मधेशका समाजसेवी दिनेश पुर्बे : अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि एक दशकदेखि खटे, सपना पूरा हुनेमा ढुक्क

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

दिनेश पुर्बेको पहिचान जनकपुरमा एउटा विद्रोही आन्दोलनकारीको रूपमा स्थापित भएको थियो । २०६२/०६३ सालमा मधेशी जनाअधिकार फोरम नेपालको अगुवाइमा भएको मधेश जनविद्रोहमा उनी फोरम धनुषाका उपाध्यक्ष थिए । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर १० ठेरा स्थायी घर भएका पुर्बे विगत १५ वर्षदेखि जनकपुरमा नै डेरा लिएर बस्दै आएका छन् । विसं २०५३ सालदेखि २०५६ सालसम्म अटोमोबाइल इञ्जिनीयरिङ लागि पोखरामा स्नातक अध्ययन गर्दै गरेका बेला राजनीतिप्रति चासो बढेको थियो । त्यहाँ तराई विद्यार्थी संघ भन्ने संस्थामा आबद्ध भई राजनीतिक गतिविधिमा चासो राख्न थालेका पुर्बे जनकपुर फर्किएपछि मधेश आन्दोलनमा आबद्ध भएका थिए ।

जलाद नदीको कटानका कारण उनको गाउँ ठेरा तथा जनकपुरलाई समेत प्रभावित गरेपछि २०६२ साउन २० गते तत्कालीन मन्त्रिपरिषदका उपाध्यक्ष तुलसी गिरीलाई नदीको कटान नियन्त्रण गर्नका लागि गुरुयोजनामा पार्नका लागि ध्यानाकर्षण गरी निबेदन दिएका थिए । काठमाडौंको सिंहदरबारमा सिंगो गाउँबासीको हस्ताक्षरसहितको निबेदन लिएर २५ जना स्थानीयको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुर्बे काठमाडौं पुगेका थिए ।  त्यसपछि तत्कालीन मन्त्रिपरिषदका उपाध्यक्ष गिरीले निवेदन हेरेपछि आर्थिक बर्ष २०६३/०६४ को रातो किताबमा नै गुरुयोजना केन्द्रीयस्तर अन्तर्गत जलाद नदी नियन्त्रणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए ।


Advertisement

पुर्बेले त्यही बेलादेखि नै सामाजिक तथा राजनीतिक रूपमा नेतृत्व गर्ने चाहना प्रकट गरेका थिए । उसो त २०६१ साल जेठ १४ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीका लागि आवेदन माग हुँदा पुर्बेले पनि आबेदन फारम भरेका थिए । ‘युवाको रूपमा आफूले पनि प्रधानमन्त्रीको पद पाउनुपर्ने माग दाबीसहित त्यति बेला मैले पनि तत्कालीन राजा ज्ञानेन्द्रसामु निवेदन चढाएको थिएँ,’ पुर्बेले भने, ‘मेरो दर्ता नम्बर ५ सय २ थियो ।’

यी सबै पृष्ठभूमि भएका कारण मधेश आन्दोलनमा उनी नेतृत्व लिँदै कमान्डरको भूमिका निर्वाह गर्न थाले । आन्दोलनका क्रममा उनलाई तत्लालीन सुरक्षाकर्मीले निर्घात कुटपिट गरेर बेहोश पारेर फालिदिएका थिए । तर उपचारपछि उनी सामान्य अवस्थामै फर्किए । २०६५ साल असोज ९ गते प्रथम राष्ट्रपति डा.रामवरण यादव जनकपुरमा आउँदा पुर्बेले जानकी मन्दिरमा कालो झण्डा देखाउँदा सुरक्षाकर्मीले उनलाई कुटपिट गर्दै पक्राउ समेत गरेको थियो । ‘मधेश आन्दोलनलाई लक्षित गरेर नराम्रा अभिव्यक्ति दिने गरेका कारण राष्ट्रपतिज्युलाई आगामी दिनमा त्यस्तो कडा अभिव्यक्ति नदिन चेतावनी स्वरूप कालो झण्डा देखाएको थिएँ,’ पुर्बेले भने, ‘मधेशी जनताले आफ्नो हकअधिकार, पहिचान स्थापित गर्नका लागि एकातर्फ ज्यानको आहुती दिइरहेका थिए भने अर्कोतर्फ उहाँ राष्ट्रपति हुँदा पनि कडा अभिव्यक्ति दिने गर्नुभएको थियो ।’


Advertisement

रंगशाला निर्माणका लागि एक दशकदेखिको अथक प्रयास

उनी पहिला राजनीतिमा रमाउँथे । पार्टीप्रति लगाव थियो । चासो पनि उत्तिकै थियो । तर त्यो राजनीतिक पहिचान भने अहिले उनको छैन । उनी अहिले जनकपुरमा त्यस्ता व्यक्ति छन् जो कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन् । स्वतन्त्र नागरिकको हैसियतमा समाजसेवा गर्ने उद्देश्यले आफ्नो जीवनको एक मात्र लक्ष्य जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको खेलकुद रंगशाला निर्माण गराउने अभियानमा लागेका छन् । 

‘मधेशी जनअधिकार फोरममा लागेपनि राजनीतिमा अवसरवादीहरू हावी हुन थालेपछि राजनीतिबाट वितृष्णा पैदा भयो,’ पुर्बेले भने, ‘अनि स्टेडियम निर्माणमै आफ्नो जीवन लगाउने अठोट गरेको थिएँ ।’

२०६६ सालमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका महोत्तरीका सभासद् गणेश तिवारी युवा तथा खेलकुद मन्त्री बनेका थिए । २०६६ असार १० गते जनकपुरमा एउटा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि बजेट बिनियोजन गराइदिन पुर्बे काठमाडौं पुगेर मन्त्रीसमक्ष आग्रह गरेका थिए । ‘पक्कै बजेट विनियोजन गर्छु भनेर आश्वस्त पारेर उहाँले जनकपुर फिर्ता पठाउनुभयो,’ पुर्बे स्मरण गर्छन्, ‘तर जनकपुरलाई बेवास्ता गर्दै महोत्तरीको सदरमुकाम जलेश्वरमा रंगशाला निर्माणका लागि ५ करोड बजेट बिनियोजन गरिदिनुभयो ।’ बिडम्बना कस्तो भयो भने, न जनकपुरमा न त जलेश्वरमा नै स्टेडियम निर्माण भयो । जलेश्वरका लागि पठाइएको रकम फ्रिज भयो ।

त्यसपछि जसरी पनि जनकपुरमा रंगशाला बनाउनैपर्छ भनेर उनी लागि परे । २०७१ चैत्र १७ गते पुर्बेले आफ्नै अध्यक्षतामा गोजु—रियो कराँते संघ धनुषामा एउटा बैठक बसाए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा प्रमुख अतिथि रहेको उक्त बैठकबाट रंगशाला निर्माणका लागि पुर्बेको संयोजकत्वमा रंगशाला निर्माण समिति गठन गरियो । उक्त समितिमा शिवजी रायलाई सहसंयोजक बनाइयो भने खेलकुदसँग आबद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई सदस्य बनाइयो । जिल्ला प्रशासन कार्यालय धनुषामा संस्था दर्ता गराउने बेलामा राम जानकी खेलकुद विकास संस्थाको नाममा दर्ता गरियो ।

त्यसपछि उनले अभियानलाई तीव्रता दिए । २०७१ वैशाख २१ गते बसेको बैठकमा रंगशाला निर्माणका लागि गुठी संस्थानको स्वामित्वमा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित लक्ष्मण मन्दिरको मातहत रहेको जिराइल स्थलको करीब १७ बिघा जग्गामा रंगशाला निर्माण गर्ने निर्णय गरियो । प्रक्रिया यतिमै रोकिएन । त्यसपछि २०७२ वैशाख १२ गते सर्वपक्षीय, सर्वदलीय बैठकबाट समेत रंगशाला निर्माणका लागि भाडामा जग्गा लिनका लागि गुठी संस्थान प्रधान कार्यालय काठमाडौंलाई अनुरोध गर्ने निर्णय गरियो ।

त्यसपछि दर्जनौं पटक जिल्ला प्रशासन कार्यालय धनुषा, गुठी संस्थान शाखा कार्यालय जनकपुर, गुठी प्रधान कार्यालय, राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलगायत बिभिन्न सरोकारवाला निकायहरूमा पुर्बे धाइरहे । सबै सरोकारवाला निकायहरूबीच एकआपसमा पत्राचार हुँदै गयो । त्यो क्रम भने करीब ५ वर्षसम्म निरन्तर चलिरह्यो । पुर्बे भने सबै निकायमा वर्षौं धाइरहे । अन्तिममा आएर २०७४ मंसिर ३ गते गुठी संस्थान प्रधान कार्यालयका कार्यकारी प्रशासक नारायण चौधरी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टबीच गुठी संस्थानको उक्त जग्गा लिजमा दिने तथा भोगाधिकार गर्न दिने सम्झौता भएको थियो । पुर्बेका अनुसार ३० बर्षको लागि वार्षिक ९ लाख रुपैयाँमा उक्त जग्गा लिजमा दिने सम्झौता भएको छ । प्रति २ वर्षमा १० प्रतिशत भू-बहालको रकम बढाउने गरी सम्झौता भएको छ ।

रंगशाला निर्माणका लागि २०७४ जेठ २ गते तत्कालीन युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीको अध्यक्षतामा बसेको मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट उक्त स्टेडियमको नाम ‘श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला जनकपुरधाम’ राख्ने निर्णय गरिएको थियो ।

