बागलुङमा चिया खेतीको लहर

असोज ३०, २०७६

गलकोट – ‘चिया’ भन्ने बित्तिकै धेरैले इलाम जिल्लालाई सम्झन पुग्छ । चिया बगानकै कारण देशभित्र र बाहिर यो जिल्ला प्रख्यात छ ।

हिजोआज अन्य जिल्लामा पनि व्यावसायिक चिया खेती गर्न थालिएको छ । पछिल्लो समय बागलुङ व्यावसायिक चिया खेती हुने जिल्लाको पङ्क्तिमा देखापर्न थालेको छ । 


ADVERTISEMENT

तीन वर्ष अघिसम्म क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा बाहेक पश्चिमाञ्चल विकास क्षेत्रमा व्यावसायिक चिया खेतीको अभ्यास निकै कम थियो । चिया खेतीका लागि उच्च पहाडी र भिरालो जमीन उपयुक्त हुने भएका कारण पहाडी क्षेत्रमा चिया खेतीतर्फको आर्कषण बढ्दो छ । 

बागलुङ जिल्लामा तीन वर्ष अघिदेखि व्यावसायिक रुपमा चिया खेती गर्न थालिएको हो । त्यसअघि पूर्व ऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा लगायतको अगुवाइमा साविकको अमरभूमि गाविसको सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीमार्फत व्यावसायिक चिया खेती शुरू गरिएको हो । 

कम्पनीले बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ सिरबारेमा ५६२ रोपनी जग्गा खरिद गरेर चिया खेती गरेको थियो । ताराखोला पछि बागलुङ नगरपालिकाले नगरका विभिन्न स्थानमा चिया खेतीको सम्भाव्यता अध्ययन गरेर परीक्षण स्वरुप चियाका बोट लगाएको छ । दुई वर्ष पहिले सिगानामा चियाको व्यावसायिक खेती थालिएको हो भने हालै मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँमा छनोट भएको काँठेखोला गाउँपालिका–७ रेशमा चिया खेती गरिएको छ । धम्जा, भकुण्डे र सल्यानमा समेत चिया खेती शुरू गरिएको छ ।  

जिल्लामा चिया खेतीको प्रचूर सम्भावना भएकाले प्रारम्भिक अध्ययन पछि जिल्लामै पहिलो पटक व्यावसायिक चिया खेती शुरूगरिएको गोल्डेन टी स्टेट कम्पनीका प्रवन्ध निर्देशक रामजीप्रसाद शर्माले बताउनुभयो । शर्माका अनुसार ५६२ रोपनी जग्गा कम्पनीले खरिद गरेको हो र अहिले १०० रोपनी जग्गामा चिया खेती गरिएको छ । अन्य जग्गामा चिया खेती विस्तारका लागि बृृहत् नर्सरीसमेत निर्माण गरिएको कम्पनीले जनाएको छ । 'हामीले बागलुङमा ठूलो परिणाममा चिया उत्पादन गर्ने लक्ष्य राखेका छौं,' प्रबन्ध निर्देशक शर्माले भने, 'चियामात्र हैन, चियाका बिरुवा समेत बिक्री गर्ने गरी नर्सरी स्थापना गरेका छौं ।' 

कम्पनीमा हाल दुई जना चिया प्रविधिज्ञ छन् र दैनिक पाँचदेखि २५ जनासम्मले ज्यालामा काम पाइरहेका छन् । चिया परिपक्व भएर टिप्न पाँच वर्ष लाग्ने भए पनि परम्परागत तरीकाबाटै चिया उत्पादन गर्न थालिएको कम्पनीका प्रविधिज्ञ निर्मल घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार चियाले पूर्ण क्षमतामा उत्पादन दिन पाँच वर्ष लागे पनि तीन वर्ष पछि चिया टिप्न थालिनेछ ।

चियाका दुई प्रकार छन् – सिटिसी र ग्रीन । घिमिरेले भने, 'नेपालमा हाल रुचाइएको ग्रीन चिया हो । यो स्वास्थ्यका लागि पनि लाभकारी मानिन्छ ।' अठार जनाको शेयर रहेको यस कम्पनीले चिया खेतीका लागि जग्गा खरिद, कम्पनी रहेको स्थानसम्म सडकको पहुँच तथा आवास गृह निर्माणमा अहिलेसम्म तीन करोड लगानी गरिसकेको प्रवन्ध निर्देशक शर्माले जानकारी दिए। 

