शीलाई विमानस्थलमा कसले स्वागत गर्छ ? सरकारका प्रवक्ता भन्छन्– त्यतिखेरै थाहा पाउनुहुन्छ !

फाइल फोटो
असोज २३, २०७६

काठमाडौं– चिनियाँ राष्ट्रपति शी चिनफिङको स्वागतका लागि विमानस्थलमा को जाने भन्ने कुरा टुंगो लागिनसकेको सरकारले जनाएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा आउन लागेका विशिष्ठ पाहुनाको स्वागतका लागि सरकारले त्यतिबेलै प्रबन्ध गर्ने बताएका हुन् । 


ADVERTISEMENT

‘राष्ट्रपतिको स्वागतका लागि को जाने त्यतिखेर नै थाहा हुन्छ, धेरै जिज्ञासाको विषय होइन,’ पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री बाँस्कोटाले भने ।

चिनियाँ राष्ट्रपति शीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थलमा जाने खालका चर्चा चलेको छ । 

मन्त्री बाँस्कोटाले यो विषय मिडियामा हेडलाइन बनाउने विषय नभएको टिप्पणी गरे । तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि राष्ट्रपति भण्डारी विमानस्थल पुगेकी थिइन् ।

नेपालको दुईदिने राजकीय भ्रमणका लागि राष्ट्रपति शी शनिवार काठमाडौं आउँदैछन् ।

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस