निजामती सेवा सनातनी बनेको आरोप, कसरी गर्ने जनप्रिय काम ?

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

‘नतिजामुखी प्रशासन समृद्धि र सुशासन’को मूल ध्येयका साथ निजामती सेवा दिवस मनाइँदैछ । नेपालको निजामती सेवाले संस्थागत स्वरुप पाएको ६३ वर्ष हुन लागेपनि सर्वसाधारणका माग अपेक्षा पूरा नभएकोमा अहिले निजामती प्रशासन केही हदमा रक्षात्मक धारमा उभिएको छ ।

परिवर्तित समाजको माग पूरा गरी सेवाग्राही सन्तुष्ट बनाउनु र सरकारको कार्यदिशा अनुरुप प्रणाली सञ्चालन गर्नु निजामती प्रशासनको कर्तव्य हो ।


Advertisement

सार्वजनिक क्षेत्रको बदलिँदो प्रवृत्तिसँग अनुकूलित हुँदै जानु उसको योग्यता हो । निजामती सेवालाई नतिजामुखी बनाउन दक्षता विकास चाहिन्छ । त्यसैले निजामती सेवाभित्र दक्षता व्यवस्थापन कसरी गर्ने भन्ने विषयले महत्त्व पाउँदै आएको छ । किनकि अब निजामती सेवाले सनातनी भूमिका मात्र निर्वाह गरेर पुग्दैन । निजामती सेवाले वर्तमानको कार्यजिम्मेवारी लिनुका साथै अर्को पुस्ताको लागि राम्रो प्रणाली निर्माण गर्नुपर्दछ ।

प्रत्येक व्यवस्थापक भोलिको लागि सक्षम नेतृत्व तयार पार्ने जिम्मेवारीमा रहन्छ । यसको अर्थ निजामती सेवा सार्वजनिक क्षेत्रको सेवा मूल्यको खोजीमा निरन्तर प्रयत्नशील रहनु पर्दछ । विकास नीतिका लागि सीप, सेवा प्रवाह र नागरिक सहकार्यका लागि सीप, सेवा व्यवस्थापन र सहउत्पादनका लागि सीप र सञ्जालीकरण र संवादका लागि सीप भएपछि मात्र सार्वजनिक मूल्यको खोजीको लक्ष्य पूरा हुन्छ । निजामती सेवालाई नतिजामुखी बनाउन सकिन्छ । 


Advertisement

अहिले सर्वत्र नियम होइन, प्रतिवद्धता भन्न थालिएको छ । समकालीन समाजका जटिल चुनौती सामना र सार्वजनिक मूल्य प्रवर्द्धनका लागि व्यावसायिक निजामती सेवाको विकल्प छैन । निजामती सेवा व्यावसायिकता भनेको निजामती सेवाका मूल्य र सिद्धान्तको ज्ञान र त्यसलाई व्यवहारमा अपनाउने प्रतिवद्धता र क्षमता हो । सिद्धान्त किन हो भने यसले खास मूल्य प्रणाली स्थापनामा जोड दिन्छ, कार्यउपलब्धिको आधार दिन्छ र यसका लागि चाहिने मानक निश्चित गर्दछ, जस्तो कि सार्वजनिक जीवनका सिद्धान्तहरू ।

प्रतिवद्धता किन हो भने यसले ज्ञान, सीप र क्षमताको अतिउत्तम प्रयोग गर्न लगाउँछ, कार्यप्रति नैतिक रहन उत्तरदायित्व निश्चित गर्छ र सुम्पिएको कामको वैधता पुष्टि गर्छ । त्यसैले निजामती सेवाको व्यावसायिकता सामाजिक समस्या समाधानार्थ प्रशासनिक कार्यसञ्चालनको निष्ठा, सीप, क्षमता र प्रविधि हो । यो कार्य जागरुकता सहितको कार्यसमर्पण हो । यो नै समकालीन समाजको माग हो । यो माग पूरा गर्ने व्यावसायिक क्षमता कसरी निर्माण गर्ने अहिलेको चुनौती हो । यी चुनौती सामना गर्न कानून, नीति र सिद्धान्तको विज्ञता चाहिन्छ, नियमन क्षमता अनि आर्थिक सुझबुझ चाहिन्छ । 

नीति सल्लाह राजनैतिक विषय हो तर निजामती सेवाको मूल्य तटस्थतामा रहेर व्यावसायिक सल्लाह दिने दायित्व निजामती सेवा, विशेषतः कार्यकारी तहका निजामती प्रशासकको हो । अनि मात्र नीति मूल्यको उत्पादन हुन्छ, निजामती सेवा समृद्धिको आधार बन्छ ।

