पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
सेनापतिज्यू, नमस्कार !
आराम होइसिन्छ ? यसरी सोधौं भने यो आइस्योस्, खाइस्योस् भन्ने शाही ठकुरी लवज तपाईंले हटाइदिनुभयो भन्ने चर्चा चलेको थियो । यसकारण सरलाई सन्चै होला क्या रे भन्न चाहन्छु । अब हामी त बेरोजगार छौं, कसले सीमा मिच्छ, कसले नाकाबन्दी गर्छ, कसले अनुदान दिन्छ यिनै यिनै विषयमा किचलो गरेर समय बिताउँछौं । अब यूट्युबतिर अघोरी बाबाले स्थान जमाएका छन् । तिनको दुलहीका कुराले आम नेपाली जनता भड्किएको आभास मिलेको छ । अरू सुखदुःख चलिरहेकै छ । अनि अहिले लिपुलेकको मायामा भावुक भएर युवाहरू छाती पिटेर जागेका छन् । आन्दोलन चलेको छ । आगो बलेको छ ।
तपाईं पूर्णचन्द्र थापालाई प्रगतिशील सेनापतिका रूपमा मान्नेहरू धेरै छन् । मलामी, सलामी र गुलामीको लिगेसी बोकेको नेपाली सेना अब पूर्णतया व्यावसायिक बन्दैछ भन्न सकिन्छ । केही दिनअघि संयुक्त राष्ट्रसंघ जान लागेका एकजना चिनारु सिपाहीले भन्दैथिए, ‘अहिलेका चिफ साप नभएको भए हामी पहुँच नभएकाहरू कहाँ जान पाउनु ? म उहिल्यै जानुपर्ने हो, पालो मिचेर अरू गए । म अहिले ।’ यसकारण एक सिपाहीमा पनि तपाईंको छाप राम्रै देखियो ।
नेपाली सेनाको आफ्नै संस्कार र इतिहास छ भन्ने आभास जनतालाई पार्ने अवसर तपाईंको काँधमा आएको छ । नेपाली सेनाभित्र यथावत रहेको राणा, शाही हुकुमी शासनको विरासतलाई तोडेर जनताको सेना बनाउनुपर्नेछ अभिभारा तपाईंको काँधमा छ ।
आज यो खुलापत्रमा समसामयिक विषयमा केही टिपोटहरू व्यक्त गर्ने कोशिश गरेको छु । यसलाई आम नेपाली नागरिक, खासगरी देशभक्त एक युवा, को गुनासोका रूपमा ग्रहण गरिदिनुहुनेछ भन्ने अपेक्षा छ । हजुरलाई अवगत नै होला, भारतले गत हप्ता सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा कालापानी क्षेत्रलाई भारतीय सीमाभित्र राखेको छ । लिपुलेक पुरै भारततर्फ देखिएको छ । उनीहरू नेपालको भूभागमा सैन्य संरचना बनाएर बसिरहेका छन् ।
नेपालमा यसको व्यापक विरोध भइरहेको छ । नेपालको परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गरी कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ भनेको छ । त्यसको प्रतिक्रियामा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले बिहीवार दिल्लीमा बोल्दै उक्त नक्साले भारतको सार्वभौम सीमा निर्धारण गरेको तर्क गर्दै नयाँ नक्साले कहीँ कतै पनि नेपालसँगको सीमा परिमार्जन नगरेको दाबी गरेका छन् । तर लिम्पियाधुरादेखि लिपुलेकसम्मको करीब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समेटेर भारतले गएको शनिवार आफ्नो नक्सा सार्वजनिक गरेर विस्तारवादी नीतिलाई थप मजबूत बनाएको कुरा घामजत्तिकै छर्लंग छ । यस विषयलाई नेपाली सेनाले कसरी नियालिरहेको छ । त्यो कुरा जनतालाई थाहा हुनुपर्छ भन्ने लाग्छ ।
कश्मीर मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाउँदै आएको पाकिस्तानले भारतीय नियन्त्रणरेखा (एलओसी)मा १०० विशेष कमान्डो फोर्स उतारेको छ । उनीहरूले आफ्नो सीमामा सैन्य हस्तक्षेप बढाइरहेका छन् । भारतको नयाँ नक्सालाई पनि पाकिस्तानको सरकार, खासगरी सेना प्रमुख, ले नै स्वीकार गर्न नसक्ने बताएका छन् । भारतको केवल पाकिस्तानसँग हैन, उत्तरको छिमेकी देश चीनसँगको सीमामा पनि विवादहरू रहँदै आएका छन् । जस्तो कि, कालापानी र लिपुलेक जस्तै दोक्लमका बारेमा त्यहाँ ठूलै लफडा भएको नजीर छ । भुटान देश कमजोर नै भए पनि उसले चीनलाई गोप्य रूपमा सहयोग माग्यो । दोक्लम क्षेत्र चीन र भुटानको सीमा क्षेत्र त हो नै तर नजिकै भारतीय सीमा पनि छ । दोक्लमभन्दा करीब ३० किलोमिटर तल चुम्बी उपत्यकाको पुछारमा चीन, भुटान र भारतको सिक्किम राज्यको सीमा जोडिन्छ ।
चीन, भारत र भुटान तीन मुलुकको सीमा जोडिएको दोक्लम क्षेत्रमा चीन र भारतका लगभग तीन हजार सैनिक आमनेसामने भएर बसेका थिए । पछिल्लो समयमा चीन र भारतीय सेनाको सीमामा भएको विवादको भिडियो निकै चर्चामा समेत रहेको थियो । चीन र भारतले सीमाक्षेत्रको पहिलो पंक्तिमा बस्ने सैनिक जवानहरूलाई निःशस्त्र राख्ने गरेका छन् ताकि दुवै पक्षबीच तुरुन्तै मुठभेड नचुलियोस् । पहिलो पंक्तिमा रहेका सिपाहीलाई हतियार मात्र हैन, हातखुट्टाले हानाहान गर्न पनि निषेध गरिएको छ । सीमाक्षेत्रमा घम्साघम्सी पर्यो भने यी सैनिकहरू छाती र जिउले एकअर्कालाई ठेलाठेल गर्छन् ।
आफ्नो सीमाभित्र छिरेका ‘शत्रु’ सेनालाई ठेलाठेल गरेरै सीमा कटाउन खोज्छन् । केही यस्तै दृश्य देखिएको थियो । तर हाम्रो हकमा भने के तर्क सुनिन्छ भने भारतसँग हाम्रो सेना लड्न सक्दैन त किन सीमामा जाने ? सीमामा सेना जाने भनेकै लड्न जाने हो भन्ने भ्रम छ हामीकहाँ । मलाई लाग्छ, यो हास्यास्पद सोच हो ।
नेपालको सम्दर्भमा धेरैले नेपाल–भारत सीमामा देखिएका समस्याहरूलाई राजनीतिक कारण मात्रै देखाएर विश्लेषण गरेको देखिन्छ, सुनिन्छ, पढिन्छ । यसमा राजाहरू, नेताहरूलाई दोष थोपार्ने काम पनि गरिन्छ । केही हदसम्म यो सत्य नै होला तर पूर्ण सत्य यही मात्र हो जस्तो मलाई लाग्दैन ।
राजनीतिक कारण मात्रै सबैथोक होइन । हाम्रा सीमाहरूको रक्षा गर्नका लागी नेपाली सेनाले के कस्तो भूमिका खेल्यो र सरकारले कस्तो सुरक्षा रणनीति बनायो भन्ने सवाल प्रमुख हो जस्तो लाग्छ । सीमा रक्षा भन्नेबित्तिकै सीमामा गएर फायर खोलिहाल्ने भन्ने पनि हैन । मलाई लाग्छ, हाम्रो सेनाको बर्दी नै सीमा रक्षाको लागि काफी हुन्छ । तर हाम्रो शासकहरूले न यसबारे कहिल्यै सोचे, न सेनाले नै सीमा रक्षालाई गम्भीरताका साथ लिएको आभास जनतालाई भयो । यस कुरामा सेनापतिज्यू पनि सहमत हुनुहुन्छ भन्ने लाग्छ । सीमाको बारेमा नेपाली सेना किन गम्भीर हुन सक्दैन भन्ने आजको मुख्य प्रश्न हो । भारत र चीनसँग जोडिएका सीमा वरिपरि काँडेतार लगाउन त नसकिएला तर हाम्रो
देशको झण्डा गाडेर झण्डामुनि बर्दीधारी नेपाली सेना राख्न त पक्कै सकिएला । अनि लड्नै नसक्ने त सेना हुँदैन होला ।
नाकाबन्दीको समयमा नेपाली सेनाले निकै ठूलो सकारात्मक भूमिका खेलेको हो भन्ने सुनिन्छ । मलाई त्यो हो जस्तो पनि लाग्छ । सेनाको डिप्लोमेसी सफल भएकै हो । अब यो सीमाका बारेमा पनि सेनाले डिप्लोमेसीको भूमिका चाल्न जरूरी छ । यहाँको भारतीय दूतावासमा घाँटी फुट्ने गरी कराएर हुनेवाला केही हैन । लिपुलेक, कालापानीको आफ्नो भूभाग मिचियो भन्दै युवाहरू भारतीय दूतावासको अगाडि आक्रामक शैलीमा प्रदर्शन गरिरहेका छन् । हो, यो युवाहरूको आक्रोश हो, स्वाभाविक छ । तर नेपालीहरूको आक्रोश भने वर्षौंदेखिको हो । हाम्रो सेना कहिले जाने हो सीमामा ? लिपुलेकतर्फ कमान्डो फोर्स किन नपठाउने ? के नेपाली सेनाको काम बाटोको ठेक्कापट्टा मात्रै हो ? त्यस्तो त हैन होला ।
कुनै पनि देशमा सीमा रक्षाको काम सेनाको हुन्छ । हो, रणनीति सरकारको हुन्छ । तर जसले जतिसुकै गफ गरे पनि सेनाको प्रमुख काम भनेको सीमा रक्षा नै हो । अझ हाम्रो जस्तो भौगोलिक रूपमा संवेदनशील देशमा सेनाको प्रमुख काम सीमा रक्षा नै हो । राजनीतिक रूपमा हामीले हाम्रो सीमाका बारेमा भाषण गर्न सकौंला, सीमाका बारेमा गीत, गजल, कविता लेख्न सकौंला, भावुक भएर रुन पनि सकौंला तर व्यावहारिक रूपमा सीमाको रक्षा गर्ने काम सेनाकै हो । लाइन अफ कन्ट्रोल खडा गरेर २० किलोमिटर वारिपारि पठाएर सेना तैनाथ हुने सीमाको नियममै पर्छ । तर नेपाल–भारतको कुनै पनि सीमामा हाम्रोतर्फको सुरक्षाबलका रूपमा न सेना देखिन्छ, न त प्रहरी नै । सिमानाहरू पुराना पिल्लरहरूको भरमा छन् । यस युगमा मानिसकै भरोसा हुन्न, अब पिल्लरको के कुरा ?
पढ्नुहोस्, यो पनि :
कालापानी–लिपुलेक अतिक्रमण : भारतीय पक्षको चुनौती– नेपालले आफ्नो नक्सा जारी गरे हुन्छ !
