'सुपुर्दगी सन्धिका बारेमा मलाई केही थाहा छैन' - प्रवक्ता बाँस्कोटा

फाइल फोटो
असोज २३, २०७६

काठमाडौँ -सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल-चीनबीच हुने भनिएको सुपुर्दगी सन्धीका बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न बिहीवार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल-चीनबीच हुने भनिएको सुपुर्दगी सन्धीका बारेमा आफूलाई थाहा नभएको बताएका हुन् ।


ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले गत साल असारमा चीनको औपचारिक भ्रमण गर्दा सुपुर्दगी सन्धिका लागि नेपाल तयार रहेको प्रतिबद्धता जनाएका थिए । त्यतिबेला जारी गरिएको संयुक्त विज्ञप्तिमा सुपुर्दगी सन्धीका बारेमा उल्लेख गरिएको थियो ।

सुपुर्दगी सन्धीका बारेमा धेरै पहिलादेखि नै नेपाल-चीनबीच छलफल भइरहेको गृहमन्त्रालय स्रोत बताउँछ । चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणका क्रममा यो सन्धीमा हस्ताक्षर हुने वा नहुने अहिल्यै किटान गर्न नसकिने मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।

सुपुर्दगी सन्धीमा हस्ताक्षर हुनु भनेको विशेषतः आतंकवादी गतिविधिमा संलग्न तथा अपराध गरेर एक–अर्काको देशमा लुकेका नागरिकलाई पक्राउ गरी औपचारिक रूपमा बुझाउनु पर्ने प्रावधानलाई दुवै पक्ष औपचारिक रूपमा सहमत हुनु हो ।

 

असोज २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस