चिनियाँ राष्ट्रपति शीको नेपाल भ्रमण तयारी : यस्तो देखियो एयरपोर्टदेखि सोल्टी होटलसम्म नियाल्दा

असोज २३, २०७६

काठमाडौं- लगभग एक हप्ताको अन्तरालमा सरर काठमाडौं नियाल्ने हो तपाईंले अचम्मको परिवर्तन पाउनुहुन्छ । कारण- चिनियाँ राष्ट्रपति शी जिनफिङको नेपाल भ्रमण ।

चिनियाँ राष्ट्रपति शीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सफा र सुन्दर बनाउने कोशिश गरिएको छ । एयरपोर्टभित्रैबाट बाहिर निस्कने सडकका पोलहरूमा दुवै देशका राष्ट्रपतिको फोटो झुण्ड्याइएको छ ।


ADVERTISEMENT

आउनुस् पहिला तिनकुने नियालौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब दुई किलोमिटरको दुरीमा छ तिनकुने ।

तिनकुनेका खाली स्थानमा फूलहरू धमाधम रोपिँदै छन् भने पुराना बोटविरुवाको गोडमेल पनि भइरहेका छन् ।

सिनामंगल हुँदै तिनकुनेबाट बानेश्वर आउने बाटोको एउटा कुनामा कालो बोर्ड ठड्याइँदै छ । ३-४ जना मजदुर दिउँसोको गर्मीमा उक्त बोर्ड फिट गरिरहेका छन् । चिनियाँ राष्ट्रपति सी को स्वागतका लागि त्यहाँ 'डिजिटल बोर्ड' बनाउन लागिएको त्यहीँ खटिरहेका एक मजदुरले बताए ।

अर्को अचम्मको कुरा के हो भने तिनकुनेको खाली मैदान अहिले बाहिरबाट देखिँदैन । मैदानको छेउमा कृतिम डाँडा सिर्जना गरिरहेको छ त्यो पनि रातारात । कृतिम डाँडोमा अलिकति पनि माटो देख्न मुश्किल छ । चारैतिर दुबोका चक्लाले ढाकिएको छ । अझ दुबोको बीचबीचमा विभिन्न प्रजातिका फूलहरू फुलेका छन् ।

डाँडाको टुप्पामा लस्करै धुपी र पामका विरुवाहरू रोपिएका छन् भने कतिपय त रुखकै रूपमा उभ्याइएका छन् ।

१२ : ४५ बजे सल्यानका तीन युवा एक हातले पसिना पुछ्दै अर्को हातले मुङ्ग्रोजस्तो देखिने औजारले माटोमा टाँसिएका दुबो हिर्काउँदै थिए ।

किन यस्तो गरेको ?

१७ वर्षीय छवि बोहराले भने, 'पानी हालेपछि मुङ्ग्रोले थिच्यो भने यो चाँडै सर्छ अनि चाँडै सेट हुन्छ ।'

शिवपुरी नर्सरीबाट खटाइएका उनलाई रातारात रोपिएका दुबो र बिरुवाहरू सरेर हरियाली छाउनेमा शंका छ । भन्छन्, 'दुबो र विरुवामा पानी पुगेकै छैन । बिहान बेलुका माथिमाथि पानी हालेर के हुन्छ र ? पानी र मल भएन भने यिनीहरू सर्दैनन् ।'

छवि बोहरा, कृष्ण कुँवर र बुद्धि विष्टलगायतले नै तिनकुनेमा दुबो टाँस्ने तथा बिरुवा रोप्ने काम गरेका रहेछन् ।

दशैंमा घर नगएको त ? तीनै जना एकै लयमा जवाफ फर्काउँछन्, 'दशैंमा गइएन । घरबाट त बोलाउनुभएको थियो । अब तिहारमा जाने । 'त्यस्तै तीनकुने आसपासमै एक टोली सडकका पेटी बढार्न व्यस्त देखिन्थे । सडकमा दशैंको टीका र जमरा लगाएर ओहरदोहर गरिरहँदा सडक बढारिरहेका टोलीका एक रणबहादुर थापालाई राम्रोसँग दशैं मनाउन नपाउँदा खिन्न लागेको रहेछ । भन्छन्, 'टिका लगाएर भ्याइएकै छैन । सरकारले सडक बढार्न बोलायो हजुर । आउन परिहाल्यो । चीनबाट ठूलो मान्छे आउने अरे !'

अब तिनकुने हुँदै बानेश्वरतर्फका सडकका कुरा गरौं । तिनकुने कट्नेबित्तिकैको पुलका रेलिङ रङ्ग्याइएको छ भने भित्तामा चिनियाँ राष्ट्रपतिको स्वागतका लागि तयार पारिएका बोर्ड अड्याइएको छ । तर ती सद्दे छैनन् । ठाउँठाउँमा च्यातिएका छन् । यद्यपि बोर्ड च्यात्नेलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

एयरपोर्टदेखि सोल्टी होटलसम्मका पोलहरूमा चिनियाँ राष्ट्रपति सी चिन पिङ र राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो झुण्ड्याइएको छ । केही पोलहरूमा राष्ट्रपतिहरूको फोटो टाँसिइसकिएको छ भने केहीमा धमाधम टाँस्ने काम भइरहेको छ । टेकुदेखि सोल्टीमोडका केही पोलहरूमा बिहीवार अपरान्हसम्म फोटो झुण्ड्याइएको छैन ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि उनको सवारी रहने स्थानलाई आकर्षक देखाउने प्रयत्न भइरहेको छ । काठमाडौंका सडकहरू सफाचट् बनाउने कार्यअन्तर्गत बिहीवार महानगरपालिकाका ब्रूमरहरूले धुलो टिपिरहेका थिए । हालै कालोपत्रे गरिएका सडकमा जेब्राक्रसदेखि छेउछेउका लाइनहरूले अझ आकर्षक देखाउँछ ।

माइतीघर र सोल्टीमोडमा पनि डिजिटल बोर्ड जडान भइरहेको छ ।

सोल्टीमोडदेखि सोल्टी क्राउन प्लाजासम्मको सडक पनि सफा गरिएको छ भने भित्तामा रंग लगाइएको छ । सोल्टी क्राउन प्लाजा छिर्ने मुख्य गेटभन्दा लगभग ३० मिटर परको सडकले भने मुहार फेर्न सकेको छैन । उक्त सडक पुरानै अवस्थामा छ ।

चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २५ गते नेपाल भ्रमणमा आउँदैछन् ।

हेर्नुहोस् रंगिएको काठमाडौं :

 

असोज २३, २०७६ मा प्रकाशित

नारायण अर्याल

पत्रकार अर्याल लोकान्तर संवाददाता हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस