राजपाको चेतावनी– सांसद साह रिहा नभए उत्पन्न परिस्थितिको जिम्मेवार सरकार हुने

असोज २८, २०७६

काठमाडौं– जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई अविलम्ब रिहाई गर्न राष्ट्रिय जनता पार्टी (राजपा) ले माग गरेको छ ।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मंगलवार एक विज्ञप्ति जारी गर्दै साहलाई अविलम्ब रिहाई नगरिए उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्ने चेतावनी समेत दिएका छन् ।


ADVERTISEMENT

'बुद्ध एयरको जहाज घण्टौंसम्म नआउँदा छटपटाइरहेको बिरामीको पीडा हेर्न नसकेर बुद्ध एयरको काउन्टरमा सोधपुछ गर्न जाँदा सामान्यरूपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाइयो,' ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कहिल्यै समयमा नआउने जहाजहरूको मनोमानीविरुद्ध बोल्दा साहलाई काठमाडौं एयरपोर्टबाट पक्राउ गरिएको घटनाको पार्टीले घोर भर्त्सना गर्छ ।'

ठाकुरले एयरलाइन्सको सेवा भरपर्दो र प्रभावकारी हुनुपर्ने माग समेत गरेका छन् ।

हेर्नुहोस्, विज्ञप्ति :

असोज २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस