७ वटै प्रदेशमा ट्रमा सेन्टर स्थापनाको तयारी

असोज ३०, २०७६

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा चोटपटक उपचार केन्द्र (ट्रमा सेन्टर) स्थापना गर्ने भएको छ । 

सडक दुर्घटना तथा विपद्मा परेकालाई विशेषज्ञ सहितको उपचार गर्न ट्रमा सेन्टर खोल्न लागेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले जानकारी दिए ।


ADVERTISEMENT

विश्व ट्रमा दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उनले सो जानकारी दिँदै स्वास्थ्य क्षेत्रको गुणस्तरीय विकासका लागि बजेट, जनशक्ति तथा पूर्वाधारको अभाव रहेको चर्चा गरे ।

‘संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्नुपर्छ । अर्थ मन्त्रालयको स्वास्थ्यमा बजेट बढाउन ध्यान गएको छैन ।  सातवटै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्य मन्त्रालयको नीति छ,’ उनले भने ।

स्वास्थ्य सचिव खगराज बराललले ७ वटै प्रदेशमा ट्रमा सेन्टरको आवश्यकता औंल्याउँदै काठमाडौंको ट्रमा सेन्टरको विकासमा मन्त्रालयले ध्यान दिएको बताए । ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले अन्य उपचारको तुलनामा ट्रमाको उपचारका लागि लामो समयसम्म गर्नुपर्ने भएकाले दुर्घटना नै हुन नदिन विशेष सचेतनाका कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याए ।

ट्रमा सेन्टरमा थप उपकरण र जनशक्ति अभाव  रहेको उनले गुनासो गर्दै तत्काल एमआरआई  उपकरणको अति आवश्यकता रहेको बताए । हाल सेन्टरमा ११ श्ययाको आईसीयू १० शय्यामा मात्र सञ्चालनमा छ । आर्थिक वर्ष २०७२/७३ मा चोटपटक लागेर अन्तरङ्ग सेवा (ओपीडी) लिने बिरामीको संख्या २८ हजार ३२३ रहेकामा गत आर्थिक वर्षमा सो संख्या ७९ हजार २३९ रहेको थियो ।

यसैगरी सेन्टरमा आव २०७२/७३ मा आकस्मिक सेवा  लिने बिरामीको संख्या ५ हजार ४६६ रहेको थियो ।  आव २०७५/७६ मा १८ हजार २६३ जनाले सेवा लिएको सेन्टरले जनाएको छ । आव २०७२/७३ भर्ना हुनेको संख्या ३ हजार ७११ थियो भने अहिले बढेर चार हजार २४ जना पुगेको छ ।

सवारीसाधन दुर्घटना मात्र प्रत्येक दिन ५ देखि ७ तथा वार्षिक करीब २ हजार जनाको अकालमा मुत्यु हुने  सो अवसरमा जानकारी दिइएको थियो ।  कार्यक्रममा प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले साउन र भदौमा मात्र काठमाडौं उपत्यकामा  सवारीसाधन दुर्घटनामा परी २८ जनाको मृत्यु भएको बताए ।

दुर्घटनामा मृत्यु हुनेमध्ये महिला २४ प्रतिशत तथा पुरुष ७६ प्रतिशत रहेका छन् ।
 

असोज ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस