पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
अमेरिकी लेखिका जीनाइन कमिंग्सको तेस्रो उपन्यास अमेरिकन डर्टले मध्य तथा दक्षिण अमेरिकाबाट विभिन्न परिस्थितिका कारण भाग्न बाध्य भई अमेरिका पस्न खोज्ने शरणार्थीहरूको मार्मिक कथा बताएको छ ।
पत्रकारका लागि सबभन्दा खतरनाक ठाउँ भनी चिनिएको मेक्सिकोको आकापल्को शहरमा लागूऔषध कार्टेलहरूमध्ये एक समूह लोस जार्देनेरोसका नाइके जेभिएरको अपराधको खुलासा गर्ने खोजी पत्रकार सेबास्टियनको परिवारलाई कार्टेलका सदस्यले मार्छन् । उनलाई मात्र नभई उनका परिवारका १६ जनालाई एकै चिहान उनीहरूले बनाइदिन्छन् ।
त्यस सामूहिक हत्यामा सेबास्टियनकी पत्नी लाइडिया र छोरा लुका शौचालयमा लुकेर बाँच्न सफल हुन्छन् । त्यसपछि उनीहरू आकापल्को छोडेर अमेरिकातिर भाग्छन् किनकि उनीहरूलाई मेक्सिकोको प्रहरी प्रशासन र न्यायपालिकाबाट न्याय पाइने अपेक्षा नै छैन । भाग्ने क्रममा उनीहरूले पाएको दुःख, भेटेका पात्र र सामना गरेका परिस्थितिले उपन्यासलाई रोमाञ्चक बनाएको छ ।
उपन्यासको आरम्भमै कार्टेलका सदस्यले गरेको गोलीकाण्डको वर्णनले पाठकलाई बाँधेर राख्छ । पुस्तक पसले लाइडियासँग सामीप्य बनाएर उनको हृदयमा बस्न सफल जेभिएर नै कार्टेलका नाइके हुन् र उनले आफ्नो बारेमा पत्रिकामा खबर आएपछि सेबास्टिएनको परिवारसँग बदला लिएका हुन् । लाइडिया र लुका भाग्दै गर्दा पनि ला लेचुजा भनी चिनिने जेभिएरको छायाँबाट मुक्त हुन सक्दैनन् ।
उपन्यास अघि बढ्दै जाँदा रोमाञ्च पनि थपिँदै जान्छ र कताकता थ्रिलरको आभास दिन्छ । सिनेमाको स्क्रिप्ट झैं कथामा रोमाञ्चक दृश्यहरू एकपछि अर्को गरी आउँछन् । उपन्यासमा आधारित भई फिल्म पनि बन्न लागेको छ । झन् अमेरिकाको सीमामा पुग्न लाग्दा सीमा गश्तीको आँखा छल्दै शरणार्थीहरूले डाँडाहरू काटेको वर्णनले त पाठकको ध्यान पूर्णतः खिच्छ ।
तर उपन्यासमा रोमाञ्चका साथै मानवीय भावनाको उच्च अभिव्यक्ति पनि भेटिन्छ र त्यसले उपन्यासलाई गहिराइ पनि दिन्छ । अपराध र त्रासको वातावरणमा समेत मानवोचित दया र प्रेमका झलकहरू विभिन्न पात्रमार्फत लेखिकाले देखाएकी छन् । उपन्यासका पात्रहरू वास्तविकताका निकट देखिन्छन् र उनीहरूमा रहेको अनिश्चितता तथा उनीहरूले चाल्ने गलत कदमलाई लेखिकाले सहानुभूतिका साथ प्रस्तुत गरेकी छन् । अमेरिकामा ठूलो संख्यामा शरण लिन आउने व्यक्तिहरू सामान्य अमेरिकीका लागि आँकडामा सीमित भइरहेको स्थितिमा लेखिकाले जिउँदाजाग्दा पात्रहरू उभ्याएर पाठकलाई शरणार्थीप्रति सहानुभूतिशील हुनका लागि झकझक्याएकी छन् ।
त्यसो त यो उपन्यासको कथा पत्रपत्रिकामा आउने समाचारमा आधारित भएर लेखिएको जस्तो लाग्छ । तर लेखिकाले निकै धेरै अनुसन्धान गरेर उपन्यास तयार पारेकोले यसमा बनावटीपन त्यति पाइँदैन । बरू यसलाई उम्दा यथार्थवादी उपन्यास भन्न मिल्छ ।
त्यसमाथि कमिंग्सको लेखाइ निकै सुन्दर छ । पात्रहरूको मनमा चलेको अन्तर्द्वन्द्व र उनीहरूमा भइरहेको भावको उद्वेलनलाई लेखिकाले सुन्दर ढंगले प्रस्तुत गरेकी छन् । थर्ड पर्सन न्यारेटिभ शैली अपनाएका कारण लेखिकाले सबै पात्रका शारीरिक र मानसिक गतिलाई बहुआयामिक रूपमा देखाउन सफल भएकी हुन् ।