पुर्बेको विगत एक दशकदेखिको अभियान बल्ल आएर साकार हुने अवस्थामा देखिएको छ । तर अझै पनि पूर्ण भने भइसकेको छैन । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा हरेक प्रदेशमा एउटा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने योजना अनुसार २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । राष्ट्रिय खेलकुद परिषदले उक्त योजनाका लागि टेन्डर आह्वान गरेर निर्माण कार्य थालनी गरेको छ ।

पुर्बेका अनुसार उक्त रकम गेट निर्माण, कार्यालयका सुरक्षा गृह, बाउन्ड्री वाल तथा तारवारका लागि उक्त बजेट बिनियोजन भएको हो । हालसम्म गेट निर्माणको ४० प्रतिशत, गार्ड हाउसको काम ८० प्रतिशत, बाउन्ड्री वालको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । तर तारबारको काम शुरू पनि भएको छैन । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पनि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । बाउन्ड्री वाल निर्माणका लागि विनियोजित उक्त रकमको काम भने स्थानीय सरकार जनकपुरधाम उपमहानगरपालिकामार्फत् भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा समेत संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । पुर्बेका अनुसार राखेपले उक्त रकमबाट जनकपुरधाममा एउटा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलकुद मैदान निर्माण गर्नका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

मोदीको भरोसा

पुर्बेले परिकल्पना गरेको बहुउद्देश्शीय अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि नेपाल सरकारले दिने गरेको बजेट अत्यन्तै न्यून छ । उक्त रकमले सोचेअनुरूपको रंगशाला निर्माण हुने अवस्था छैन । ६ अर्ब १९ करोड १८ लाख ६ हजार ५ सय १२ रुपैयाँ अनुमानित लागत लाग्ने भनेर २०७६ भदौ २० मा तत्कालीन युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले निर्णय नै गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २०७४ जेठ २४ गते जनकपुरधाम भ्रमणका बेला उनीसँग उक्त रकम सहयोग माग्ने निर्णय गरेका थिए । ‘मन्त्री विश्वकर्माले नेपाल र भारत बीचको ऐतिहासिक सम्बन्धलाई मायाको चिनोको रूपमा धनुष आकारको रंगशाला नेपाली खेलकुद जगतको लागि माग गर्ने निर्णय गरेर आफैं जनकपुर आउनुभएको थियो,’ पुर्बेले भने, ‘तर के कसो भयो मोदीजीसँग हाम्रो मन्त्रीजीको कुरा हुन सकेन ।’

तथापि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहयोगको लागि सम्पूर्ण विवरणसहित सहयोग गरिदिन भन्दै अनलाईनमार्फत् जनकपुरधामवासीको तर्फबाट आफूले आग्रह गरेको पुर्बे बताउँछन् । नेपाल सरकारको आधिकारिक निकायमार्फत प्रक्रियामा आउन भारतको विदेश मन्त्रालयका तत्कालीन उपसचिव मुकेश घियाले ईमेलमार्फत पत्र पठाएको उनले बताए । उताबाट आएको जानकारीलाई नेपाल सरकारको सम्बन्धित निकायहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राखेपलगायत सबैमा जानकारी गराइसकेको पुर्बे बताँछन् । ‘अब छिट्टै नेपाल सरकारको अर्थ मन्त्रालयबाट भारत सरकारसमक्ष उक्त सहयोगका लागि आग्रह गर्ने तयारी थालिएको मैले जानकारी पाएको छु,’ पुर्बेले भने,‘मलाई पूरा विश्वास छ कि भारत सरकारले सहयोग गर्नेछ ।’

एक दशकदेखिको लगातारको मिहिनेतले बल्ल आकार लिनेमा उनी आशाबादी छन् । बिहानदेखि बेलुकासम्म आफ्नो दिन रंगशालाका लागि समर्पित भएको बताउँछन् । सीताराम विवाह महोत्सवको प्रतिमा निर्माण गर्दै धनुष आकारको उक्त रंगशालामा क्रिकेट, फूटबल, हक्की, स्विमिङ पूलसहितको अन्तर्राष्ट्रिय मैदान निर्माण गर्नुका साथै रामायण संग्राहलय र वैवाहिक हब बनाउने मुख्य लक्ष्य रहेको उनी बताउँछन् । सीताले शिव धनुष उठाएकै कारण सीता स्वयम्बर भएको र रामले धुनष उठाएपछि विवाह हुन गएको कारण शिव धनुष जस्तै ६ सय ५ मिटर लम्बाईको ग्रेट धनुषलाई भगवान रामले तान चढाएको धनुष यज्ञको स्वरूपसहित रंशगाला निर्माण गरिने उनले बताए । 

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्