निजामती कर्मचारी संधै सेवा प्रवाहको अग्रपंक्तिमा रहन्छ, यसर्थ सेवा प्रवाह र सञ्चार सीप चाहिन्छ । सेवाग्राही सर्वसाधारणसँग सम्बन्ध, साझेदारी र संवाद सीप चाहिन्छ । मौद्रिक मूल्य सार्थकता पुष्टि गर्ने कार्यसंस्कृति एवम् प्रतिवद्धता चाहिन्छ । अभिमुखीकरण, तालिम, सामाजिकीकरण र क्षमता विकासका अन्य माध्यमबाट उल्लिखित विषयमा विज्ञता र कार्यसमर्पण विकास गर्न सकिन्छ । 

निजामती सेवा सधै सनातनी भयो, यसले नवप्रवत्र्तनमुखी काम गर्न सकेन भन्ने आरोप पनि खेपिरहेको छ । प्रक्रिया उत्पादनबाट नतिजा उत्पादनका लागि पनि नवप्रर्वत्तन आवश्यक छ । सेवाग्राही नतिजाका लागि अधिर छन् र नतिजामार्फत नै सेवाग्राहीको विश्वास जित्न सकिन्छ । मौजुदा कार्यप्रणालीमाथि चुनौती दिइ सामान्य सुधार गरेर नै निजामती सेवामा नवप्रवत्र्तन भित्र्याउन सकिन्छ । निजामती सेवा नवप्रवत्र्तनमुखी भयो भने मात्र राज्य प्रणाली आविस्कारमुखी हुन्छ । प्रणालीभित्र नवप्रत्र्तन भित्र्याउन खासै ठूलो प्रयास आवश्यक छैन, केवल सोच र समर्पण भए पुग्छ, आर्जित अनुभव नै यसो गर्ने पूँजी र ऊर्जा हुन् । 

विकासमुखी सोच, सामाजिक वित्त परिचालनको क्षमता र सामाजिक संकेत आकलन गर्ने बानी प्रशासनिक नवप्रवत्र्तनका आधार हुन् । निजामती सेवा स्वभावैले उद्देश्यमुखी, कार्यनिष्ठ र आभ्यान्तरिक अभिप्रेरणामा रहने स्वभावको हुनुपर्छ, जसलाई हामी विकास प्रशासनका गुण भन्ने गर्दछौं । हिजो विकासको प्रशासन गर्न प्रशासनिक क्षमता विकास गरे पुग्थ्यो, अब विकासको सोपान र परिवर्तनको सिर्जना नै निजामती प्रशासनले गर्नुपर्ने भएको छ । कतिपय सेवामा सहउत्पादन र ‘क्राउड सर्भिङ’को सीप पनि आवश्यक भएको छ ।

नीति निर्माणको प्रवृत्ति परिवर्तन भएको छ । त्यसैले अबको प्रशासक सूचनामुखी, प्रोत्साहनमुखी, अग्रसरतामुखी, मूल्यबोधी, समयसंवेदी, एकीकृत सोच राख्ने र अग्रसर हुनुको विकल्प छैन । यसो गर्ने क्षमता पनि प्रणालीभित्र छ तर त्यसलाई संगठन र सेवाग्राहीका लागि उपयोग गर्ने बानी बसाउन नसकिएको मात्र हो । संस्थाले व्यक्तिमाथि गरेको लगानी संस्थाले आफ्नो बनाउन नसकेको मात्र हो । 

निजामती सेवामा चाहिएको अर्को सीप भनेको रणनीतिक सीप हो । यसले आजलाई हेरेर काम गरेर मात्र पुग्दैन । एउटा जीवन्त प्रणाली हुनुका नाताले केही लामो सोच वा फराकिलो आकलन एवं सम्भावित परिस्थितिको विश्लेषण क्षमता चाहिन्छ । सेवाग्राहीको चेतना, लोकतन्त्रको बढ्दो प्रियता, राज्य प्रणालीको बदलिँदो प्रवृत्ति एवं परिवेशको बढ्दो जटिलताले ल्याउने चुनौती सामना गर्न दृष्टिबोधी निजामती सेवा चाहिएको छ । यो परिवेशको माग पनि हो ।

राज्य प्रणालीको केन्द्रस्थमा निजामती सेवा रहने भएकाले पनि यो आवश्यक छ । किनकी नीति (राज्यइच्छा) निर्माण, त्यसलाई संस्थागत स्वरुप दिने कार्य र एक समय सन्दर्भबीचको प्रणाली सम्बन्धको आधार भनेको नै निजामती सेवा हो । यसको क्रियाशीलतामा नै लोकतन्त्रको वितरण हुने हो, राज्य प्रणाली जीवन्त बन्ने हो, सभ्यता र संस्कृति संस्थागत हुने हो ।

त्यसैले नीति प्रतिफलका लागि तथ्य र संकेतको संकलन एवं विश्लेषणका साथै नीतिग्राही पहिचानको क्षमता हुनुपर्दछ । उद्देश्य, स्रोतसाधन र क्रियाकलाप आवद्ध गर्ने क्षमता, नीति प्रभावकारिताको लागि राज्यसंरचना बाहिरका पात्र परिचालन क्षमता एवं तथ्य र जानकारीको उपयोग गर्ने क्षमताले नै प्रशासनिक नवप्रवत्र्तन विकास गर्न सकिन्छ । यसका लागि रणनीतिक अभिमुखीकरण पहिलो शर्त हो ।

निजामती प्रशासनलाई नतिजामुखी बनाउन सेवास्थल र व्यवस्थापकीय तहका कर्मचारीहरूमा छुट्टाछुुट्टै सामथ्र्य र व्यावसायिकता चाहिन्छ । अग्रपंक्तिका कार्यालयमा कार्यउत्साह सहितको सञ्चालन क्षमता भए पुग्छ, विनयशीलता र जिम्मेवारी बोध भए पुग्छ तर व्यवस्थापकीय तहमा यसका अलावा स्पष्ट निर्भिक एवं व्यावसायिक सल्लाह दिने आँट पनि चाहिन्छ । यस्तो आँट यदाकदा राजनैतिक कार्यकारीका लागि अप्रिय हुँदा उसले वृत्ति जोखिम पनि मोल्नुपर्ने हुन्छ तर तथ्यमूलक, सन्तुलित र वस्तुपरक सल्लाह दिने सामर्थ्यले नतिजामुखी निजामती प्रशासनमार्फत समृद्धि र सुशासन दिन सकिन्छ ।

उच्च निजामती व्यवस्थापकले बुझ्नपर्ने अर्को कुरा भनेको यसले दिने सल्लाह भनेको नीतिमूलक हुन्छन् । नीति सल्लाह भनेको समस्या सम्बोधन गर्ने सल्लाह हो । नीति र निर्णयले थप समस्या सिर्जना गर्नु हुँदैन । त्यसैले परिवेशको विश्लेषण गरेर, वास्तविक समस्या चिनेर, समस्याका वास्तविक सरोकारवाला चिनेर समस्याका आर्थिक, सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक एवं प्राविधिक आयाम बुझेर नै समाधानको कार्यचित्र सुझाउन सकिन्छ ।

सुधार, सुधार र निरन्तर सुधारको प्रणाली बसाउनु पर्दछ, जसमा निजामती सेवालाई दिशाबोध गर्ने र अभिभावकत्व लिने राजनैतिक कार्यकारीको उच्च अठोट चाहिन्छ, निजामती सेवालाई प्रोत्साहन दिने अदम्य साहस चाहिन्छ, विश्वास गर्ने बानी चाहिन्छ ।

नीति सल्लाह राजनैतिक विषय हो तर निजामती सेवाको मूल्य तटस्थतामा रहेर व्यावसायिक सल्लाह दिने दायित्व निजामती सेवा, विशेषतः कार्यकारी तहका निजामती प्रशासकको हो । अनि मात्र नीति मूल्यको उत्पादन हुन्छ, निजामती सेवा समृद्धिको आधार बन्छ । त्यसैले वील क्लीन्टनले भनेझै सधैं हस मात्र होइन, नाइ पनि भन्न सक्ने आँट भएको निजामती सेवा चाहिएको छ ।

एक्काइसौं शताब्दीको चुनौती बहन गर्न निजामती सेवामा ‘फिट फर पर्पोज’को मूल्य चाहिएको छ । यो काम त्यति सजिलो भने होइन । सुधार, सुधार र निरन्तर सुधारको प्रणाली बसाउनु पर्दछ, जसमा निजामती सेवालाई दिशाबोध गर्ने र अभिभावकत्व लिने राजनैतिक कार्यकारीको उच्च अठोट चाहिन्छ, निजामती सेवालाई प्रोत्साहन दिने अदम्य साहस चाहिन्छ, विश्वास गर्ने बानी चाहिन्छ ।

जापानमा मेजीकालदेखि नै निजामती सेवा सम्मानित बन्दै आएको छ, जेन्को सुजुकीले पनि आफ्नो कार्यकालको सबै अवधि निजामती प्रशासन सुधारमा बिताए । जिम्मी कार्टरले आफ्नो चुनावी मुद्दा निजामती प्रशासन र बजेट सुधार भनेका थिए । उनले थालेको प्रशासन सुधारको यात्रा वील क्लीन्टनको राष्ट्रिय उपलब्धि समीक्षा (एनपीआर) हुँदै बाराक ओबामामा आइपुग्दा आविस्कारमुखी प्रशासन बन्न पुग्यो । अहिले भन्न थालिएको छ निजामती सेवा आविस्कारको निरन्तर प्रक्रिया हो ।

बेलायतमा थेचर–मेजरको नेक्स स्टेपले सार्वजनिक सेवाको एजेन्सीकरणमा र सेवा वडापत्रको आविस्कार गर्न पुग्योे । त्यसैले प्रशासनिक अग्रसरताको आदर्श प्रस्थान चाहिन्छ, यात्रा चाहिँ निरन्तरको हो ।

([email protected])

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्