चियाको सम्भावना देखेपछि प्रविधिज्ञको सल्लाह अनुसार तीन वर्ष अघि नुवाकोटबाट ४२ हजार चियाका बोट लगाएर शुरूगरिएको चिया बगानमा अहिले ७५ हजार चियाका बिरुवा छन् । वर्षेनी २० देखि २५ हजार चियाका बिरुवा थप्ने गरी आफ्नै नर्सरीमा चियाका बिरुवा उत्पादन भइरहेको छ । 'अहिले परम्परागत प्रविधिबाट थोरै परिणाममा चिया उत्पादन गर्न थालेका छौं,' प्रबन्ध निर्देशक शर्माले भने, 'दुई वर्षपछि चिया प्रशोधन औजार खरिद गरी चियाको बजारीकरण गर्ने योजना छ ।' उनका अनुसार जिल्लामा अन्य व्यक्ति वा समूहले उत्पादन गरेको चियालाई समेत यसै कम्पनीमार्फत प्रशोधनको व्यवस्था मिलाउने लक्ष्य राखिएको छ ।   

बागलुङ नगरपालिकाले नगरभित्र चिया खेतीको सम्भाव्यता अध्ययन गरेर दुई वर्ष पहिला बागलुङ नगरपालिका–८ सिगानामा १० हजार चियाका बिरुवा अनुदानमा कृषकहरुलाई वितरण गरेको थियो । अहिले त्यहाँका कृषकहरुले चियाका बिरुवाको सङ्ख्या १४ हजार पुर्‍याएको वडाध्यक्ष राजन जिसीले बताए। 'नगरले वर्षेनी चिया खेती विस्तारका लागि अनुदानमा बिरुवा वितरण गर्दै आएको छ,' वडाध्यक्ष जिसीले भने– 'चिया खेतीका लागि कृषकहरु उत्साहित भएका छन् ।'

बाँझो जमीनमा चिया खेती होला भन्ने नसोचेका सिगानाका चिया कृषक खिमबहादुर खड्का स्वयं चिया खेतीमा लागि परेका छन् । उनले आफ्नो बाँझो जग्गामा दुई हजार चियाका बिरुवा लगाएका छन् । बानपा – १० भकुण्डेमा पनि चिया खेतीको परीक्षण गर्न बिरुवा लगाइएको छ । 

काठेखोला गाउँपालिकामा कतै चिया खेती त कतै परीक्षण थालिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँमा छानिएको काठेखोला गाउँपालिका–७ रेशका कृषकहरु पनि हौसिएर चिया खेतीतर्फ लागेका छन् । रेशमा हालै मात्र १४ हजार चियाका बिरुवा लगाइएको छ ।

रेशका कृषकहरु अहिले चियाका बोट काँटछाँट र स्याहारमा व्यस्त छन् । 'अन्य खेती भन्दा चिया खेतीको राम्रो सम्भावना भएका कारण मुख्यमन्त्री कार्यक्रममा चिया खेती समावेश गरिएकोे रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए। 

काठेखोलाकै धम्जामा पनि यस वर्ष १४ हजार चियाका बिरुवा लगाइएको छ । धम्जाको युनिक आधारभूत विद्यालयले सात हजार र निजी स्तरबाट थप सात हजार चियाका बिरुवा लगाइएको काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष केशव थापाले जानकारी दिए।

समुद्री  सतहबाट एक हजार ८०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने चिया प्रविधिज्ञ निर्मल घिमिरे बताउनुहुन्छ । माटोको अवस्था, चिस्यान, भिरालो जग्गा तथा हावा नछेक्ने खुला भू–बनोटमा चिया खेती फस्टाउने प्रविधिज्ञ घिमिरेको अनुभव छ । बागलुङका गाउँ गाउँमा चिया खेती विस्तार हुन थालेका कारण केही वर्षभित्रै जिल्लाबाट अन्यत्र चिया निर्यात हुनेमा यहाँका चिया उद्यमी कृषकहरु धुक्क देखिन्छन् ।  खेमराज गौतम, रासस

असोज ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस