लगानी नजुटेर उद्योग सञ्चालक विदेशिएपछि उद्योग बन्द

प्रतिकात्मक तस्वीर

दैलेख जिल्लाको आठबीस नगरपालिका–४ राकम कर्णालीमा गत आर्थिक वर्षमा स्थापना भएको एक घरेलु उद्योग बन्द भएको छ ।

उद्योगमा रकम जुटाउन नसकेपछि पुराना कपडाबाट रुई निर्माण उद्योग बन्द भएको हो । 


Advertisement

उद्योगमा रकम नजुटेपछि सञ्चालकहरू खाडी मुलुक तथा भारततर्फ लागेका स्थानीयले बताएका छन् । जिल्ला घरेलु उद्यमले केही युवायुवतीलाई कपडा उद्योगसम्बन्धी तालिम दिएको थियो ।

तालिम लिएकाहरूलाई तालिम सकिएपश्चात रोजगारीका लागि उद्योग स्थापना गरिएको थियो । गाउँघरमा खेर गएका पुराना कपडालाई प्रयोगमा ल्याउने र नयाँ उद्यमी सिर्जना गर्ने उद्योगको उद्देश्य हो । 


Advertisement

उद्योगकर्मी गाउँगाउँमा गई कच्चा पदार्थ (पुराना कपडा) संकलन गर्न हिच्किचाउने र त्यहाँबाट उत्पादन हुने रुई उत्पादन धेरै गर्न नसक्ने हुँदा रकम कम मात्रामा जुट्यो र विदेशतर्फ लागेका बताइएको छ । उद्योग स्थापना भएको करीब २ महिनामै उनीहरूले उद्योगमा काम गर्न छाडिसकेका स्थानीय गोकर्ण माझीले बताए ।

युवा विदेश लागेपछि उद्योगमा रहेका युवतीले समेत काम गर्न छाडेपछि लाखौं रकम बालुवामा पानी हालेजस्तै भएको छ । वडाध्यक्ष रणबहादुर माझीका अनुसार पहिला उनीहरूकै रोहवरमा अनुदान थपियो, उनीहरुले काम गर्न छाडे, अहिले तालिमप्राप्त मान्छे गाउँमा पाउन मुस्किल भएको छ । ‘हामीले त्यो सम्बन्धीको तालिम प्राप्त मान्छेहरू खोजिरहेका छौं,’ उनले भने । 

नगर प्रमुख खड्कराज उपाध्यायले ‘युवा रोजगार’का लागि ८० लाख रुपैयाँ बजेट छुट्याइएको बताए । यहाँबाट केही मात्रामा रकम छुट्याएर पुनः लगानी गरेर उद्योग सञ्चालन गर्ने उनको भनाइ छ । ५३ हजार ८२४ रुपैयाँ जनश्रमदान र ५ लाख अनुदान रकममा उद्योग स्थापना गरिएको थियो । 

कमेन्ट गर्नुहोस्