पूर्वराज्यमन्त्री साह वित्तीय अपराधमा दोषी ठहर

 विशेष अदालतले पूर्वराज्यमन्त्री एवं पूर्वसांसद सञ्जय साह ‘टक्ला’ माथि दुई फरक आर्थिक अपराधका मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष कैद सजायको फैसला गरेको छ । उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा गरी ३३ करोड ६९ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने फैसला भएको हो ।

विशेष अदालतका सदस्यहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा साहलाई २ वर्ष कैद सजायको फैसला सुनाएको छ । उनले महत्त्वपूर्ण सार्वजनिक ओहदामा बसेर भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालतले थप त्यति नै वर्ष कैद किटान गरेर चार वर्षको कैद सजायको फैसला गरेको प्रवक्ता पुष्पराज पाण्डेयले बताए । यो फैसलाले एउटा अपराध र त्यसमा आश्रित भएर गरिने अर्को अपराधमा पनि छुट्टाछुट्टै सजाय र जरिवाना कायम हुने ठहर्‍याएको हो ।


Advertisement

पाण्डेयका अनुसार सम्पत्ति शुद्धीकरणमा साह दोषी ठहर भएका छन् भने कति सजाय गर्ने भनेर निर्धारण गर्न आगामी २९ गते सुनुवाइ तोकिएको छ । नयाँ मुलुकी अपराध संहिताअनुसार ३ वर्षभन्दा बढी कैद किटान हुने फौजदारी अभियोगमा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ हुनुपर्छ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भने फरक–फरक रूपमा २/२ वर्ष कैद किटान भएकाले छुट्टै सुनुवाइ भएन । फौजदारी कानुनअनुसार ठूलो अभियोगको सजायका क्रममा कैद बस्दा छुट्टै अभियोगको कम सजाय पनि स्वतः त्यसमा खप्टिन्छ । यसअघि नै साह ज्यान मुद्दामा परेर कैद सजाय भोगिरहेकाले भ्रष्टाचारको अभियोगबाट फेरि थप कैद बस्नु पर्दैन ।

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा पूर्वराज्यमन्त्री साहमाथि विशेष अदालतले १९ करोड ४४ लाख ३८ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको ठहर गरेको हो । सम्पत्ति शुद्धीकरणको अभियोगमा भने १४ करोड २५ लाख एक हजार रुपैयाँको स्रोत खुल्न नसकेको ठहर भएको प्रवक्ता पाण्डेयले बताए । विशेष अदालतले सम्पत्ति शुद्धीकरण निवारण ऐन जारी हुनुभन्दा अघिको आर्जनको सवालमा दोषी ठहर गर्न नमिल्ने फैसला गरेको छ । फैसलाको पूर्ण पाठ आउन बाँकी छ ।


Advertisement

अख्तियारको दाबी के थियो ?
गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले साहविरुद्ध २०७३ पुस २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले ३१ करोड ५० लाख रुपैयाँ बिगो मागदाबी गरेकामा विशेष अदालतले १९ करोड ४४ लाख रुपैयाँ मात्रै ठहर गरेको हो ।

अख्तियारले साहसहित उनका बाबु साधु साह सुडी, आमा दुलारी देवी सुडी, भाइ रामकुमार साह र उनको कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारी राम मिलन राउत कुर्मी र मनोजकुमार सिंहकी श्रीमती नीलम सिंहलाई पनि प्रतिवादी बनाएको थियो । लोकमानसिंह कार्की सर्वोच्च अदालतबाट प्रमुख आयुक्तमा अयोग्य ठहर भएको भोलिपल्टै अख्तियारले साहविरुद्ध मुद्दा दायर गरेको थियो ।

२०६५ जेठ १४ गतेदेखि २०६९ जेठ १४ गतेसम्म संविधानसभाको सदस्य रहेका साह २०६५ भदौदेखि ६९ पुससम्म भौतिक योजना तथा निर्माण राज्यमन्त्री थिए । धनुषाको जानकी चोकमा भएको हत्याकाण्डमा संलग्न देखिएको आरोपमा फौजदारी मुद्दा चलेपछि २०७१ वैशाख ३० मा साह सभासद पदबाट निलम्बित भएका थिए ।

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका नेता साह सार्वजनिक पदमा रहनुअघि ९ वटा कम्पनीमा संलग्न रहेको भेटिएको थियो । छानबिन गर्दा एउटाबाहेक अरू कम्पनीको कारोबारको अभिलेख कर कार्यालयमा फेला परेको थिएन । उनी सार्वजनिक पदमा आउनुअघि नै ३ लाख १७ हजार रुपैयाँ आम्दानी गरेकामा ३ करोड ३५ लाख रुपैयाँ खर्च गरेको भेटिएको छ । त्यसका आधारमा सभासद हुनुअघि नै उनले ३ करोड ३२ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी थियो ।

२०६५ सालमा सभासद भएपछिका १३ महिनामा तलब/भत्ताबापत ३० प्रतिशत खर्च कटाएर २ लाख १९ हजार रुपैयाँ मात्रै आर्जन गरेका साहले त्यस अवधिमा ३ करोड १६ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी छ । त्यसक्रममा उनले मेडिकल कलेज, जग्गा, विभिन्न कम्पनीमा लगानी र बैंक खातामा मौज्दात गरेका थिए । काठमाडौं उपत्यका, सिरहा र मेचीका प्रहरी युनिटहरूमा रासन ठेक्का लिएका साधु साह सुडीले ३८ लाख ९८ हजार रुपैयाँको कारोबार गरे पनि ठेक्काको कारोबार गर्ने मिथिला आयल स्टोर्सले २८ लाख २८ हजार रुपैयाँ मात्रै कारोबार गरेको खुलेको थियो । साधु सञ्जयका बाबु हुन् ।

भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएकै वर्ष उनले ललितपुरका दुई ठाउँमा १३ आना जग्गा ९४ लाख रुपैयाँमा खरिद गरेको भेटिएको थियो । ललितपुरका ५ ठाउँमा २० रोपनीभन्दा बढी जग्गा खरिद गरेका साहले धनुषा र सर्लाहीमा गरी ११ ठाउँमा सम्पत्ति जोडेको भेटिएको थियो । धनुषा र ललितपुरमा दुइटा घर रहेका साहको आफ्ना कर्मचारीका नाममा दर्जनौं फर्ममा रहेको लगानी विवादास्पद रहेको अख्तियारको दाबी थियो ।

२०६७ साउनपछिको एक वर्षमा साहले ६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेका थिए । २०६८ मा उनको स्रोत नखुलेको आर्जन ११ करोड ४१ लाख रुपैयाँ देखियो । त्यस वर्ष उनको कन्स्ट्रक्सन कम्पनीले ३ वटा हेभी इक्विपमेन्ट खरिद गरेको थियो । त्यही वर्ष संसद्बाट आउनुपर्ने उनको तलब पनि संविधानसभा बैठकमा माइक तोडफोड गरेका कारण रोकिएको थियो ।

शुद्धीकरणमा पनि उस्तै
गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर भएको करिब १४ महिनापछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सञ्जय साहविरुद्ध ३२ करोड ४ लाख रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले त्यसको आधा हिस्साभन्दा कम अर्थात् १४ करोड २५ लाख रुपैयाँ मात्रै शुद्धीकरण गरेर वित्तीय अपराध गरेको ठहर्‍याएको छ ।

साहविरुद्ध व्यक्ति हत्या, अपहरण, बम विस्फोट, जबर्जस्ती चन्दा असुलीलगायतका आपराधिक क्रियाकलापबाट गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग थपिएको थियो । साहसहित १३ जनालाई प्रतिवादी बनाइएको मुद्दालाई विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दाको साथै राखेर सुनुवाइ र फैसला गरेको हो ।

साहले आफ्नो र परिवारका सदस्यका नाममा ठूलो परिमाणमा जग्गा खरिद गरेको विभागको दाबी थियो । साह, बाबु साधु र श्रीमती रंगिलाका नाममा राजधानीका विभिन्न ठाउँमा जग्गा खरिद गरिएको थियो । आरोपपत्रका अनुसार सञ्जयको परिवारले जग्गामा मात्रै करिब २१ करोड २२ लाख लगानी गरेको थियो ।

१२ बोरको एकनाले बन्दुक र त्यसका १९ राउन्ड गोलीसहित २०६० जेठ ३ गते पक्राउ परेका साहमाथि प्रशासनले सुनाएको एक वर्ष ९ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको सजायलाई सर्वोच्च अदालतले समेत अन्तिम फैसलाबाट अनुमोदन गरेको थियो ।

साहले गैरकानुनी आर्जनबाट दुई करोड ८१ लाख लगानी गरेको कर्णाली बिल्डर्सका नाममा एक्स्काभेटर, मारुती भ्यान, निसान पिकअप, सवारी जिपलगायतका सवारी साधन रहेको विभागको दाबी थियो । ध्रुवतारा कन्स्ट्रक्सन, मिथिला मनी ट्रान्सफर, वीरेन्द्र मेडिकल सेन्टर, केबी पेट उद्योग, सारस इन्भेस्टमेन्टलगायतका कम्पनीमा साहले गैरकानुनी लगानी गरी लाभ लिएको आरोपपत्रमा उल्लेख थियो ।

विभागले पेस गरेको अभियोगपत्रमा साहका बाबु साधु, आमा दुलारीदेवी, श्रीमती रंगिलाकुमारी, भाइ रामकुमारलाई मुद्दामा प्रतिवादी बनाइएको छ । त्यसैगरी मनोजकुमार सिंह, नीलम सिंह, ओमप्रकाश यादव, राममिलन राउत कुर्मी, सुजितकुमार पाण्डे, बबिता पञ्जियार, सञ्जयका छोराहरू चैतन्यराज र प्रेमराजलाई समेत विपक्षी बनाइएको थियो । आरोपपत्रमा ‘आरोपितहरूले मिलेमतोमा घरजग्गा, फर्म, कम्पनीको सेयर, सवारी साधनमा लगानी गरी अपराधजन्य कामबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाइछिपाइ झूटा स्रोत सिर्जना गरी वैधानिक स्रोत देखाई सम्पत्ति शुद्धीकरण गर्ने बदनियत देखियो’ भनिएको थियो जसलाई विशेष अदालतले समेत अनुमोदन गर्दै बिगोमा मात्रै आंशिक ठहर गरेको हो ।

को हुन् टक्ला ?
जनकपुरको कदम चोकमा सामान्य परिवारमा हुर्किएका सञ्जय साह पछि ‘गुन्डागर्दी’ मा उत्रिए । पातलो कपाल भएका उनी त्यही क्रममा ‘टक्ला’ भनेर चिनिए ।

०५६ सालमा रामचरित्र साह जिल्ला विकास समितिको सभापति बनेपछि उनले ठेक्कापट्टामा हात हाले । उनले २०५८ पछि प्रहरी र सेनाको रासनको ठेक्कासमेत हत्याए । ०६४ को पहिलो मधेस आन्दोलनपछि उनी राजनीतिमा सक्रिय भए ।

मधेस आन्दोलनमा भूमिका खेलेका कारण उनले तत्कालीन मधेसी जनअधिकार फोरमबाट जनकपुर–४ बाट प्रत्यक्षमा चुनाव जित्दै संविधानसभा सदस्य बने । कांग्रेसकी लीला कोइरालालाई ठूलो मत अन्तरले हराएका साह दल विभाजनसँगै विजयकुमार गच्छदारको नेतृत्वमा बनेको फोरम लोकतान्त्रिकतिर लागे । माधवकुमार नेपाल नेतृत्वको सरकारमा साह भौतिक योजना राज्यमन्त्री बने ।

दोस्रो संविधानसभा निर्वाचनअघि राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा प्रवेश गरेका साह जनकपुर ४ बाट फेरि विजयी भए । सद्भावनाको केन्द्रीय उपाध्यक्षसमेत बनेका साहलाई नेपाल प्रहरीले जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा सभासद रहेकै बेला पक्राउ गर्‍यो । दुवै मुद्दामा पुर्पक्षका लागि साह हाल जेलमा छन् । कान्तिपुर दैनिकमा खबर छ ।

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्