नेता गुरुङ भन्छन्-राष्ट्रिय हितविपरीतको एमसीसी कुनै हालतमा पास हुन्न

सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका नेता देव गुरुङले नेपालको राष्ट्रिय स्वाधिनताविपरीत आउन खोजेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन्।

बिहीबार राजधानीस्थित संवाद डबलीले आयोजना गरेको अन्तरसंवादमा उनले एमसीसीमा असमान र नेपाललाई तल पार्ने किसिमका प्रावधान रहेको बताए। उनले यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसक्ने उल्लेख गर्दै भने, ‘अमेरिकाले इन्डो प्यासिफिक स्ट्रयाटेजिक पार्टनरसिप (आइपीयस) मा नेपाल नरहने कुरा स्पष्ट गर्नु पर्छ। त्यससँग जोडिएका कुनै पनि प्रोजेक्ट नलिने, तेस्रो कुरा आइपीयससँग नजोडिएका विशुद्ध आर्थिक विकाससँग मात्र जोडिएका र त्यसमा पनि समान सर्तहरुको आधारमा मात्रै व्यापक सुधारपछि मात्रै स्वीकार्न सकिन्छ ।’


Advertisement

नेता गुरुङले पार्टीको स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा उठेका विषय समेटेर कार्यदलले अध्ययन गरेको र सुझाव पेश भएको  बताए । उनले अमेरिकाले चाहेको र सोचेको जस्तो मात्रै नभएर नेपालको राष्ट्रिय हितअनुकुल बनाएर एमसीसी सम्झौता अनुमोदनको वातावरणको लागि आफूहरु छलफल गर्न तयार रहेको पनि बताए।

एमसीसीका विषयमा पार्टी भित्र र बाहिर समेत विरोध भएपछि अध्ययनका लागि कार्यदल बनेको थियो। अध्ययन कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन पेस गरिसकेको छ। अब नेकपा सचिवालयले निर्णय गरेपछि संसदबाट पारित गर्ने र नगर्ने विषय टुंगो लाग्नेछ। एमसीसीमा रहेका कतिपय बुँदा राष्ट्रिय हित विपरित भएको भन्दै विरोध हुँदै आएको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्