बाँस्कोटाले कर्मचारीमाथि प्रयोग गरेको भाषाप्रति कांग्रेस संसदीय दलले जनायो आपत्ति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कर्मचारीहरूमाथि प्रयोग गरेको भाषाप्रति आपत्ति प्रकट गरेको छ ।

आइतवार अपराह्न बसेको संसदीय दलको बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सचेतक बालकृष्ण खाणले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको अडियोमा बाँस्कोटाले कर्मचारीहरूमाथि प्रयोग गरेको भाषा अमर्यादित, अशोभनीय र आपत्तिजनक भएको बताएका हुन् ।


Advertisement

'तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्थानीय प्रतिनिधिसँग कमिशनका लागि कुरा गर्ने सन्दर्भमा राष्ट्र सेवक कर्मचारीहरुलाई प्रयोग गरेको भाषा प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपाल सरकारको मन्त्री जस्तो गरिमामय पदमा रहेर अत्यन्तै अमर्यादित, अशोभनीय एवं आपत्तिजनक भाषा प्रयोग गर्नु निन्दनीय एवं लज्जास्पद विषय रहेको उल्लेख गरिएको छ ।


Advertisement

'यस कार्यको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति प्रकट गर्दछ,' खाणले विज्ञप्तिमार्फत भनेका छन्, 'यस प्रकारको क्रियाकलापले गर्दा राष्ट्र सेवक कर्मचारीलाई पर्न गएको आघात प्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ ।'

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्