कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
– गुणाकरप्रसाद जोशी
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीबाट १३५ किलोमिटर उत्तरमा डडेल्धुरा सदरमुकाम पुगिन्छ । त्यसपछि २६ किलोमिटर उत्तर बैतडी जिल्लाको खोड्पेबाट शुरू हुने जयपृथ्वी राजमार्गमा पर्ने बागथलाबाट करीब १४ किलोमिटर उत्तर पश्चिम बुङ्गल नगरपालिका–५ मा सानीगाड, कालंगा नदी र बाइसधाराको संगमस्थल बाइसधारा त्रिवेणीधाम रहेको छ ।
पृथ्वी चौध लोकमध्ये सुन्दर र पवित्र लोक हो । यसलाई शास्त्रमा सर्वाेत्तम भनेर वर्णन गरिएको छ । पृथ्वीमा पनि भारत वर्ष र भरत खण्डको छुट्टै र अलौकिक महत्त्व छ । जहाँ भगवान् श्रीहरिका अनेक अवतार भएका कथाहरू पुराणमा उल्लेख भएका छन् । यसैखण्ड अन्तर्गत नेपाल एक हिन्दू बाहुल्यता भएको राष्ट्र हो ।
शालिग्राम भगवान्को उत्पत्तिस्थल, भगवान् शिवको वासस्थान, माता सीताको जन्मभूमि, पूर्वीय सभ्यताको उत्पत्तिकेन्द्र शान्तिका अग्रदूत अहिंसाका पुजारी भगवान् बुद्धको अवतरित भूमि तथा भगवान् वेद व्यासको जन्मस्थल एवं पाठशालका रुपमा शास्त्रादि ग्रन्थमा वर्णित नेपालको महिमा देवलोक र बैकुण्ठलोकको झै पूजनीय र बन्दनीय छ । त्यसैले त हाम्रा पुराण तथा प्रागैतिहासिक ग्रन्थको परिवेश तथा वातावरणका रुपमा नेपालको अलौकिक वर्णन गरिएको छ ।
नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्ला धार्मिक तथा पौराणिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ । स्कन्दपुराण अन्तर्गतको मानसखण्डको १३८ देखि १४८ सम्मका अध्यायमा गरिएका वर्णन अनुसार बझाङ जिल्ला पनि विभिन्न ऋषिमुनिको तपस्थलीका रुपमा वर्णित छ । विशेषगरी बझाङ जिल्लाको बुङ्गल नगरपालिका बाइसधारा त्रिवेणीधाम क्षेत्रका नामले प्रख्यात भूमि तपोमूर्ति, श्रोत्रिय, ब्रह्मनिष्ठ शाण्डिल्य ऋषिको तपस्थली हो । शाण्डिल्य ऋषि ब्रह्माका पुत्र हुन् । जसको वर्णन महाभारत सभा पर्व अध्याय ४, शल्य पर्व अध्याय ५४, अनुशासन पर्व अध्याय ६५ १३७, १७३ र शान्तिपर्व अध्याय ४७ मा रहेको छ । शाण्डिल्य एक साधारण तपश्वी मुनि मात्र नभएर गोत्र परम्परामा पनि देखिएका विशेष महर्षि हुन् ।
उनका नामले गोत्र परम्पराको विकास हुनुका साथै छान्दोग्य र बृहदारण्यक नामक उपनिषद्मा पनि शाण्डिल्य ऋषिको प्रसङ्ग आएको छ । आत्मा परमात्माको निरुपण गर्ने पाञ्चरात्रादि परम्परामा शाण्डिल्य महान् प्रामाणिक पुरुष मानिन्छन् । यिनका नामले प्रसिद्ध शाण्डिल्योपनिषद् हाल प्राप्त २२० उपनिषद्मध्ये १८० को क्रममा देखिएको छ ।
पौराणिक महत्त्व, प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र ऐतिहासिक धार्मिक, पुण्यभूमि बझाङ जिल्लाको बुङ्गल नगरपालिका अन्तर्गत पर्ने बाइसधारा त्रिवेणीको महत्त्व स्कन्धपुराण मानसखण्डमा व्यापक रुपमा गाइएको छ । स्कन्दपुराण मानसखण्डका अनुसार यही हालको बाइसधारा क्षेत्रमा सत्ययुगमा माणवक नामक ब्र्राह्मणले नन्दादेवीको तपस्या र आराधना गरेर नन्दासरबाट कलावती (हाल कालंगा) नामक नदी उत्पत्ति गराई प्रवाहित गरेका थिए, जुन नदीको पवित्र जलले गर्दा माणवक ब्राह्मणले आफ्ना १०१ कुलका साथै आफ्ना गुरु शाण्डिल्य ऋषिका पितृहरूको पनि मुक्ति गर्नुभएको थियो भन्ने कुरा यसरी उल्लेख भएको छ :
शाण्डिल्यस्याश्रमं पुण्यं प्रापयामास सत्पथाम् ।
तत्रागत्य स्वगुरवे शाण्डिल्याय महात्मने ।।
नदीं प्रदर्शयामास दिव्यां नन्दासरोद्भवाम् ।
स तस्या वारिभिर्दिव्यैः पितृन् सन्तप्र्य यत्नतः ।।
(स्कन्द.मा.ख १३८.१६ १७)
माणवक ब्राह्मणले तपस्या गरेर यस भूमिलाई पावन र पुनित मात्र पारेनन् बल्की आफ्ना गुरु शाण्डिल्यको यश र कीर्तिको वृद्धि गराएपछि मात्र ऋषि परम्परामा उनको उच्चस्थान मान र गोत्र परम्परा पनि अघि बढ्यो । प्राचीन कालमा ऋषि महर्षिहरू तपस्या गर्नका लागि त्यस्तो स्थान चयन गर्दथे, जहाँ कुनै बिघ्नबाधाहरू नआउन् र चाँडै तपस्या पनि सिद्ध होस् । प्रकृतिको काखमा आनन्द र सुख हुन्छ, जहाँ मानवता र देवत्व भावको वृद्धि पनि हुन्छ तसर्थ ऋषिगणहरूले नेपालको सुन्दर पवित्र र एकान्त भूमिमा आफ्नो जीवन व्यतित गर्दे धर्मको वृद्धि, कुल र पितृको उद्धार र वैदिक सनातन सभ्यताको रक्षा गरे । स्कन्धपुराण मानसखण्ड अन्तर्गत वर्णित बझाङ जिल्लाको बुङ्गल बाइसधारा क्षेत्रको महिमा हेर्दा यो अत्यन्तै पवित्र र पुण्यभूमिका रुपमा रहेको छ । माणवक ब्राह्मणले तपस्याबाट खुशी भई नन्दाभगवतीले मरिचि ऋषिको पुत्री कलावतीलाई नदीको रुपमा प्रवाहित हुन आज्ञा गरेकीले उक्त आज्ञालाई सहर्ष स्वीकार गरी कलावती नै नन्दीको रुपमा प्रवाहित भएकीले उक्त नदीलाई कलावती नदी भनियो । हाल यही कलावती शब्द तद्भवीकरण र अपभ्रंश भई कालङ्गा शब्दमा उच्चारण गरिन्छ । त्यही कलावती नदी नै कालङ्गा नदीका रुपमा प्रख्यात भएको छ । बुङ्गल क्षेत्रको बाइसधारा भूमिलाई शाण्डिल्य ऋषिको तपस्थली भएको हुँदा शाण्डिल्य क्षेत्र पनि भनिन्छ । यस पावन पवित्र भूमिमा दान, धर्म गर्नाले यस नदीमा स्नान गर्नाले कालको भय नहुने, यमलोक गएका सम्पूर्ण पितृहरूको उद्धार हुने, सदासर्वदा शत्रुमाथि विजय प्राप्त हुनुका साथै यसको जलले सेचन गर्नाले पनि मानवका सम्पूर्ण मनोकांक्षाहरू पूर्ण भई शिवलोक प्राप्त हुने कुरा पनि स्पष्ट पारिएको छ :
सरकोणे स्थितां देवीं समभ्यच्र्य वयप्रदाम् ।
विजयं प्राप्नुते मत्र्यः सर्वदा निजशत्रुषु ।।
कलावत्यां महामूले तत्रस्थां हरवल्लभाम् ।
नरः कालीं समभ्यच्र्य कालभीतिं न पश्यति ।।
कलावत्या महामूले स्नात्वा सन्तप्र्य वै पितृन् । यमालयाच्छतकुलं समुद्धृत्य नरो दिवम् ।।
(स्कन्ध.मा.ख १३९ः२,३,४)
सम्पूर्ण मानव जाति र जीवात्माका कल्याणका लागि कैलाश पर्वत लगायत अन्य हिमशृंखलाबाट बगेका नदीहरु मध्ये शांकरी नदी (सानीगाड) पनि एक हो । बड्डीज्यावन (बाह्रदेउ) क्षेत्रबाट प्रवाहित हुने यो नदी यही शाण्डिल्य क्षेत्रमा कालंगा नदीमा नै समाहित हुन्छ । स्कन्द पुराण अनुसार चषकनगरका एक ब्राह्मणले गणपर्वतको टाकुरामा रहेको कन्दरामा तपस्या गरी यसै नदीका पवित्र जलले शिवलोकको प्राप्ति गरेका थिए भन्ने कुरा उल्लेख छ ।
देवता र गन्धर्व आदिद्वारा सेवित शाङ्करी र कलावती नदीको संगमस्थलका रुपमा रहेको माणवक नाम यस पुण्य पावन भूमिमा स्नान, उपवास, तर्पण, श्राद्ध, मुण्डन आदि संस्कार र पुण्यकर्म गर्नाले मनोकांक्षाहरु पूर्ण हुने गर्दछन् भन्ने वर्णन पनि स्कन्दपुराण मानसखण्डमा वर्णन गरिएको छ :
शाङ्करी सरितोर्मध्ये तीर्थंमाणवकाह्वयम् ।
विद्यते सुरगन्धर्वैः सेवितं पुण्यसञ्ज्ञकम् ।
मुण्डनं चोपवासं च विधायासु प्रतप्र्य वै ।
स्नात्वा श्राद्ध प्रकुर्वीत फल्गुतीर्थाच्छताधिकम् ।।
(स्कन्द.मा.ख १३९.२४, २५)
बुङ्गल नगरपालिका बाइसधारा क्षेत्रको वर्णन स्कन्दपुराण मानसखण्ड अन्तर्गत १३८ देखि १४१ सम्मका अध्यायमा रहेको छ । द्वापरयुगमा पनि यस बाइसधारा क्षेत्रको निकै चर्चा पाइन्छ । महाभारतकालीन समयमा पाँच पाण्डवहरु गुप्तवास रहेको बेलामा विभिन्न तीर्थस्थलहरूको भ्रमण गर्ने क्रममा बाइसधारामा स्नान गरी शाण्डिल्येश्वर महादेवको दर्शन पश्चात् हिमालय क्षेत्रतिर लागेको प्रशंग पनि पौराणिक ग्रन्थमा भेटिन्छ ।
एकअर्को पौराणिक जनश्रुति अनुसार सत्य युगमा भगवान शिवसँग प्रेम भए पश्चात् उनैलाई वर प्राप्त गरुँ भनेर पार्वतीले गणपर्वत (हालको गनैलेक) नजिकै तपस्या गरेको र बाइसधारा आई स्नान गरे पश्चात् पार्वतीको मनोकांक्षा पूर्ण भएको प्रशंग पनि रहेको छ ।
बाइसधारा शाण्डिल्य क्षेत्रमा वार्षिक रुपमा विभिन्न पर्व तथा मेलाहरु पनि लाग्ने गरेका छन् । मकरसंक्रान्ति महाशिवरात्री, विसुपर्व, नरक चतुर्दशी जस्ता पर्वहरु मुख्य रहेका छन् । मकरसंक्रान्ति पर्वमा छिमेकी जिल्लाहरूबाट पनि श्रद्धालुभक्तजनहरूको घुँइचो लाग्ने गरेको छ भने शिवरात्री पर्वमा पवित्र वाइसधारामा स्नान गरी भगवान् शिवको आराधना गर्दै नजिकै रहेको विजगडामा मेला भर्ने परम्परा रहिआएको छ ।
वितराग सन्त व्यासपुत्र शुकदेवजीले श्रीमद्भागवत महापुराण द्वादशस्कन्दमा भने झै कलियुगमा नजिकको तीर्थ नमानेर टाढा जाने प्रचलन भएको हुँदा यिनको प्रचारप्रसारमा कमी आएको र यस्ता महत्वपूर्ण पावन पवित्र क्षेत्रहरू ओझेलमा परेका छन् । यस शाण्डिल्येश्वर क्षेत्रमा थुप्रै देवीदेवताका मठमन्दिरहरू रहेका छन्, जसमा भगवान् शिवका विभिन्न रुपहरु मध्येका मतङ्ग रुप, भूतेश्वर महादेव, महाकाल कालेश्वर नामले प्रसिद्ध मन्दिरहरु छन् भने ताल मसानी, बुढो मसानी, गीठामसानी, शाण्डिल्य मसानी पनि भगवान् शिवको सेवाशुश्रुसामा तल्लीन रहेको देखिन्छ ।
नेपालका विभिन्न क्षेत्रबाट पितृहरूको अस्तु प्रक्षेपण गर्न गंगादि तीर्थहरुमा जाने परम्परा भए पनि यस तीर्थमा दाहसंस्कार भएकाहरूको अस्तु अन्य कुनै तीर्थमा प्रक्षेपण गर्नु आवश्यक नहुने भन्ने मान्यता पनि यहाँ रहेको छ । यस क्षेत्रको अर्काे शक्तिशाली देवता समैजी हो । समैजी मन्दिर परिशरमा रातोशीला, भवानी, लाटा देवताको पूजा आराधना हुने गर्दछ । बुङ्गल क्षेत्रकै प्रसिद्धकोट मानिने शाण्डिल्यकोट (हाटकोट) को पनि ऐतिहासिक प्रसिद्धि रहेकै छ ।
बाइसधारा क्षेत्रकै पूर्वी भागमा कालंगा पारी पितृओडार रहेको छ । जहाँ शाण्डिल्य ऋषिले वास बसि वाइसधारा क्षेत्रमा गई आफ्ना पितृहरूको तर्पण गरी मोक्ष प्राप्त गराएको कुरा सोही स्कन्द पुराणमा उल्लेखित छ । हाल यसै पितृ ओडारलाई जनबोलीमा पितलेओडार भन्ने गरिएको छ ।
देशले भ्रमण वर्ष २०२० मनाइरहेका बेला यस क्षेत्रमा धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिने थुप्रै सम्भावना छन् । हाल बुङ्गल नगरपालिकाले यस क्षेत्रमा धार्मिक एवं ऐतिहासिक महत्त्वका स्थानहरूको पहिचान संरक्षण एवं सम्बद्र्धनका कार्यहरु अगाडि बढाइरहेको छ । यस अन्तर्गत त्रिवेणीधामसम्म पुग्ने सडक निर्माण, बाइसधाराहरू, मन्दिरहरूको जीर्णोद्धार तथा व्यवस्थित आर्यघाट निर्माण कार्य अगाडि बढाएको छ । साथै धार्मिक कार्यका लागि यज्ञशाला, हवनकुण्ड श्रद्धालु भक्तजनहरूको सुविधाका लागि विश्राम गृह लगायत खानेपानी, शौचालयको उचित प्रवन्ध गरिएको छ । यस नजिकै रहेको शाण्डिल्यकोट (हाटकोट) व्यवस्थित विकास गर्न दीर्घकालीन योजनाका साथ बुङ्गल नगरपालिका अग्रसर रहेको देखिन्छ ।
थप केही कुराहरू
– गुरू ओडार :
यस क्षेत्रका जानकारहरूका अनुसार बाजरी बाहुनका एक पुर्वज अन्त बाजरीले हाटकोको तलतिर रहेको गुफामा ध्यान, तप गरी सिद्धि प्राप्त गरेको भन्ने कथन छ । यसको महत्त्वलाई ध्यान दिई लामो समयसम्म बन्द रहेको यस गुफालाई खुला गरिएको छ ।
– उत्कृष्ट घाट व्यवस्थापन परम्परा :
बुङ्गल क्षेत्रको सबैभन्दा ठूलो एवम् पवित्र घाटको रुपमा शाण्डिल्य घाटलाई लिइन्छ । परम्परागत रुपमा उत्कृष्ट व्यवस्थापन गरिदै आएको यस घाटको हाल सुधार गरी थप सुविधायुक्त गरिदैछ ।
– शक्तिशाली गण ताल मसानी :
भगवान शिवका विभिन्न गणहरू मध्य श्मसान बासी गणको रुपमा तालको मसानी रहेको छ । आफूले चिताएको कुरा गर्न भाकल एवं पूजा गर्ने उद्देश्यले मंगलवार र शनिवारको दिन टाढा टाढाबाट मानिसहरू आउने गरेका छन् ।
श्री बाइसधारा तीर्थको स्तुती
देव देव महेश्वर देव पवन मन्द सुगन्ध शीतलम्
शाङ्करी साथ वहत कलावती गंगा निर्मलम्
माण्वक नाम तिर्थ छ सुर गन्धर्व सोभितम्
नन्दि सर सु–सोभित वाइसधारा तिर्थ स्थलम् ।
श्री गुरु गणेश गौरी नाथ महेश्वरम्
योग ध्यान अपार सार श्री शाडिल्य ऋषि उच्चारणम्
सूर्य चन्द्र मनु दिनकर धूपदिप प्रकाशितम्
सिद्धनाथ नन्दिश्वर शिवशक्ति महेश्वरम् ।
सत्य, त्रेत, द्वापर युग कलिकाल सुसोभितम्
ब्रह्मा विष्णु शिवशक्ति अपार शक्ति दर्शनम्
नन्दा देवी महादेवी महाकाली दर्शनम्
बाइसधारा जय ध्यान स्तुती सर्व पाप नासनम् ।।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...