हाम्रो देशमा नेपाली सेनाको बलियो फर्मेसन छ । सेनाको आफ्नै इतिहास पनि छ । शायद संसारको सबैभन्दा पुरानो सेनाहरूको सूचीमा हाम्रो देशको सेनाको नाम अग्रपंक्तिमा आउने गर्छ । तर सेनाले के गर्दैछ, कस्तो भूमिका खेल्दैछ भन्ने कुरा आम जनतालाई थाहा छैन । म केही महिनाअघि दार्जिलिङ गएको थिएँ । हरेक वर्ष नेपालीका घर जमीन भारततर्फ एक दुई मिटरका हिसाबले सर्छन् भन्ने गुनासो सुनिएको थियो । सिमानामै भारतका सेना थिए, तर नेपालपट्टि कतै थिएनन् । सीमा भनेको देशको सबैभन्दा अन्तिम भूभाग हो । यो देशको मेरुदण्ड हो । देशको मेरुदण्डलाई अंग्रेजहरूबाट खोसेर भारतीयहरूले बडो चलाखीपूर्वक रक्षा गरिरहेका छन् । तर हामी एकदमै निकम्मा भएका छौं । देशको सानोतिनो भाग मिचिँदै गयो भने अन्तिममा देशै नरहन पनि सक्छ ।
आपसी समझदारीका साथ पुराना नक्सा तथा डकुमेन्टका आधारमा नेपाल–भारत सीमा विवाद समाधान गर्नुपर्नेमा भारतले त्यसलाई नकार्दै आएको छ । सीमा विवाद समाधानको विषय उठेपछि भारतले सुस्ता र कालापानी क्षेत्रबाहेकका विषयमा मात्र छलफल गर्न सकिने बताउँदै आएको छ । सबैलाई थाहा भएकै कुरा हो, सन् १८१६ मार्च ४ मा दुई देशबीच सुगौली सन्धि भएपछि नेपालले आफ्नो भूमि गुमाएको छ । सुगौली सन्धिपछि नेपालले मेची नदीदेखि टिष्टासम्म, महाकाली नदीदेखि सतलज र तराई क्षेत्रसमेत गुमायो । त्यतिबेला नेपाल तराईविहीन थियो । सन १८१६ डिसेम्बर ११ मा नेपालले पूर्वी तराईको राप्ती–कोशी क्षेत्र फिर्ता पायो भने १८६० नेभेम्बर १५ मा पश्चिम तराइको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता पाएको थियो । अब अझ कति गुमाउनुपर्ने हो ? सीमाको गीत कति गाउनुपर्ने हो ? त्यो भने अनिश्चित छ ।
हाम्रो देशमा सीमा रक्षाको कुनै रणनीति छैन भन्ने लाग्छ । सीमा सुरक्षा बलको अवधारणा लागू गरिएकै छैन । खुला सीमाहरू भगवान् भरोसामा चलेका छन् । चीनको सीमाक्षेत्रमा हेर्यो भने पनि नेपालका प्रहरीहरू पालमुनि बसिरहेका देखिन्छन् भने चीनतर्फ सेनाहरू ब्यारेकमा बसिरहेका देखिन्छन् । भारतकै हकमा कुरा गर्ने हो भने भारतले सेन्ट्रल आर्म्ड पुलिस फोर्सेस (सिएपिएफ) अन्तर्गत विभिन्न ६ वटा फोर्स गठन गरेको छ । त्यसमध्ये एक सशस्त्र सीमा बल (एसएसबी) हो । एसएसबी भारत–चीन युद्धपछि सन १९६३ मा गठन गरिएको हो । एसएसबीलाई सीमा निगरानी, अवैध आप्रवास तथा तस्करी नियन्त्रण गर्ने जिम्मेवारी छ । तर नेपालको सिमानामा भएका एसएसबीको काम भने नेपालको सीमा मिच्ने, सानो विवादमा गोली चलाउने र नेपाली बस्ती लुटपाट गर्ने गरेको देखिन्छ । नेपालको सुरक्षा अंगले सीमा त के नेपाली जनताको धनजनको रक्षा पनि गर्न नसकेको स्थिति छ ।
जस्तो कि, एक रेकर्डका अनुसार २०७३ सालमा कञ्चनपुरका गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीको गोलीबाट निर्मम हत्या हो । सीमा विवादको प्रतिकारमा लाग्दा उनले ज्यान गुमाउन पुगे । भारतीय सुरक्षाकर्मीले गोली बर्साइरहेका थिए । यताबाट जनताहरू ढुंगा हानिरहेका थिए । हाम्रोतर्फ कुनै सुरक्षा अंगको उपस्थिति थिएन । त्यसअघि भारतीय सुरक्षाकर्मीले बर्दियाका हर्कबहादुर शाहीको पनि हत्या गरेका थिए । २०६७ मा बर्दियाको जमुनीका ५२ वर्षीय शाहीको पनि एसएसबीले गोली हानी हत्या गरेको थियो । मोरङमा पनि २०६८ सालमा अमाहीबरियातीका वासुदेव साहको हत्या भयो । त्यतिबेला प्रहरी हवल्दार शम्भु चौधरीमाथि भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए । त्यस्तै, २०७२ सालमा मोरङकै रानी भन्सारमा भारतीय सुरक्षाकर्मी आएर नेपाल प्रहरीका असई प्रदीप गिरीमाथि आक्रमण गरेर उनको हतियार समेत लुटेको थियो ।
२०७२ जेठमा बर्दियाको जमुनीबजारमा धनबहादुर सुनार, किरण राई र गोरे नेपालीलाई बाख्रासहित भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जेल पठाए । २०७२ मंसिरमा झापाको केचनाबाट एसएसबीका १३ जवान नेपाल प्रवेश गरेर ज्यादती गरे । एसएसबीले केचनाका मोहम्मद आलमलाई कुटपिट गरेका थिए । २०७२ कै मंसिरमा सुनसरीको भन्टाबारीमा नेपाली भूमिमै आएर अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादवमाथि भारतीय सुरक्षाकर्मीले गोली बर्साए । यति धेरै घटनाहरू हुँदा समेत सरकारले कुनै गम्भीर कदम चालेको छैन । न सेना नै यसबारेमा संवेदनशील भएर अगाडि बढेको देखिन्छ ।
यी घटनाका बारेमा नेपाली सेना अपडेटेड छैनन् त ? हाम्रा सीमा मिचिँदा नेपाली सेनाको मुटु दुख्दैन ? अहिले पनि नेपालको भारतसँग सीमा जोडिएको २६ जिल्लामध्ये २३ जिल्लाका ७१ ठाउँमा सीमा अतिक्रमण भएको र ६० हजार ६६२ हेक्टर नेपाली भूमि अतिक्रमणमा परेको छ । पुराना नक्सा र दस्तावेजमा भने महाकाली नदीको मुहान लिम्पियाधुरा उल्लेख छ । तर १९६२ मा भारत–चीन सीमायुद्धका कारण भारतीय सेनाले नेपाली भूमिमा अड्डा जमाएको हो । नेपालका २३ वटा जिल्लामा भने भारतले कुनै न कुनै रूपमा नेपाली जमीन अतिक्रमण गरेको छ । सबैभन्दा धेरै सुदूरपश्चिमको दार्चुला जिल्लाको व्यास र आसपासका क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएको छ ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा सबैभन्दा धेरै ३७० वर्गकिलोमिटर जमीन भारतले अतिक्रमण गरेको छ । दार्चुलापछि सबैभन्दा धेरै नवलपरासीको भूमि मिचिएको छ । सुस्ता र आसपासको क्षेत्रमा भारतले १४५ वर्गकिलोमिटर जमीन मिचेको छ । नेपालको ६०६ वर्गकिलोमिटर क्षेत्रफल मिचिए पनि अहिलेसम्म फिर्ताका लागि सरकारी पक्षबाट कुनै पहल हुन सकेको छैन । यसकारण फेरि पनि सेनापतिज्यूलाई प्रश्न छ ः हाम्रा सीमाहरू मिचिँदा तपाईंको मुटु दुख्दैन ?
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...