आफैं शरणार्थी भएर भागिरहेकी लाइडियाले आफ्नो विगतको सहज जीवन सम्झेको दृश्य अनि लुकाले त्यति सानो उमेरमा भोगेको दुर्दान्त घटनाको सम्झनाले ल्याएको उथलपुथललाई लेखिकाले निकै कलात्मक तरिकाले वर्णन गरेकी छन् । लाइडियाले दक्षिण अमेरिकाबाट भागिरहेका शरणार्थीको खबर सञ्चारमाध्यममा सुन्ने गरेकी थिइन् र त्यसलाई खासै वास्ता गर्ने गरेकी थिइनन् तर आफैं शरणार्थी भएर भाग्नुपर्दा उनी ती मानिसहरू पीडा र अपमानको कुन हदसम्म जानुपर्छ भन्ने प्रत्यक्ष अनुभूति गर्छिन् । यसरी लाइडियामार्फत लेखिकाले अमेरिकामा आरामको जीवन बिताउँदै शरणार्थीहरूलाई अमेरिका पस्न दिनु हुँदैन भन्ने मानिसको विवेकलाई झकझक्याउने काम गरेकी छन् ।
अपमान सहँदै गरेको यात्रामा एक विन्दुमा पुगेपछि लाइडियाले आफू र आफ्नो छोरा काम नलाग्ने भइसकेको अनुभूत गरेको देखाइएको छ । ‘हामीहरू बेपत्ता भइसकेका छौं, उनलाई लाग्छ । हामीहरूको कुनै अस्तित्व छैन ।’ तर पात्रले त्यस्तो अनुभूति गरे पनि लेखिकाले उनीहरूको मानवीय अस्तित्वलाई प्रत्येक पानामा दह्रो स्थान दिएकी छन् र पाठकको सहानुभूति उनीहरूप्रति राखिरहनका लागि प्रयास गरेकी छन् । त्यसैमा उनको लेखकीय सौन्दर्य अडिएको छ ।
कवितात्मक तथा अर्थगाम्भीर्य बोकेका अनेकौं वाक्यहरू उपन्यासमा भेटिन्छन् । तिनलाई मूल अंग्रेजी भाषामा नै आनन्द लिन सकिन्छ ।
उपन्यासको नाभिकीय विन्दु नै प्रेम हो, अझ भन्नुपर्दा वात्सल्य प्रेम । आफ्नो सम्पूर्ण परिवार नै उजाडिएपछि आफूसँग छोरा मात्र बाँकी रहेपछि लाइडियाले त्यही छोरा लुकाको उज्ज्वल भविष्य सुनिश्चित गर्नका लागि एल नोर्ते अर्थात् उत्तरतिर अमेरिका जाने निधो गर्छिन् । यात्राभरि उनी लुकालाई केही होला कि भनी चिन्तित हुन्छिन् र जोगाइरहन्छिन् । बाटोमा भेट भएका होन्डुरसबाट आएका दुई शरणार्थी दिदीबहिनी सोलडाड र रेबेकाको पीडादायी कथा सुनेपछि लुका उनीहरूलाई पनि परिवारकै सदस्य जस्तो निकटवर्ती व्यवहार गर्न थाल्छ । लुकाले उनीहरूप्रति देखाएको कोमल भावनाले पनि लाइडियालाई उनीहरूप्रति थप सहानुभूतिशील बनाउँछ । यसरी वात्सल्य प्रेम बृहत्तर मानवीय प्रेममा परिणत हुन्छ ।
यो उपन्यास प्रकाशित भएपछि केही मेक्सिकन र लतिनो लेखकहरूले यसको कडा विरोध गरेका छन् । अमेरिकामा बस्ने सम्भ्रान्त गोरा समुदायकी लेखिकाले मेक्सिकोको बारेमा कसरी न्यायपूर्ण रूपमा लेख्न सक्छिन् भनी आलोचना गरिएको छ । अनि उनी आफैं शरणार्थी नभएकाले उनले शरणार्थीको पीडालाई राम्ररी प्रस्तुत गर्नै नसक्ने भनेर समेत आक्षेप लगाइएको छ । अनि उनले अमेरिकी पाठकहरूको रुचिलाई मद्देनजर गर्दै मेक्सिकोको सतही वर्णन गरेको र कतिपय मेक्सिकन शब्दको गलत प्रयोग गरेको समेत आरोप लगाइएको छ । कडा आलोचनाको सामना गर्नुपरेपछि प्रकाशक फ्ल्याटिरोनले बूक टूर नै समेत रद्द गर्नुपरेको थियो । अनि कमिंग्स आफैंले उपन्यासको कभर फोटोको जस्तै गरी नङलाई रंग्याएर अलिक केटाकेटी पारा पनि देखाएकी रहिछन् । नङमा समेत काँडेतार देखिएपछि काँडेतारको मुनि घस्रिँदै अमेरिका छिर्ने शरणार्थीको पीडालाई उनले हलुका रूपमा लिएको भनी आलोचना भयो ।
तर कुनै समुदायको बारेमा लेख्नका लागि त्यही समुदायकै सदस्य हुनु जरूरी छ कि छैन भन्ने कुरा आफैंमा बहसको विषय हो । हाम्रै सन्दर्भमा पनि लेखिका सरस्वती प्रतीक्षाले नथनी उपन्यासमा बादी समुदायको बारेमा सही चित्रण नगरेको भनी विवाद उठेको थियो ।
त्यसो त कमिंग्स आफैंले पुस्तकको अन्त्यमा यो कथा कुनै मेक्सिकनले लेखेको भए झन् राम्रो हुन्थ्यो भनी स्वीकार गरेकी छन् । तर उनको लेखकीय अधिकारक्षेत्रमा प्रश्न उठाउने ठाउँ रहे पनि उनले आप्रवासका विषयमा बहस गर्नका लागि उपन्यासमार्फत राम्रो आधारभूमि बनाएको कुरा चाहिँ मान्नुपर्छ । अनि कलात्मक साहित्यका पारखीहरूका लागि पनि यो उपन्यास राम्रो खुराक हो ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...