३ लाख रुपैयाँसम्म विप्रेषण पठाउने गरेको गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले बताए ।

जिल्लामा ४ वटा शाखा रहेको गरिमाको बेनी शाखाले मात्रै दशैंको अवधिमा करीब ५ करोड रुपैयाँको कारोबार गर्ने जनाएको छ । गरिमाले वार्षिक करीब १ अर्बको हाराहारीमा गरिमाले विप्रेषण भुक्तान गर्ने बताउँदै यस वर्ष विगतको तुलनामा बढेको जनाएको छ । 

जिल्लामा रहेका सेवाप्रदायक संस्थाले दिएको तथ्यांकअनुसार प्रतिव्यक्ति न्यूनतम १० हजारदेखि ५ लाख रुपैयाँसम्म वितरण भइरहेको लोकदीप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए ।

उनले सहकारीमार्फत वार्षिक ६ करोडको विप्रेषण वितरण गर्ने गरिएपनि दशैंको मौसममा अत्यधिक रहेको बताए । जिल्लामा सार्क राष्ट्रका साथै युरोप, अमेरिकासहित खाडी मुलुकबाट विप्रेषण भित्रिने गरेकामा करीव ७० प्रतिशत विप्रेषणको हिस्सा खाडीमुलुक रहेको छ ।

खाडी मुलुकबाट भित्रिने विप्रेषण घरायसी खर्चमै सीमित हुने गरेकोसमेत सेवाप्रदायक संस्थाले जनाएका छन् ।

असोज १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस