ऐतिहासिक झयाली पोखरी पुनःनिर्माण

असोज २७, २०७६

पोखरा –कास्कीको मादी गाउँपालिका–३ याङजाकोटमा गाउँको बीचमा रहेको प्राचीन ऐतिहासिक झयाली पोखरीको पुनःनिर्माण गरिएको छ । 
    
मादी गाउँपालिकाद्वारा करीब रु १५ लाख ४८ हजार ७०० को लागतमा पोखरीको पुनःनिर्माण गरी बीच भागमा भगवान बुद्धको मूर्ति स्थापना एवं चारैतिर तारबारले घेरिएको छ । पुनःनिर्माण एवं संरक्षण योजनामा स्थानीयको साथ सहयोगका कारण योजना तोकिएकै समयमा चित्त बुझ्दो रुपमा सम्पन्न भएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले जानकारी दिए।
    
कतिपय अवस्थामा योजना र पैसा मात्रै भएर काम सम्पन्न नहुने बताउँदै उनले  यसलाई सम्पन्न गर्न नेतृत्व गर्ने व्यक्तिको पनि त्यतिकै ठूलो भूमिका रहने उल्लेख गरे। आगामी दिनमा याङजाकोटमा लाग्ने बुद्धजयन्ती मेलामा पोखरीको बुद्ध मूर्तिमा पूजा गरेर मेला शुरू गर्न सकिने उनको भनाइ छ ।
    
पोखरीमा रङरोगन गरी अझै सुन्दर बनाउने काम बाँकी रहेको बताउँदै उनले आगामी दिनमा पोखरीको वरिपरि बाटो ढलान गर्ने, फूल रोप्ने, बत्ती जडान गर्नेलगायतका काम गरिने जानकारी दिए। झयाली पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य गुरुङले ऐतिहासिक पोखरी पुनःनिर्माणसँगै यसले यहाँको सुन्दरता थपेको र पर्यावरणीय संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।


ADVERTISEMENT

असोज २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार